अर्जुनधारा।
अर्जुनधारा उद्योग वाणिज्य संघको दोस्रो साधारण सभा आइतबार सम्पन्न भएको छ । संघका अध्यक्ष वसन्तकुमार सोमानीको अध्यक्षता र अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य वाणिज्य उपाध्यक्ष गोविन्द खतिवडाले व्यक्त गरेका थिए ।
कार्यक्रममा नगरका उद्योगी तथा व्यवसायीहरुको आर्थिक उन्नती र समृद्धीसँगै उनीहरुको क्रयशक्ति वृद्धीका लागि संघकोतर्फबाट सतिव चर्तुभूज काफ्लेले १५ वटा बुँदा उल्लेख गरिएको भावी योजना र कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रस्तुत बुँदाहरुमा नगर क्षेत्रमा रहेका उद्योगी र व्यवसायीहरुलाई सदस्यता प्रदान गरी सबैको अपनत्व हुने गरी संघलाई नयाँ ढंगबाट सञ्चालन गर्ने, संघको निर्माणाधीन भवनलाई पूर्णता दिन स्थानीय सरकार, प्रदेश सरकार र संघमा पहल गर्ने, नगर क्षेत्रमा रहेका अन्य बजारहरुलाई प्राथमिकतामा राखी स्थानीय उद्योगी तथा व्यपारीहरुसँग समन्वय गरी आधुनिक, वातावरणमैत्री तथा अपाङ्गमैत्री बजार निर्माणको लागि पहल गर्ने, शनिश्चरे बजारको खस्कदो व्यापारलाई मध्यनजर राख्दै सम्बन्धित र सरोकारवाला निकायको समन्वयमा महोत्सव आयोजना गर्नेलगायत रहेका छन् ।
सोही कार्यक्रममा पूर्व संविधान सभा सदस्य एवम् अग्रज व्यवसायी सिद्धार्थ सोमानीलाई सम्मानित गरिएको थियो । कार्यक्रममा नेपाली काँग्रेस नगर सभापति हेमप्रसाद खरेल, अर्जुनधारा–८का वडाध्यक्ष गोपीचन्द्र गौतम, शनिश्चरे–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शंकर सुवेदी, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई, पूर्व अध्यक्ष भूवनेश्वर शिवाकोटी, पूर्व उपाध्यक्ष पूष्पप्रसाद रेग्मीलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव काफ्लेले गरेका थिए ।