पानको पात : सम्झन्छु दिनको रात

0
603

गोछे,
पान भन्नाले सोझो अर्थमा पानको पात बुझिन्छ । तर, म यहाँ पानको पातमा चुना र कत्था लगाएर, सुपारीसहितको खाइने पानको र तामोल पान बारेमा बेलीबिस्तार गर्ने जमर्को गरिरहेको छु । हाम्रो समाजमा लगभग ६०÷६५ प्रतिशतले पान खाँदैनन् । अनि खानेलाई प्रश्न गर्छन्, किन खाको होला ? कतिले त मानिस भएर घाँस खान्छसम्म भन्ने गरेको पाइन्छ । पानको पात, चुना, खयर (कत्था) र सुपारी यी चारवटै, आयुर्वेदिक औषधिमा गनिन्छन् । वैदिक कालदेखि नै पानको पात र सुपारीको उल्लेख भएको पाइन्छ । धार्मिक रुपमा यी दुई चिजले मान्यता पाएको छ । प्रत्येक धार्मिक कार्यमा पान सुपारीको प्रयोग गरिन्छ ।

पान धेरै प्रकार र परिकारका हुन्छन् । पानको पात पनि धेरै किसिमका हुन्छन् । ती मध्ये बंगला पत्ता, मिठा पत्ता, मघई पत्ता, बढी प्रचलनमा रहेको पाइन्छ । र पान खाने अनि पान खाने, अलग–अलग मानिस हुन्छन् । त्यसैगरी सादा पान, मिठा पान, जर्दा पान, मसलायुक्त पान अनि जर्दा, मिठा, मसला आदि सबै मिलाएर खाने भिन्न–भिन्न ब्यक्ति हुन्छन् । पान खाने साधारण व्यक्तिले पान दोकानमा गएर मिठा पान दिनु, अथवा जर्दा पान दिनु वा सादा पान दिनु भन्ने गर्दछन् । यस्ता व्यक्तिलाई पानदोकानीले जस्तो दियो मुखमा बुझो हालेर हिँड्छन् । उसलाई कुन पत्ता दियो, जर्दा कुनखाले हाल्यो अथवा मिठा, सादा पानमा के हाल्यो केही माने मतलव हँुदैन । तर, जो पानको पारखी हुन्छन् उनीहरुले कुनखाले पत्ता, कुन जर्दा अथवा मिठा पान खाँदा निश्चित नाम तोकेर यो यो हालेर दिनु भन्ने गर्दछन् । मिलावटको जमाना छ । चुनादेखि लिएर कत्था जर्दा मसला सबै सही पाइँदैनन् । साधारण पान खानेलाई पान दोकानीले जस्तो दिए पनि केही थाहा हुँदैन, उनीहरु खान्छन् जान्छन् । तर, पानका पारखीलाई पान दोकानीले ठगे–नठगेको पान मुखमा हाल्ने बित्तिकै थाहा भइहाल्छ ।

मुख्यतः खाइने पान, मिठा, जर्दा, सादा, तामोल पान नै हुन् । तर, कसै–कसैले कत्था नहली, कसैले सुपारी नहाली अथवा कोही जर्दा मिठा मसला सबै हालेर खाने पनि हुन्छन् । साधरणतया मिठापान खानेले मिठा पत्ता र जर्दा पान खानेले बंगला पत्ता खान रुचाउछन् । मिठा पत्तामा केही मिठापान र बंगला पत्ता केही तितो टर्रो हुन्छ । मिठापान खानेले बंगला पत्ता मन पराउँदैनन् भने बंगला पत्तामा रस बसेकाले मिठा पत्ता रुचाउँदैनन्, तर मघइ पत्ता भने दुबै पक्ष रुचाउँछन् ।

वैदिक कालदेखि नै पान तामोलको प्रयोग र प्रचलन रहेको इतिहास पाइन्छ । तर, सो समयमा यसको प्रयोग र प्रचलन अम्मलका रुपमा नभएर औषधि र धार्मिक रुपमा हुने गरेको पाइन्छ । अहिले यो अम्मल बनेको छ । मुख्यगरी पान तामोलको उत्पादन भारतको पूर्वोत्तर राज्यमा हुन्छ भने पानको पातको उत्पादन बंगालमा बढी उत्पादन भएको पाइन्छ । नेपालमा पनि, खासगरी उत्तरी झापामा सुपारीको उत्पादन हुन्छ । अनि सिंगापुरे सुपारीको कथा र व्यापारबारे त सर्वविदित नै छ ।

सुपारी, पानको पात, चुना र कत्था यी चार पदार्थ, मुलतः खाइने पानको स्वरुप हो । यी चारै पदार्थ औषधीय गुणयुक्त हुन्छन् । सुपारीमा पाचन शक्ति, पानमा रुघा खोकीका लागि, कत्था (जसलाई खयर पनि भनिन्छ) खयरको काठबाट बनिन्छ, यसले रगत शुद्ध गर्ने र पेनकिलरको काम गर्छ अनि चुना किटनाशक हो । तर, हिजोआज कत्था खयरको काठबाट बनेको पाउन दुर्लभ भएको छ । अहिले अप्राकृतिक रुपमा उत्पादित सिन्थेथिक कत्था प्रचलनमा आएको छ ।
पानको इतिहास पच्छ्याउँदा भारतमा मोगल साम्राज्यको समयमा पानको प्रयोग उत्कर्षमा पुगेको पाइन्छ । पानलाई उत्कर्षमा पुर्याउन मोगल कालीन नवावहरुको प्रमुख भूमिका रहेको पाइन्छ । त्यो भन्दाअघि कि सुपारी मात्र खाएको, कि पानको पात मात्रै चबाउने अथवा पान सुपारी र चुना लगाएर खाने गरेको तथ्य पाइन्छ । मोगलकालमा आएर तत्कालीन नवावहरुले पानलाई शक्तिबद्र्र्धक, यौन शक्तिबद्र्धकका रुपमा विविध पदार्थको मिश्रण गरी सेवन गरेको इतिहास पाइन्छ ।

नवावहरुले पानमा चुना, खयरका अतिरिक्त उच्चस्तरीय सूर्तीजन्य पदार्थ, स्वर्ण अर्क (भष्म), चाँदीको भष्म, शिलाजित, लगायतका शक्तिबद्र्धक पदार्थ र जडीबुटीको मिश्रण गरी सेवन गर्ने प्रचलन ल्याएको पाइन्छ । सो समयसम्म मिठापानको प्रचलन रहेको पाइँदैन । नवावका वेगमहरुले, नवावले पान खाँदा उनीहरुको ओठ रातो रसिलो र लोभलाग्दो आकर्षक भएको देख्दथे । त्यस्तै आफ्ना ओठ पनि रसिलो, लोभलाग्दो पार्ने प्रबल चाहना जाग्यो । सो समयमा लिपिस्टिकको आविष्कार भएको थिएन । अनि वेगमहरुले कुनै पनि शक्तिबद्र्धक पदार्थ प्रयोग नगरिकनै सादापान, सुपारी चुना, खयर हालेर सेवन गर्न थाले । त्यसो गर्दा उनीहरुको ओठ त रातो रसिलो भयो, तर खाँदा त्यत्ति स्वादिलो भएन । अनि उनीहरुले पानमा गुलियो पदार्थ मिश्रण गरेर खान थाले । त्यसपछि क्रमशः गुलियो पदार्थका विभिन्न प्रकार र मरमसला थपिँदै गएको पाइन्छ ।

मोगल साम्राज्यको युग समाप्त भयो । नवावहरुको शान सौकत पनि ओरालो लाग्न थाल्यो । अनि पानको उत्कर्षले पनि ओरालो बाटो लिन थाल्यो । तर, त्यो ओरालो एकैचोटी धरातलमा भने पुगेन । नवावहरु जति–जति मासिदै गए पानको उत्कर्ष पनि सोही अनुसार घट्दै गयो । अर्कातिर मोगलकालमा नवावहरुको देखासिखीको अनुशरण गर्ने धनाढ्यहरु पनि थिए । उनीहरुले र उनीहरुका सन्ततिहरुले पानको परम्परालाई जीवित राख्दै गएको पाइन्छ । र, आजका दिनमा पनि पानको त्यो परम्परा शून्यमा पुग्यो भन्न सकिँदैन । पानका त्यस्ता उच्च सौखिन अझै एकाध छन् । अनि त्यो उत्कर्षमा पुगेको पानको स्वरुप हिजोआज कुन स्तरमा पुगेको छ, त्यो भनिरहन नपर्ला ।

पानमा प्रयोग गरिने सूर्तीजन्य पदार्थहरुको अर्थात् जसलाई जर्दा भन्ने गरियो, अनेकौं प्रकारका उत्पादनमा आए । १२०, पिला, काला, मोती, ३००, तुलसी, तुलसी ००, तुलसी ०००, बाबा, बाबा १६०, बाबा ३००, बाबा ६००, बाबा ९०० आदि । यी मध्ये बाबाको ९०० सबैभन्दा उत्तम र महँगो मानिन्छ । स्थानीय क्षेत्रमा बाबाको बिना केसरयुक्त १६० र केसरयुक्त १६० चल्तिमा रहेको पाइन्छ । यी सबै जर्दाहरुको ‘डुप्लिकेट’ प्रायः सबै पान दोकान, होलसेलरकामा पाइन्छ । ‘ओरिजनल’ को मूल्यभन्दा डुप्लिकेटको मूल्य झण्डै आधा हुन्छ । अनि पान दोकानीले पारखी बाहेक अरुलाई डुप्लिकेट दिने गरेको पाइन्छ । त्यसैगरी मिठा मसलाहरुमा चेरीदेखि मजिठो, ल्वांग, सुकमेल र मिठा पान मसलाहरु हुन्छन । यी मिठा मसलाहरुका पनि डुप्लिकेट हुन्छन् ।

पान दोकानीको अलग पहिचान र चरित्र हुन्छ । मुख्यगरी हनुमानको फटो, ठुलो साइजको ऐना र रातो कपडा यी तीन वस्तु पान दोकानको प्रथम चारित्रिक अङ्ग हुन् । यसका अतिरिक्त खयर र चुना राख्न काँशको लोटा र खयर पानको पत्तामा लगाउन प्रयोग गरिने काठको डन्ठी चन्दनको हुनुपर्छ । चुना, खयर राख्ने काँशका वर्तन प्रत्येक दिन बिहान माझेर टल्किने पारेर ताजा चुना खयर तयार गरिनुपर्छ । अनि उक्त पान दोकानमा पानमा प्रयोग हुने वस्तु वाहेक अन्य चिज बिक्री–बितरणका लागि राखिँदैन ।

पानको बारेमा चाणक्य नीतिमा पनि उल्लेख छ । उदाहरण प्रस्तुत गर्दै चाणक्यले लेखेका छन् कि– ‘पान जति चवायो उति स्वादिलो हुन्छ’ भनेर । पानका बारेमा लेखिएका ग्रन्थहरुमा, पान सेवन विधिका बरेमा पनि उल्लेख भएको पाइन्छ । पान, चाहे जर्दावाला होस्, मिठा, सादा, तामोल पान होस् । पानको पत्ता अथवा तामल मात्र होस्, शुद्घ पारेर अर्थात् धोइ पखाली खाने र चवाउँदा पहिलो पटक मुखमा निस्कने रस थुकी दिनुपर्छ । पहिलो पटक निस्किएको रस थुके पछि दोस्रो पटक आउने रस अमृत समान हुन्छ भनिएको पाइन्छ ।

‘बनारसका पान’ भन्ने शब्द प्रसिद्घ छ । तर, बनारस तामल पानको उत्पादनमा प्रसिद्घ होइन । बनारसमा पानको पत्ताको ‘प्रोेसेसिङ्ग’ गरिन्थ्यो मोगलकालमा । हिजो आज गरिन्छ गरिँदैन थाहा भएन । मोगल कालमा नवावहरुले प्रयोगमा ल्याउने पानको पात बोटबाट टिप्नु अघि प्रयोग उपयोगी भए÷नभएको जाँचेर मात्र टिप्ने गरिन्थ्यो । त्यसपछि, त्यसलाई धोइपखाली डाँठ र टुप्पो कटाइ, प्रेस गरेर तह मिलाएर चिसो ठाँउमा सुरक्षित भण्डारन गरिन्थ्यो । यो काम बनारसमा हुने गरेकोले ‘बनारसका पान’ भन्ने चलेको थियो । पानले साहित्य संगीतमा पनि स्थान पाएको पाइन्छ । हिन्दीमा– ‘खाइके पान बनारसवाला, पान खाए सैंया हमारो छिटे लाल लाल…’ आदि गीत प्रसिद्घ छन् । त्यसैगरी नेपालीमा पनि– ‘पानको पात्, मायालुलाई सम्झन्छु दिनको रात…’ जस्ता गीत छन् ।

पानकै कुरा गर्दा, पान सेवन गर्ने केही झापालीको नाम उल्लेख नगर्नु यो लेख अधुरो नै हुन्छ भन्ने जस्तो लाग्छ । पान खाने कै रुपमा नाम चलेका र मैले जानेसम्मका पहिलो व्यक्ति हुनुहुन्थ्यो, शनिश्चरे झापाका स्वर्गीय मोहन जोशी सर । दोस्रोमा हुनुहुन्छ भद्रपुर हाई स्कुलका पूर्व प्रधानाध्यापक प्रमोद चन्द्र शर्मा । यी दुवैले दोकानमा बनाइएको पानभन्दा आफै बनाएर तामोल पानको प्रयोग बढी गर्नुहुन्थ्यो । उहाँहरुको मुख खाली रहँदैन थियो त्यसपछि दोकानमा बनाएर नवावी पारको पानका अम्मली थिए भद्रपुरका स्वर्गीय जीतबहादुर पुरी । झापामा पानका अन्य अम्मली पनि होलान् । तर, उनीहरुसँग मेरो संसर्ग भएको छैन । स्वर्गीय मोहन सरले भन्ने गरेको वाक्यांश उदृत गर्दै यो पान महिमाको समापन गर्न चाहन्छु, । जहिले पनि भेट हुँदा– मोहन सर म तिर औंला ठड्यार भन्नुहुन्थ्यो– ‘हेर गोविन्द, सबथोक माग्नु म सँग पान चै नमाग्नु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here