वुधवारे, माघ २४ । होक्से कृषि सहकारीद्वारा व्यवस्थापन गरिएको ज्येष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारीले २५ जनाभन्दा बढीलाई सम्मान गरेको छ ।
होक्से कृषि सहकारीका अध्यक्ष मोहन तिम्सिनाको अध्यक्षता तथा सांसद प्रेमबहादुर गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि गिरीले भेटघाट चौतारीका लागि हाल १० हजार रुपैयाँ, आगामी वर्षभित्रमा तीन सय थान कुर्सी आफ्नोतर्फबाट उपलब्ध गराउने र राज्यको तर्फबाट भवन निर्माण गराउने समेत वचन दिए ।
कार्यक्रममा भेटघाट चौतारीको लागि स्थानीय विष्णु रिजाल, रामप्रसाद रिजाल, दाताराम रिजाल, केदारनाथ रिजाल र दिदी–बहिनीसहितले आफ्ना मातापिता तथा हजुरबुबा हजुरआमाको पुण्यस्मृतिमा होक्से चोकमा १० धुर जमिन दान गर्ने घोषणा समेत गरे ।
कार्यक्रममा ज्येष्ठ नागरिक समन्वय समिति बुधबारेका अध्यक्ष लिलानाथ ढकाल, पूर्व शिक्षक ध्रुवलाल रेग्मीलगायतले मन्तव्य राखेका थिए । सांस्कृतिक विविधता रहेको ज्येष्ठ नागरिकहरूको साझाथलो उक्त चौतारीमा ८० वर्षीय तिलकबहादुर खुलालले स्वागत गीत, दुर्गा भण्डारी र धर्मकुमारी सञ्जेलले चिनारी गीत, बुद्धिमाया तामाङले तामाङसेलो, अब जना तिम्सिनाले लिम्बू गीत, दुर्गादेवी मगर र चन्द्रमाया मगरले मगर गीत र लक्ष्मीमाया तिम्सिनाले छोरीको बिलौना गाएर कार्यक्रममा मनोरञ्जन प्रदान गरेका थिए ।
अध्यक्ष तिम्सिनाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा उपाध्यक्ष हरिशरण कोइरालाले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन केशव खुलालले गरेका थिए ।