हाम्रो नेपालद्वारा ऋण मिनाह

५ जेष्ठ २०७६, आईतवार मा प्रकाशित

सुरुङ्गा।

हाम्रो नेपाल साकोस बिर्तामोडले दुई जना सदस्यको ऋण मिनाहा गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत सुरुङ्गा सेवा केन्द्रका सदस्यको ऋण मिनाहा गरेको संस्थाले जनाएको छ ।

शनिबार कन्काई–८ दुर्गापुरका शेयर सदस्य पूजा सापकोटाको एक लाख १४ हजार आठ सय ४५ रुपैयाँ ऋण मिनाहा गरेको संस्थाका सञ्चालक सदस्य राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार पूजाका पति नवीन सापकोटाको चैत १३ एपेण्डिक्सका कारण मृत्यु भएपछि सदस्य राहत कार्यक्रम अन्तर्गत सो रकम छुट गरिएको हो । शोक कार्यक्रम गरी सापकोटाको घरमा नै पुगेर ऋण मिनाहा गरिएको पत्र पूजालाई संस्थाका अध्यक्ष भवानी दंगालले हस्तान्तरण गर्दै ऋण मिनाहा गरिएको जानकारी गराएका थिए ।

कार्यक्रममा नवीनका नाबालक छोरा सक्षम सापकोटालाई शैक्षिक सामग्री पनि हस्तान्तरण गरियो । ऋण मिनाहा कार्यक्रममा अध्यक्ष दंगाल, संस्थाका सचिव बीपी लामिछाने, मृतक नवीनका बुवा गोबिन्द सापकोटाले बोलेका थिए । गर्भवती समेत रहेकी पूजालाई सहयोग गर्ने वचन समेत दिइएको अध्यक्ष दंगालले बताए । पूजा सहकारीकी सदस्य पनि हुन् ।

यसअघि बुधबार कन्काई–३का आसिवा खातुनको एक लाख ७५हजार रुपैयाँ ऋण मिनाहा गरेको संस्थाले जनाएको छ । खातुनका पति महमद रसुल शेखको फागुन ११ गते मृत्यु भएको थियो ।

उनको मृत्यु भएपछि आसिवाको उक्त रकम मिनाहा गरिएको हो । कन्काई–३का वडध्यक्ष रुद्र चिमरियाको उपस्थितिमा उक्त रकम मिनाहा गरेको हाम्रो नेपालले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here