बुधबारे, झापा उद्योग वाणिज्य संघ शाखा बुद्वशान्ति र आन्तरिक राजश्व कार्यालय भद्रपुरको संयुक्त आयोजनामा एक दिवसीय कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
झापा उद्योग वाणिज्य संघ शाखा बुद्धशान्तिका अध्यक्ष रुद्र चापागाईंको अध्यक्षता र बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मिरा भुर्तेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा स्वागत उपाध्यक्ष चन्द्र उप्रेतीले गरेका थिए ।
कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष बुद्धिमान लिम्बू, गाउँपालिकाका लेखा प्रमुख कमल दाहालले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष चापागाईंले औचित्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा झापा उद्योग वाणिज्य संघ जिल्ला सदस्य गोविन्द पौड्यालले निजी क्षेत्र र सरकारको बीचमा गाढा सम्बन्ध हुनुपर्नेमा त्यसो नभइरहेको बताए । उनले कर तिर्नेलाई नै सजाय जरिवाना लगाउने तर कर नतिर्नेहरू करको दायराभन्दा बाहिर नै रहिरहेको हुँदा उनीहरू माथि निगरानी र अनुगमन नभएको गुनासो गरे ।
कार्यक्रममा कर सम्बन्धी सहजीकरण आन्तरिक राजश्व कार्यालयका अधिकृत भीम देवकोटा, नापतौल झापाका प्रमुख र घरेलु तथा साना उद्योग भद्रपुरकी प्रमुख दुर्गा बाँस्तोलाले गरेका थिए ।
कार्यक्रममा सुपारी खेती विकास संस्थाका अध्यक्ष देवी खतिवडा, वडा नं. ३ का वडाध्यक्ष कमल उप्रेती, इलाका प्रहरी कार्यालय प्रमुख काजीमान बस्नेत लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव दीपक सापकोटा ले गरेका थिए ।