अर्जुनधारा ।

युवाहरुको साझा आव्हान्, लागुऔषधरहित समाज भन्ने मुख्य नारासहित झापाको अर्जुनधारामा मंगलबारदेखि मचिन्द्र सुब्बा स्मृति दोस्रो वडास्तरिय भेट्रान नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
अर्जुनधारा नगरपालिका–९ खरबन्दीस्थित गोलधाप युवा क्लबको आयोजनामा स्थानीय नमूना खेलमैदानमा सुरु भएको उक्त प्रतियोगिताको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।
प्रतियोगितामा अर्जुनधारा नगरपालिका अन्र्तगत ११ वटा वडाको सहभागिता रहेको क्लबका अध्यक्ष सुरेन राईले जानकारी दिए । यही कात्तिक २१ गते फाइनल रहेको प्रतियोगिताको विजेता र उपविजेताले नगद पुरस्कार क्रमश ५१ हजार र ३१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

क्लबका अध्यक्ष राईको अध्यक्षतामा आयोजित प्रतियोगिता उद्घाटन कार्यक्रममा स्वागत सचिव भूपालराज कार्कीले र कार्यक्रमको सञ्चालन सञ्चारकर्मी दीपक ढुंगानाले गरेका थिए । यसैबीच सोही दिन सम्पन्न उद्घाटन खेलमा अर्जुनधारा नगरपालिका–५ नं. वडालाई ३–२ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा नगरपालिका–२ नं. वडा विजयी भएको छ ।
अर्जुनधारा नगरपालिका–२ नं. वडाको जीतको लागि खेलको तेस्रो मिनेटमा हर्कबहादुर सिवासँगै २५औं र २७ औं मिनेटमा मनोजकुमार सुब्बाले गोल गरेका थिए । अर्जुनधारा नगरपालिका–५ नं. वडाका लागि खेलको सातौं र ४७औं मिनेटमा क्रमश कृष्णभक्त तामाङ र दुर्गामानसिंह कार्कीले गोल गरेका थिए ।

खेलमा दुई गोल गर्ने विजेता टिमका मनोजकुमार सुब्बा उत्कृष्ट खेलाडी भएका थिए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर धिमाल, अध्यक्ष राईलगायतले नगद पुरस्कार १५ सयबाट पुरस्कृत गरेका थिए । उक्त नगद पुरस्कार स्थानीय युवा व्यवसायी विजय कुँवरले सौजन्य गरेका थिए ।
भोलि(बुधबार)को खेल अर्जुनधारा नगरपालिका वडा नं. ४ र अर्जुनधारा नगरपालिका वडा नं. ७बीच हुने आयोजक क्लबका सदस्य मौसम मगर “लाफा”ले जानकारी दिए ।

























