आधुनिक प्रविधिमा किसानको आकर्षण

१९ असार २०७६, बिहीबार मा प्रकाशित

बिर्तामोड।

झापाको कचनकवलमा ब्याड नै नराखी धान रोप्ने प्रविधिमा किसानहरुको आकर्षण बढ्न थालेको छ । धान रोप्नका लागि बीऊ राख्ने र रोप्ने रोपारको झन्झट गर्नु नपर्ने भएपछि किसानहरु बीऊ छर्ने हाते मेसिन (ड्रम सिडर ) तर्फ आकर्षित हुन थालेका हुन् ।

परीक्षण पछि गत बर्षदेखि प्रयोगमा आउन थालेको ब्याड नै नराखी सिधै धान रोप्न मिल्ने ड्रम सिडर बीऊ छर्ने सस्तो र सजिलो प्रविधितर्फ आकर्षण बढेको कचनकवल– ६ बालुबाडिका कृषक कालीबहादुर लिम्बूले बताए ।

यस बर्ष ड्रम सिडर प्रविधिबाट ३० विगाह चैते धान रोपिएको थियो, रोपेको धान मनग्ये फल्यो पनि । ब्याड र रोपारको खर्च बचत हुने भएपछि हिउँदे धान समेत ३० विगाह क्षेत्रमा लाउने कार्य शुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना धान सुपर जोनका प्रमुख धनबहादुर थापा मगरले बताए ।

धान सुपर जोन क्षेत्रमा अहिले दुई हजार दुई सय हेक्टरमा धान खेती हुँदै आएको छ । चैते धान मात्र दुई सय हेक्टरबाट बढेर एक हजार हेक्टरमा खेती गर्न थालिएको छ । तर, धान राम्रो उत्पादन गर्दै आएका किसानले धानको मूल्य नपाउँदा भने निराश बनेका धान सुपरजोन सञ्चालक समितिका अध्यक्ष नवराज भट्टराईले बताए ।

राज्यले कृषि आधुनिकीकरणमा गरेको लगानीले पछिल्लो समय झापामा धान उत्पादन बढेको छ । तर, बजार मूल्य उत्पादन लागतभन्दा कम भएपछि किसानहरु समस्यामा परेका छन् । कृषि क्षेत्रको विकास गर्ने हो भने राज्यले बजारीकरणको समेत जिम्मा लिनुपर्ने किसानको भनाइ छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here