जाजरकोट ।
नेपाल खाद्य संस्थानले जुनिचाँदे गाउँपालिका–११ ताँगामा नयाँ बिक्री केन्द्र स्थापना गरेको छ । जिल्लाको सबैभन्दा दुर्गम ठाउँमा रहेको ताँगामा पहिलो पटक डिपो स्थापना भई खाद्यान्न बिक्री कार्य शुरु भए पछि स्थानीयवासी खुशी भएका छन् ।
५०० क्विन्टल चामल स्वीकृत भई पहिलो चरणमा ४५ क्विन्टल लिएर ताँगा गएका कार्यालय प्रमुख धर्मबहादुर बस्नेतले सेवा उद्घाटन भएको एक घण्टा नबित्दै खाद्यान्न बिक्री भएर सकिएको छ । खाद्यान्न कम उत्पादन हुने यस क्षेत्रमा यातायातको सहज पहुँच नहुँदा सजिलै खाद्यान्न ढुवानी गरेर लिनसमेत कठिन रहेको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो ।
गाउँपालिकाको पटक, पटकको पहलबाट नयाँ खाद्य डिपो स्थापनासँगै यहाँका स्थानीयले सहजरुपमा अनुदानको चामल पाउने आशा व्यक्त गरेका छन् । दुर्गम क्षेत्रमा ५०० क्विन्टल चामल कम भएको भन्दै कोटा बढाउन यहाँका स्थानीयले माग गरेका छन् ।
यस क्षेत्रमा खाद्य डिपो स्थापना गरेर सर्वसाधारणलाई खाद्यान्न आपूर्तिमा सहज बनाउने वन तथा वातारणमन्त्रीको चुनावी एजेण्डा थियो । चुनावी एजेण्डा पूरा भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् ।