स्खलित राजनीतिक अस्तित्व र बर्बादवाद

0
691

rajendraदेश सधैंभरि विकासको तिर्खामै रहिरहोस् यो कसैको चाहना होइन तर जब देशका शासक वर्गमा देश बनाउने सम्बेदनशीलता आउँदैन तबसम्म मुलुकको भविष्य नबन्ने पक्का छ । देशले दशकौंदेखि कुनै न कुनै आन्दोलन र हिंसाबाट गुज्रिदै आजको दयनीय अवस्थासम्म आइपुगेको छ । यो अवस्थामा फेरि हिंसाका नयाँ बीऊ रोपेर अझ अनिश्चिततातर्फ धकेल्नु भन्दा देशलाई स्थिरता दिने कुनै नयाँ निकास खोज्नु आवश्यक छ । अनेकौं आन्दोलन र दंगाले कागजी परिवर्तन भन्दा अरु केही दिन सकेन । यो आजको राजनीतिक यथार्थ हो । आशावादी मानवीय स्वभावमा अ
निश्चित विकासको क्षितिज नियाल्नुको विकल्प रहेन । के परिवर्तन भनेको पुरानो व्यवस्थाको सत्तो सराप गर्दै नयाँ व्यवस्था सृजना गर्नु मात्र हो ? यसको फल जनताले भोग्न पाउनु पर्दैन ? संघीय संरचना आफू र आफ्नो स्वार्थ अनुकुल ढाल्न र ढलाउन गरिएका हरेक आन्दोलनले भविष्यमा दीर्घकालीन पछुतो दिने छ । यस बारेमा बेलैमा सोच पु¥याउनु बुद्धिमानी हुन्छ । कुनै राजनीतिक दल होस् या स्वार्थ समूह उसलाई थुमथुम्याउने वहानामा कुनै पनि किसिमका गलत सम्झौता नेतृत्वमा रहेका दलले गर्नु हुँदैन । असम्भव राजनीतिक आश्वासन अहिलेसम्मका विकासका बाधक बनेको जाने बुझेका दलहरुले यो गलत कदम चाल्नु हुन्न ।
देशभित्र हुने हरेक आवश्यकताका आन्दोलन उक्त देशको नितान्त आन्तरिक समस्या हो । यो दुई विपरीत शक्ति एक ठाउँमा बसेर समाधान खोज्ने विषय हो । तर घुक्र्याई र हारगुहारको नाटक रच्दै सजातीय बिदेशीहरुसँग लम्पसार परेर देशको विरुद्ध नारा उराल्नु कुनै ऐतिहासिक कार्य होइन बरु दलाली र गद्दारी हो । आखिर मधेश के चाहन्छ ? यतिका दिनको आन्दोलनमा मधेशका नितान्त सच्चा नेपाली मजदुर, किसान र दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्नेहरुले नपाउनुको दुःख पाए । बर्षौदेखि मधेस र मधेसीको प्रतिनिधित्व गरेर आउने आजको आन्दोलनका आयोजकहरुले हिजो कति काम गरेका थिए र अब बाँकी कति काम गर्न यो आन्दोलन गरेका हुन् ? यदि कुनै उपलब्धि बिना नै यो नामिक आन्दोलन बिलाउँछ भने यसमा लुकेको स्वार्थ के थियो ? हामीले नाकाबन्द गरेका हांै भन्ने दाबेदारहरुलाई थाहै नभई नाका खुल्छ भने यो संयोजन कसको र किन थियो ? के मधेस र मधेसी जनता सधैं नेताका भरुवा बन्दुक हुन् जो जतिबेला पनि पड्किन तयार भएर बस्छन् ?
कसको स्वार्थ पूरा गर्न मधेसलाई अरु ५० बर्ष पछाडि धकेल्ने काम भयो ? आजसम्म राजेन्द्र महतो, उपेन्द्र यादव लगायतका नेताले मधेसमा गरेको ठोस काम के हो ? उनीहरु कति पटक मन्त्री तथा उच्च निकायको जिम्मेवारीमा पुगे ? सरकार जो सुकै र जुनसुकै दलको नेतृत्वमा बनोस् लैना मन्त्रालय छान्ने मधेसवादी दलका नेतालाई जनताले किन चिन्न सकेनन् ? जनताको जनमतबाट गिर्दै गएका उनीहरुको अबको राजनीतिक भविष्य के कसो होला ? लोकतन्त्र र लोकतान्त्रिक सार्वभौम राजनीतिको अस्तित्व स्वीकार्ने उनीहरुको नीति हो भने जनताको मतबाट बडारिएपछि अर्को व्यवस्था वा चुनाव नहुञ्जेलसम्म इमान्दारपूर्वक जनसेवा गर्नु पर्ने हो । तर जसरी आज उनीहरूले आन्दोलनका नाममा जनताको चुल्हो बाल्ने अधिकारसम्म हनन् गरेर सयौंको जिन्दगी बर्बाद पारे उनीहरुलाई भविष्यले पक्कै सजाय दिने छ ।
जनताको जीउधनको सुरक्षा गर्दै विकासशील गतिमा अगाडि बढ्नुको साटो जनताको मोल गरेर पैसाको लोभ देखाई गरीबको ज्यान किन्ने कथित आन्दोलनले ती सीमान्तकृत समुदायलाई के फाइदा दियो ? गर्मीमा पिल्सिएर मर्ने र जाडोमा कठङ्ग्रिएर मर्ने मधेसका जनतालाई राजेन्द्र महतो र उपेन्द्र यादव जस्ता अग्रज नेताले आगामी दिनमा कसरी सम्वोधन गर्लान् ? कति ज्यान गुमाएका मधेसीले पचास लाख रुपैयाँ पाए ? महतो र यादवले कति वटा चेक काटे ? हिजो बन्दुक बोकाउने बहानामा राज्य बाड्दै हिंडेका कम्युनिष्ट भनिनेहरुको क्रान्तिकारी शैलीको सर्बहारा वर्गको आन्दोलन २० बर्ष नपुग्दै बिसर्जन भयो । हजारौंले ज्यान गुमाए । परिवर्तन सारमा देखिन्छ वस्तुतः परिवर्तन महशुस गर्न सकिने बनेकै छैन । वर्गविहीनताको लागि लड्नेहरु नै अहिले कुलीन वर्गमा परिणत भएका छन् । सबैभन्दा देखिने परिवर्तन यही नै हो । हिजोसम्म जनवादी क्रान्ति र समाजवादको नारा दिने जनप्रियहरु आज आफूलाई अरुले कम्युनिष्ट नभनी दिए हुन्थ्यो भनेर जप्न थालेका छन् । यथार्थमा यस्ता खुङ्खारहरुको माओवादबाट नयाँ शक्तिको फड्को नै हालको आमूल परिवर्तन हो । एउटा दरवारबाट लखेटिएका राजा अर्को दरवार मै पुगेहोला तर त्यसपछि जनताको रगत र पसिनाले लाखौ दरवार खडा गरेर आमूल परिवर्तन ल्याएका छन्  । वस्तुतः यो अर्थवादको लुट भविष्यको गर्भमा लुकेको अर्को आन्दोलनको बीऊ शिवाय केही होइन ।
दोस्रो विश्व युद्धपछि तहस–नहस बनेको आर्थिक, सामाजिक, राजनीतिक र सामरिक स्थितिलाई आफ्ना देशका प्राकृतिक स्रोत र साधनको प्रयोग गर्दै द्रुत विकास गर्ने एशिया, यूरोप र अमेरिकन देशहरुलाई हेर्ने हो भने तुलनात्मक रुपमा नेपालले नेतृत्व नपाएको मात्र हो । तर आजसम्म पनि देशले सच्चा नेता पाउन नसक्नु दुर्भाग्य नै मान्नु पर्दछ । सम्भावना प्रशस्त हँुदाहँुदै पनि अगाडि जानुको सट्टा पछाडि जान थालेको देशको अर्थतन्त्र नियाल्दा विकसित मुलुक बन्न अझै धेरै समय लाग्ने र यही गतिले सफलता हासिल गर्न नसकिने पनि पक्का छ । देशको कर्मचारीतन्त्र आफ्नो पकडमा नहँुदा पनि आन्दोलन नै गर्नुपर्ने, देशमा आफूसंग भएका स्रोत र साधन बेच्न नपाउँदा पनि आन्दोलनै गर्नुपर्ने, आफू सत्तामा पुगे अरुले गर्न नदिने र अरु पुगे आफू गर्न नदिने भ्रष्ट, नालायकी र अपाच्य राजनीतिक अभ्यासले गर्दा हरेक नेपाली जनताले आज सास्ती व्यहोर्नु परेको छ । शक्तिशाली राष्ट्रको औपनिवेशिक शासनबाट मुक्त बनेका देश र राणाको जंगीरबाट स्वतन्त्र बनेको नेपाललाई तुलनात्मक अध्यन गर्ने हो भने पछुतो मात्र हुन्छ । व्यवस्था बदलिएर केही हुन्न व्यवहार बदलिनु पर्छ । पार्टी बदलेर केही हुन्न परिपाटी बदलिनुपर्छ ।
जबसम्म देशको दक्ष जनशक्ति पलायन हुनेक्रम जारी रहन्छ तबसम्म देशले विकासको गतिलिन सक्दैन । आज देशमा संघीयता कार्यान्वयन मुख्य चुनौति बनेको छ । सरकारको कार्यशैली लचक र अनुगमन न्यून रहेकाले देशभित्र भ्रष्टचार, ढिलासुस्ती, नातावाद, कृपावाद जस्ता अति निकृष्ट शैलीका आचरण मौलाएर गइरहेछन् । यसले मुलुकको विकास होइन बिनाश गर्छ  । सरकारले गरेका राम्रा कामको प्रशंसा र नराम्रा कामको आलोचना गर्नु राजनीतिक दलको कर्तव्य हो तर आज जुन किसिमको एकलौटी दलीय स्वार्थ बढेर जाँदै छ यो पनि अविकासको कारण बन्दैछ  । लोकतान्त्रिक शासन व्यवस्था सहभागितामूलक शासन व्यस्था हो जहाँ हरेक जनताका आफ्ना प्रतिनिधिहरुको प्रतिनिधित्व रहन्छ । खास गरेर यस्तो शैलीको सरकारमा बिपक्षी दल भन्ने हुन्न यस्तो किसिमको लोकतान्त्रिक व्यवस्था सर्वोत्तम हुन्छ । तर आजको नयाँ युगीन परिपाटीको यस्तो व्यवस्थामा बिपक्षी दल रहन्छ र उ सरकारमा सहभागी हँुदैन । यसर्थ यो सर्वोत्तम लोकतन्त्र हुन सक्दैन । आजकल यही सर्वोत्तम लोकतन्त्रीकरणको अभावले गर्दा देश अविकासतर्फ लम्किरहेको छ । सर्वोत्तम लोकतन्त्रमा प्रमुख दलको नेतृत्वमा सरकार बन्नुपर्दछ अनि उक्त सरकारमा अस्तित्वमा रहने हरेक दलको सहभागिता हुनु नै सहभागितामुलक लोकतन्त्र हो । नेपालमा अति बहुदलवाद हाबी भो । एक जनता एक दल र एक नेता एक विचार हुनु नै हाम्रो अधोगतिपन बन्न पुग्यो । यस किसिमको हाइब्रिड लोकतन्त्रमा जस र अपजसको राजनीति हुने हँुदा काममा ढिलासुस्ती र सरकार फेरबदल भन्दा केही हुन्न जुन हामी भोगिरहेछौ । सर्वोत्तम लोकतन्त्रमा सबैको सहभागिता रहेको सरकारमा बसेर पनि आलोचनात्मक सहयोग गर्न सकिन्छ भन्ने भावना र राजनीतिक सामाजिकीकरण हाम्रो मुलुकको राजनीतिक दलहरुमा हुन सकेन । राष्ट्रिय स्वार्थलाई पन्छाएर दलीय स्वार्थ अघि सार्ने परिपाटी नहराएसम्म देश नबन्ने पक्का रहेछ ।
Khanalrajendra9@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here