भृकुटीकी प्रधानाध्यापक ‘उत्कृष्ट शिक्षक’

0
453

लक्ष्मीपुर, नेपाल शिक्षक संघको ३०औं स्थापना दिवसको अवसरमा भृकुटी माध्यमिक विद्यालय, कनपा–७ दुर्गापुरकी प्रधानाध्यापक अञ्जना सिटौलालाई उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गरिएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र राज्यप्रकाश शर्माद्वारा आफ्ना मातापिता सावित्रा –पर्शुरामको स्मृतिमा स्थापना गरिएको अक्षयकोषद्वारा दोसल्ला, सम्मानपत्र र नगदसहित प्रधानाध्यापक सिटौलालाई झापा जिल्लाको शैक्षिक उन्नयनमा महिला प्रधानाध्यापकको हैशियतले उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।
समाजशास्त्र विषयमा स्नातकोत्तर सिटौला २०४४ सालमा शिक्षण पेशाामा प्रवेश गरी २०७२ सालदेखि भृकुटी माविमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएकी छन् । सो पुरस्कार नेपाल शिक्षक संघ झापाद्वारा वितरण गरिने सवैभन्दा ठूलो पुरस्कार हो ।
कार्यक्रममा शिक्षक महासंघका पूर्वअध्यक्ष तेजप्रसाद चौलागाँईलाई अभिनन्दन गरिएको थियो । सो अवसरमा सातवटा अक्षयकोष र सांगठनिक गरी विभिन्न विधामा ७५ जना झापाका शिक्षकहरुलाई पुरस्कृत गरिएको थियो । संघका अध्यक्ष नेत्र खरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. १ शिक्षक संघ सभापति पूर्ण गौतमको प्रमुख आतिथ्य रहेको थियो । संघका उपाध्यक्ष भवानी लुइँटेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव योगेन्द्र पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here