विनोद सापकोटा
झापा ।
झापामा डेंगू संक्रमणका कारण यो वर्ष पहिलोपटक एक बालिकाको मृत्यु भएको छ। हाल जिल्लाका विभिन्न अस्पतालहरूमा ५५ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
शिवसताक्षी नगरपालिका निवासी सुमन राईकी ११ वर्षीया छोरी सुरविरा राईलाई स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार झापाको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा शुक्रबार बिहान ८:२५ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
स्वास्थ्य कार्यालय झापाका डेंगू फोकल पर्सन युवनाथ बरालका अनुसार, चालु वर्षमा डेंगू संक्रमणबाट मृत्यु हुने सुरविरा पहिलो व्यक्ति हुन्। गत वर्ष डेंगुका कारण जिल्लामा दुई जनाको मृत्यु भएको थियो।
बरालका अनुसार हाल बीएण्डसी अस्पतालमा ४८, दमकमा १ र गौरादहमा ६ जना गरी जम्मा ५५ जना डेंगू संक्रमित उपचाररत छन्। संक्रमितमध्ये सबैभन्दा बढी बिर्तामोड क्षेत्रका रहेको जनाइएको छ।
मनसुन सुरु भएसँगै जिल्लामा डेंगु संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। डेंगु प्रायः असारदेखि असोज महिनासम्म बढी देखिए पनि झापामा भने वर्षैभरि संक्रमण देखिने गरेको बरालले बताए।
डेंगू संक्रमण न्यूनीकरणका लागि सावधानी अपनाउन र समयमै चिकित्सकको परामर्श लिन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।