[विष्णुप्रसाद खरेल]
नेपालीमा एउटा उखान छ– कहीं नभएको जात्रा हाँडी गाउँमा । यस पटकका मेरा अनुभूतिहरु त्यसैतर्फ केन्द्रित भए मुलतः दुईवटा घटनाबाट । यो देशमा के हँुदैछ र हामी कता जाँदैछौं भन्ने चिन्ताले सतायो । पाठकबृन्द ! कतिपय घटनाका अनुभूतिहरु सार्वजनिक विषय बन्न सक्छन् र यो हामी सबैको सरोकारको विषय बन्न सक्दछ भन्ने मेरो मान्यता हो । हो, हामी सबैमा यस्ता सार्वजनिक विषयका ब्यक्तिगत अनुभूतिहरु रहेका हुन्छन् । नागरिक सर्वोच्चता भएका देशहरुमा र सभ्य समाजमा सार्वजनिक विषयहरुमा हरेक मानिसले ब्यक्तिगत रुपमा गरेका अनुभूतिहरुको महत्व हुने गर्दछ । यस्ता अनुभूतिहरुलाई सार्वजनिक बहसको विषय बनाउनु पर्दछ । हामी प्रत्येक ब्यक्ति नेपालका नागरिक हौं । नेपालका नागरिकहरुले गरेका सार्वजनिक विषयका अनुभूतिहरुलाई बहसमा ल्याउन सकियो भने यसबाट सुधारका दवाबहरुको सिर्जना गर्न सकिन्छ । सभ्य नागरिक समाज र जवाफदेही राज्यका निकायहरुको निर्माण गर्न सकिन्छ । त्यति मात्र होइन ब्यक्तिगत जीवनमा पनि हामीले आफैंले आफैंलाई जवाफदेही बनाउन सहज पार्दछ । त्यसैले म यस्ता सार्वजनिक विषयका अनुभूतिहरुलाई लेख्न र बहसमा ल्याउन आवश्यक ठान्दछु ।
मेरो पहिलो अनुभूतिको घटना थियो– काठमाडौंमा रहेको चन्द्रागिरी पर्वतको यात्रा अनुभव । किर्तिपुरको पश्चिममा रहेको चन्द्रागिरी पर्वत धार्मिक र ऐतिहासिक दुबैरुपमा महत्वपूर्ण रहेको छ । सतीदेवीले अग्नी कुण्डमा हामफालेर देहत्याग गरेपछि मर्माहत भएका महादेवले सतीदेवीको लासलाई बोकेर पर्वत श्रृंखला यात्रा गर्दा सतीदेवीको लास कुहिएर यही ठाउँमा आइपुग्दा टाउकाको तालु पतन भएर खसेको तथ्य धार्मिक पुराणमा रहेको छ । त्यसैले यस ठाउँमा तालेश्वर महादेवको मन्दिर रहेको छ । यस स्थानमा तालेश्वर महादेवको दर्शन गर्ने भक्तजनहरुको भीड लाग्ने गर्दछ । अर्को ऐतिहासक तथ्य झन् रोचक रहेछ । गोरखाका राजा रहेका पृथ्वीनारायण शाह आफ्नो ससुराली राज्य मकवानपुर पुगेर फर्कदा चन्द्रागिरी पर्वतको बाटो भएर फर्केका रहेछन् । जब उनी चन्द्रागिरी पर्वतको चुच्चो भागमा पुगे उनले त्यहींबाट पहिलो पटक काठमाडौं उपत्यकाको सुन्दर दृश्य देखेछन् । त्यो दृश्यको आकर्षणले काठमाडौंलाई विजय गर्ने र गोरखा राज्यमा समाहित गर्ने पहिलो सोच पृथ्वीनारायण शाहमा पलाएको रहेछ । यी दुबै तथ्यहरुले यस पर्वको आफ्नै महत्व त छँदैछ । अझ भन्ने हो भने, काठमाडांैको सबैभन्दा नजिक रहेको यो स्थान हरेक नेपालीका लागि पर्यटनको गन्तब्य स्थान बनेको छ ।
नेपाल सरकारको स्वामित्वमा रहेको उक्त स्थानमा अहिले निजी क्षेत्रबाट पर्यटन विकासका लागि केवलकार स्थापन गरिएको छ । केवलकारको यात्रा गर्दादेखिने काठमाडौंको सम्पूर्ण दृश्य र चन्द्रागिरीबाट देखिने हिमाली श्रृंखलाको दृश्यले हरेक मानिसलाई मोहित पार्दछ । बालबालिकाका लागि चिल्ड्रेन पार्क र भ्युटावरले दिएको सुविधाले हरेक मानिसको मन खिचेको छ । चन्द्रागिरीबाट पर्वत र हिमालको दृश्यवालोकन गर्नेहरुको भीडले यस स्थानप्रति मानिसको रुचीलाई लोभ्याउने गरेको छ । सबैकुरा त ठीकै छ । तर, राज्यको पूर्ण स्वामित्वमा रहेको उक्त स्थानलाई निजी क्षेत्रलाई दिएर उपभोक्ताका रुपमा रहेका सर्वसाधारण नेपाली नागरिकहरुमाथि गरिएको ब्रम्हलुटले ति सबै आन्द्रामा पानी फेरिदिएको महसुस हरेक मानिसमा हुँदोरहेछ । महँगो केवलकारको भाडा तिरेर पहाडको टुप्पोमा पुगेका मानिसहरुले उक्त स्थानमा आफूले लगेका कुनै पनि खानेकुरा खान पाइदैन । मन लागे पनि नलागे पनि उनीहरुलले उक्त स्थानका होटलको महँगो बिल तिर्नु पर्दछ ।
सामान्यतया काठमाडौंको राम्रो रेष्टुरेण्टभन्दा चार गुणा महँगो खानेकुरा र पेय पदार्थ किन्न हरेकलाई बाध्य पारिएको छ । हामी घुमिरहेको स्थानमा केही मानिसहरु आक्रोश पोखिरहेका थिए । सरकारी जमिनलाई सस्तोमा लिजमा दिएर नागरिकहरुलाई सुविधा दिनुपर्ने सरकारी दायित्व त्यहाँ चुकेको देखियो । काठमाडौंको भीडभाडले आजित भएका मानिसहरुको गन्तब्य बन्दै गएको उक्त स्थानमा सरकारले देखाएको बेवास्ताका कारण निजी क्षेत्रबाट गरिएको आर्थिक शोषणका बारेमा कसैको ध्यान पुगेको देखिएन । दैनिक हजारौं मानिसहरु पुग्ने उक्त स्थानमा देखिएको निजी क्षेत्रको दुराचारी प्रवृत्तिले मानिसहरुको मन बिझाएको रहेछ । एकजना प्रौढ ब्यक्ति भनिरहेका थिए– ‘मैले त अस्ति नै फेसबुकमा यहाँको स्वेच्छाचारीताका बारेमा लेखिसकेको छु । कसैको ध्यान पुगेको छैन । नेताहरुले कमिशन खाएका होलान्, सर्वसाधारण नागरिक ठगिएको कसले हेर्ने ? जनताको कुरा कसले सुन्ने ? हो पनि, सरकारी सम्पत्ति हरेक नागरिकको सम्पत्ति हो । यसको प्रत्यक्ष वा अप्रत्यक्ष लाभ हरेक नागरिकले पाउनु पर्दछ । सरकारी सम्पत्तिको उपभोगमा सर्वसाधारणको सुविधाजन्य पहुँचको विकास गर्नु राज्यको महत्वपूर्ण दायित्व पनि हो । तर, नागरिकहरु ठगिएको महसुस गरिरहेका छन् । कसैलाई वास्ता छैन । यहिं हो कहिं नभएको जात्रा हाँडी गाउँमा भनेको ।
अर्को घटना नागरिक दायित्व र हाम्रो संस्कारसँग सम्बन्धित छ । म काठमाडौंबाट सिन्धुलीको बाटो हुँदै झापा आइरहेको थिएँ । सुनसरीको लौकी भन्ने स्थानमा आइपुग्दा एउटा अराजक भीडले हाम्रो सवारी रोक्यो । बजारको दिन रहेछ । सडक मार्गलाई नै ढाकेर पसलहरु राखिएका रहेछन् । मुख्य सडक मार्गमा मानिसहरुको चाप र साइकल तथा मोटरसाइकलहरु जथाभावी पार्किङ गरिएका रहेछन् । सोही भीडबाट एउटा सानो बालकले अचानक बाटो काट्दा सडकमा गुडिरहेको गाडीमा ठोकिएर घाइते भएछ । बालक ठोकिएको गाडी हामीभन्दा अगाडि गइसकेको रहेछ । उक्त गाडीले बालकलाई घाइते बनाएर रोक्दै नरोकी गएको आक्रोशमा मानिसहरुको ठूलो भीडले बाँसका लट्ठी र घरेलु हतियार लिएर जथाभावी अन्य सवारी साधनहरु रोक्न थालेका रहेछन् ।
त्यहिक्रममा पहिलो रोकिने सवारी हाम्रो परेछ । एकजना युवाले आएर हामी चढेको सवारीका चालकलाई अश्लिल शब्दमा गाली गरे । केहीले आएर सवारीमाथि भाटाले हिर्काए । जसले गल्ती गरेको हो उसलाई कारवाही गर्न र अरुलाई दुःख नदिन हाम्रो चालकले गरेको अनुरोधलाई त्यो भीडले वास्तै गरेन । हामी बडो असमन्ज्यस अवस्थामा पुग्यौं । अब के हुन्छ भन्ने त्रासले सबैका अनुहार खुम्चिएका थिए । हाम्रो सवारी बिना कारण आक्रोशको शिकार बन्ने खतरा थियो । केही युवाहरु आएर हामीलाई नियाले । एउटाको मुखबाट अप्रिय शब्द निस्कयो– साला पहाडे लोग । म छक्क परें । हाम्रो के दोष । हामी त यात्री मात्र थियौं । यो शब्दले एउटा अप्रिय अराजकताको विकास हुन थालेको महसुस मलाई भयो । ठीक त्यहीबेला सशस्त्र र जनपदका प्रहरीहरु आएर भीडलाई नियन्त्रणमा लिए । हामी बाटो लाग्यौं । सबैका मनभित्र त्रास पलाई सकेको रहेछ । केही अगाडि पुग्नासाथ त्यो त्रास आक्रोशमा बदलिन थाल्यो । एकजना युवकले मुख फोरिहाले (साला धोतीहरु । अर्कोले थपे– यि धोतिहरुलाई त इण्डियामा लखेट्नु पर्दछ । अरु यात्रीहरु पनि आक्रोशका अभिब्यक्तिहरु थप्न थाले । म बडो सकसमा परें । यो के भइरहेको छ ? किन भइरहेको छ ? र कसरी एकले अर्कोलाई देख्नै नसक्ने प्रवृत्ति विकास हुँदैछ ? हामी कता जादैछौं र कसले हामीलाई गलत गन्तब्यमा धकेल्दैछ ? कानूनको शासन कता गयो ? किन मानिस आफूलाई कानूनभन्दा माथि राख्न थाले ? यो यात्राभर म यस्तै सोचिरहेको थिएँ ।
भारतीय टेलिभिजनको एउटा च्यानलमा सावधान इण्डिया भन्ने एउटा सिरियल आउने गर्दछ । काठमाडांैमा रहँदा उक्त च्यानलबाट प्रसारित एउटा श्रृंखला हेरेको थिएँ– एकजना आधुनिक महिलाको एकमात्र छोरो थियो । छोराका हरेक कुरामा पुल्पुल्याउने आमाले छोराका गल्ती कहिल्यै औंल्याउने कोसिस गरिनन् । छोराले घरमा काम गर्ने युवतीलाई यौन शोषण गर्दा पनि ति आमाले रोकिनन् । छोरालाई पढाउने प्राध्यापकको छोरीलाई फँसाएर निन्द्रा लाग्ने औषधि खुवाएर बलात्कारको भिडियो बनाएर प्राध्यापकसँग छोरालाई कक्षाको पहिलो विद्यार्थी बनाउने षडयन्त्र समेत गरिन् । जब अति भयो उनीहरुले गरेको यौन शोषण र मानसिक यातनाको प्रमाणसहित छोरीले प्रहरीमा दिएको निवेदनका आधारमा आमा छोरा दुबै जेल परे । उनीहरुको सामाजिक हैसियत एकैचोटी भताभुङ्ग भयो ।
आफूले गरेको अनैतिक र अपराधी काममा पश्चाताप गर्नु वाहेक उनीहरुसँग केही पनि रहेन । म अहिले त्यहि श्रृंखलालाई सम्झिन्छु । हो पनि, राजनीतिक लाभका नाममा आफ्ना कार्यकर्ताहरुलाई अराजक बनाउने र हिंस्रक बनाउने काममा नेताहरु लागेका छन् । आफ्ना कार्यकर्ताले गरेका बलात्कार, हत्या र हिंसाका घटनामा कानूनी कारवाहीबाट छुटाउन र घटनालाई लुकाउन नेताहरु दिलोज्यान दिन थालेका छन् । यसको परिणामले समाज दुषित बन्दैछ । कानूनी राज्य कमजोर हुने र अराजकता बढने क्रमसँगै मानिसहरु हिंस्रक बन्दैछन् । राज्यका निकायहरु कमजोर हुन थालेका छन् । राज्यका निकायहरुमा नागरिकप्रतिको संवेदनशिलता कमजोर देखिन थालेको छ । चन्द्रागिरी पर्वतमा भइरहेको नागरिकहरुको आर्थिक दोहनले राज्यका निकायको गैरजवाफदेहीता प्रकट गरेको छ भने लौकीमा भएको नागरिक अराजकताले दलहरुले खडा गरेको हिंसाबाट श्रृजित चरित्रलाई उजागर गरेको छ । यस्तै अवस्था रहने हो भने कहिं नभएको जात्रा हेर्न अब हाँडीगाऊँ पुग्नु पर्दैन नेपालका थुप्रै स्थानहरुमा हाँडीगाउँको जात्रा प्रारम्भ भएको छ । बेलैमा नसोचे सिंगो देश नै हाँडीगाउँमा परिवर्तन नहोला भन्न सकिन्न ।