प्रविधिमैत्री बन्दै झापाका किसान

0
550

दमक।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत झापामा लागु भएको धान सुपरजोनमा उन्नत प्रविधि प्रर्दशन कार्यक्रममा किसानहरुको आकर्षण बढ्दै गएको पाइएको छ ।

यस कार्यक्रम अन्तर्गत कम उत्पादन लागत हुने प्रविधिहरुको बिषयमा प्रयोगात्मक रुपमा किसानलाई देखाइँदै आएको छ । धान सुपरजोन कार्यान्वयन इकाइ बनियानीका प्रमुख एवम् बरिष्ठ विकास अधिकृत धनबहादुर थापाका अनुसार सिड ड्रिल मेशिनबाट छरुवा धान प्रविधि, ड्रम सिडरबाट हिले छरुवा धान प्रविधि, राइस ट्रान्सपलान्टरबाट धान रोपाइ प्रविधि, झारनासक विषादिबाट झारपात व्यवस्थापन विधि, हरियो मल प्रयोग विधिहरुको बिषयमा जानकारी गराइँदै आएको छ ।

पछिल्लो समयमा सिड ड्रिल मेशिनबाट धान रोपाइमा किसानहरुको आकर्षण बढेको र अहिले पनि सबै किसानले भने यसलाई विश्वास गर्न नसकिरहेको अवस्था रहेको उहाँको भनाइ रहेको छ । राइस ट्रान्सपलान्टरबाट धान रोपाइ प्रविधि पनि जिल्लामा किसानहरुले उत्साहजनक रुपमा सहभागिता जनाउन थालेको उनले बताए ।

आफूहरुले यस प्रदर्शनी अन्तर्गत धानको बीऊ उपलब्ध गराउनेदेखि लिएर आवश्यक उपकरणबाट आफै गएर खेतमा धान रोपिदिने गरेको थापाले बताए । यसै साता ट्याक्टरमा जोडेर ठूलो सिड ड्रिल दुई बिगाहभन्दा बढी खेतमा आफूहरुले धान रोपेको उनले जानकारी दिए ।

गत वर्षदेखि धान सुपरजोनमा धानको बीऊ राख्नका लागि ड्यापोग नर्सरी प्रविधिको समेत किसानहरुले उपयोग गर्न थालेका छन् । यसलाई प्लाष्टिक माथि माटो राखेर धान नर्सरी उत्पादन गर्ने प्रविधिको रुपमा लिइन्छ । ‘राइस ट्रान्सपलान्टरबाट रोप्नका लागि यो प्रविधिबाट बीऊ राख्दा धेरै नै राम्रो हुन्छ’ –कृषि विकास अधिकृत सागर बिष्टले भने ।

पराम्परागत तरिका हातैले रोप्नका लागि पनि उपयुक्त हुने नर्सरी उखाली राख्न नपर्ने भएकाले यो किसानहरुका लागि धेरै नै सरल भएको बताइन्छ । उनले १८ दिनमा नै रोप्नका लागि नर्सरी तयार भएको र उत्पादकत्वमा पनि वृद्धि हुने भएकाले किसानलाई यसप्रति अभिप्रेरित गर्दै आएको बताए ।

त्यस्तै झापा कचनकवलका अगुवा किसान कन्यैलाल गणेश परिवारका सबै सदस्यहरुसहित ट्रेमा धमाधम माटो भर्दैछन् । राइस ट्रे नर्सरीका लागि उनले यस्तो गरेका हुन् ।

दुई बिगाहभन्दा बढी क्षेत्रफलमा राइस ट्रान्सपलान्टरबाट रोप्नका लागि तयारीमा रहेको बताउँदै उनले नर्सरी छिटो तयार हुने र मेसिनबाट रोप्दा उत्पादन लागत पनि कम हुने भएकाले मैले यो प्रविधि रोजेको जानकारी दिए । शुरुवातमा यसरी बीऊ राख्दा कसैले नपत्याएको तर, अहिले धेरैले विश्वास गर्न थालेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here