रोसन भट्टराई /झापा ।
झापाको बुद्धशान्ति–४ की मृगौला पिडित मनिषा मगरलाई बुधबारेकी समाजसेवी निमा शेर्पाले नगद १० हजार रुपैंया आर्थिक सहयोग गरेकी छन् ।
बुद्धशान्तिमा रहेका गरिब तथा विपन्न वर्गका सबै मृगौला तथा क्यानसर पिडितहरुलाई आफ्नो परिवारले आर्थिक सहयोग गरेको उनका छोरा करण शेर्पाले बताए ।
आफ्नो बुबा पनि पहिलै देखि सामाजिक कार्यमा सक्रिय रहेकोले मरणोपरन्त पनि उहाँको आत्माले शान्तिपाओस भनेर आर्थिक सहयोग गरेको उनको भनाई ।
आर्थिक अवस्था कमजोर भएको र डाक्टरले तत्काल मृगौला फेर्नुपर्ने बताएपछि मनिषाको परिवार यतिबेला आर्थिक समस्या परेको हो । हाल उनको नोवेल मेडिकल कलेज विराटनगरमा आइसीयूमा उपचार भइरहेको उनकी आमा प्रेम कुमारी मगरले बताइन् ।
केही महिना अघि सामान्य बिरामी भएकी मनिषालाई काठमाण्डौ लगेर उपचार गरेपछि जाति भएकोले आफुले वास्ता नगरेको तर पछि मात्र मृगौला फेल भएको कुरा थाहा पाएपछि आफुहरु सारै आत्तिएको मनिषाकी काकी सीता ग्याङमी मगरले बताएकी छिन् ।
पारिवारिक अवस्था अत्यन्तै कमजोर भएकोले स्थानीय राजेन्द्र राईको संयोजकत्वमा यतिबेला मनिषा मगर बचाउ अभियान समेत संचालन गरिएको छ । गत जेष्ठ २२ गते गठन गरिएको उक्त अभियानबाट ५ दिनमा करिब एक लाख ६० हजार संकलन भइसकेको संयोजक राईले बताए ।
त्यस्तै विभिन्न संघसंस्थाहरुमा समेत आर्थिक संकलन गरि मनिषाको जीवन बचाउने उद्धेश्यले बुधबारेका समाजसेवी प्रेम साँवाको संयोजकत्वमा रोसन भट्टराई, गोकुल पौडेल, नरेस लावती र दिनेश खतिवडा नेतृत्वमा ५ सदस्यीय आर्थिक संकलन उपसमिति समेत तयार गरेर आर्थिक संकलनको कार्य अघि बढाइएको परिवारले बताएको छ ।