बिर्तामोड, झापाको बाह्रदशी–६ डाँगीबारीस्थित दीपजन अंग्रेजी बोर्डिङ माविको आयोजनामा दुई दिवसीय शिक्षण प्रविधि तालिम शनिबारबाट शुरु भएको छ ।
बिद्यालयमा अध्यापनरत् प्रत्येक शिक्षकलाई आफ्नो पेशाप्रति प्रतिबद्ध बनाउन, विभिन्न जात, धर्म, संस्कृति र आर्थिक स्तरसंग सम्बन्धित बालबालिकालाई उनीहरुको मानसिक, बौद्धिक संवेगात्मक पृष्ठभूमि र स्थितिलाई मनन् गरी समान व्यवहार र प्रभावकारी शिक्षण गर्ने क्षमता र कुशलता प्रदान गर्न र परिवर्तनशील समाज, संस्कृति, पाठ्यक्रम र विश्वपरिवेश अनुकूल शिक्षकलाई अध्यावधि गराउन पनि शिक्षकलाई तालिम प्रदान गरिएको बिद्यालयका प्रिन्सिपल लक्ष्मीप्रसाद उप्रेतीले बताए ।
शिक्षक तालिमले शिक्षकलाई प्रभावकारी शिक्षण गर्न, विभिन्न शिक्षण विधिको प्रयोग गर्न, शैक्षिक सामग्री छनौट, निर्माण र प्रयोगको सीप हासिल गर्न, शैक्षिक योजना निर्माण गर्न, नयाँ–नयाँ शिक्षण सिकाइ प्रविधिको प्रयोग गर्न, सामाजिक र मनोवैज्ञानिक आधारमा शिक्षण गर्न, मूल्यांकन सीपको विकास गर्न, अनुशासन कायम गर्न, विद्यालय र समुदायबीच सुमधुर सम्बन्ध कायम गर्न, दु्रततर वैज्ञानिक विकाससँग शिक्षकलाई परिचित गराउन, आधुनिक प्रविधिबाट शिक्षण गर्न सफल बनाउने प्रशिक्षक टीकाप्रसाद लामिछानेले बताए ।
उचित तालिम प्राप्त शिक्षकले मात्र बालबालिकाको मनोभावनाअनुसार शिक्षण क्रियाकलाप गर्न सक्षम हुने भएकाले गुणस्तरीय शिक्षाका लागि तालिम अपरिहार्य भएको उनले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलकान्त गिरीको अध्यक्षता तथा बाह्रदशी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तेजप्रसाद रेग्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागतसहित औचित्यमाथि प्रकाश विद्यालयका प्रिन्सिपल लक्ष्मीप्रसाद उप्रेतीले पारेका थिए । कार्यक्रममा बाह्रदशी गाउँपालिका शिक्षा समिति सदस्य लेखनाथ कटुवाल, स्रोतव्यक्ति छविलाल बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक मनोहरि त्रितालले गरेका थिए ।