फेरि पनि बिर्तामोड–चन्द्रगढी सडक

१९ असार २०७६, बिहीबार मा प्रकाशित

अठार महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी शुरु भएको बिर्तामोड–चन्द्रगढी सडकखण्डको काममा केही प्रगति भएको छैन । सम्झौताको एक वर्ष बितिसक्यो तर सडक निर्माण सम्पन्न हुने लक्षण कतै देखिँदैन ।

सो सडकखण्डको चौध किलोमिटर मध्ये अढाई किलोमिटर चारलेनको र डेढ किलोमिटर दुई लेनको बनाउने सम्झौता अनुसार निर्माण कम्पनी आशिष प्रेरा जेभीले अबको छ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ । त्यसको तीन महिना वर्षाको समय हो र बाँकी तीन महिनामा सडक हस्तान्तरण गर्नुपर्ने हुन्छ । तर, सडकको अवस्था निर्माण कार्य प्रारम्भ हुनुअघिको भन्दा पनि रुग्ण छ जसका कारण त्यसक्षेत्रको व्यापार–व्यवसाय मात्र होइन स्थानीयबासीको जीवन नै अस्तव्यस्त भएको छ ।

बिर्तामोडको मुक्तिचोकदेखि मेची आँखा अस्पतालसम्मको सडकखण्डका बासिन्दा र व्यवसायीले पटक–पटक सडक तीब्रगतिमा निर्माण होस् भन्ने माग राखे । प्रधानमन्त्रीसम्मलाई सडकमै रोकेर ज्ञापन दिए, स्थानीय सरकारमा त धेरैपटक अनुनय–विनय गरे, सडक विभागको ध्यानाकर्षण गराए तर अवस्था जस्ताको तस्तै भयो ।

केही नलागेर सडकमै विरोध जनाएको पनि धेरै भयो । यसक्रममा पछिल्लो पटक सडक पीडित व्यवसायी र स्थानीयबासी मंगलबार र सडक प्रदर्शनीको तयारीमा रहँदा नगर प्रमुखले छलफलमा बोलाएर आश्वासन दिएर विद्रोहलाई एकछिनलाई समन गरे ।

स्मार्ट सिटीको अवधारणा अनुसार निर्माण हुने भनिएको चारकिलो मिटर सडक क्षेत्रको दुबै किनारमा बनिनुपर्ने नाला वर्षदिनमा पनि सकिएन । ढलका रुपमा प्रयोग हुने ढलको दीर्घकालीन योजना केही छैन । ढलबाट बग्ने फोहोर नदीमा मिसाउँदा त्यसले पार्ने वातावरणीय असरको हेक्का न सडकलाई छ, न त स्थानीय सरकार अर्थात् नगरपालिकालाई ।

पानी प्रदुषित भई जलचर प्राणीलाई पार्ने असर, सो पानीबाट सिञ्चित हुने खेती र त्यसबाट उत्पादन हुने कृषि वस्तुमाथिको असरको मूल्यांकन गर्न न कोही वातावरण विज्ञलाई जिम्मा दिइएको छ न त सुझाव नै लिइएको छ ।
वातावरणीय असरका यी र यस्ता विषय दीर्घकालीन कुरा छन् । तत्काल देखिने र अनुभूत गरिने विषय भनेको सडकले प्रभाव पार्दै रहेको अव्यवस्था, असुविधा र सास्ती नै हो ।

अत्यन्त धेरै आवागमन हुने, जिल्लाको सदरमुकामसँग जोड्ने मेची अञ्चलकै मुख्य सडकखण्डको यो दुर्दशाले सम्बद्ध पक्ष, नियमनकारी निकाय, स्थानीय सरकार, सडक विभाग र संघीय सरकारलाई पोल्दैन भने यो स्थानीयबासीको दुर्भाग्य भन्नुपर्ला । यद्यपि स्थानीय सरकार प्रमुख धु्रवकुमार शिवाकोटीले आक्रोशित र पीडित प्रतिनिधिहरुसँग निर्माणको काम तीव्रगतिमा गराउने आश्वासन दिएका छन् । तथापि यतिले जनताको अपेक्षा पूरा होला भन्ने ठाउँ छैन ।

अहिले असारे विकासका लागि भ्याइ–नभ्याइ छ समृद्ध सबैलाई । पालिका हुन् वा सडक विभाग, विकासे मन्त्रालय हुन् वा सरकार सबैको ध्यान असार मसान्तसम्म जोडिएको छ । यतिबेला सडक कालोपत्रे गर्नेदेखि विकास बजेटका मर्मत, सम्भार लगायतका काम गर्ने चटारो छ । वर्षाको मौसम भएकाले यो विकास ‘अध्यारोको काम र खोलाको गीत’ सरह नहोस् त्यतातर्फ सबैले चनाखो हुनैपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here