कफी किसानलाई प्राविधिक सेवाको खाँचो

0
651

काठमाडौँ।

नेपालमा साढे छ हजार ३४६ किसानले ९७३ हेक्टरमा व्यावसायिक कफी खेती गर्दै आइरहेका छन् । ती किसानले वार्षिक एक हजार ५७३ .६ मेट्रिक टन कफी उत्पादन गरिरहेका छन् ।

केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको २०७५÷७६ को कफी खेती सर्वेक्षण प्रतिवेदनअनुसार सबैभन्दा बढी व्यावसायिक किसान प्रदेश ३ मा रहेका छन् भने सबैभन्दा कम प्रदेश १ मा छन् त्यहाँ १२०.५ हेक्टरमा मात्र व्यावसायिक खेती हुने गरेको छ । सबैभन्दा बढी प्रदेश ३७५७.८ मेट्रिक टन कफी उत्पादन हुन्छ भने गण्डकी प्रदेशमा ४२२.४ मेट्रिक टन, प्रदेश ५ मा २८९.७ मेट्रिक टन र सबैभन्दा कम प्रदेश १ मा १०३.७ मेट्रिक टन कफी उत्पादन हुने गरेको छ ।

कफी उत्पादन गर्ने प्रमुख पाँच जिल्ला काभ्रे, सिन्धुपाल्चोक, स्याङ्जा, गुल्मी र ललितपुर रहेका छन् । त्यहाँ क्रमशः ९४३, ७५५, ७०८, ५७१ र ५२८ व्यावसायिक किसान रहेका छन् । सर्वेक्षणको प्रतिवेदनअनुसार सबैभन्दा कम व्यावसायिक किसान सङ्ख्या भएको जिल्ला धनकुटा हो भने सबैभन्दा कम क्षेत्र भएको जिल्ला प्युठान रहेको छ । सार्वजनिक गरेको प्रतिवेदनअनुसार व्यावसायिक कफी खेती गर्ने किसानमध्ये एक रोपनीभन्दा कममा एक हजार १०१ जनाले कफी खेती गरेको देखिन्छ भने एक रोपनीभन्दा बढी तर पाँच रोपनीभन्दा कममा चार हजार ५३० जना, पाँच रोपनीभन्दा बढी तर १० रोपनीभन्दा कममा ५६७ ले र १० रोपनीभन्दा वा सोभन्दा बढी क्षेत्रफलमा २३८ जनाले ले कफी खेती गरेको देखिन्छ । कफी खेती गर्ने व्यावसायिक किसानमध्ये ९६ प्रतिशतले प्राङ्गारिक पद्धतिअनुसार कफी खेती गरेका छन् भने तीमध्ये ४३ प्रतिशत किसानले मात्र प्राङ्गारिक पद्धतिअनुसार उत्पादन भएको भनि प्रमाणीकरण गरेको देखिएको छ ।

तथ्याङ्क विभागले २०७४ वैशाखदेखि चैतसम्म व्यावसायिक कफी खेतीको सर्वेक्षण गरेको थियो । ५० बोटभन्दा बढी कफी उत्पादन गर्ने किसानलाई सो सर्वेक्षणमा समावेश गरिएको थियो । प्रतिवेदनअनुसार कफी बिक्रीबाट वार्षिक २० करोड रुपियाँ आम्दानी हुन्छ । वार्षिक १५ करोड ४१ लाख रुपियाँको फ्रेस चेरी, कफी खेतीसँगै एकीकृत रूपमा गरिएको छहारी बिरुवाबाट दुई करोड ९४ लाख र घुसुवा बालीबाट एक करोड ६० लाख रुपियाँ आम्दानी भएको देखिन्छ ।

छ हजार ३४६ किसानमध्ये ९८ प्रतिशतले बिना दर्ता खेती गरिरहेका छन् भने १.७ प्रतिशतले मात्र फर्म दर्ता गरेका छन् । सबैभन्दा बढी प्रदेश ३ मा दुई हजार ७५८ वटा फर्म छन् । कफी खेती गर्ने कुल किसानमध्ये २.८ प्रतिशत किसानले मात्रै बैङ्कबाट ऋण सुविधा प्राप्त गरेका छन् । किसानले गुणस्तरीय प्राविधिक सेवा, सिँचाइ, बजार, अनुदान तथा सहयोग, सहज तथा सहुलियतपूर्ण ऋण, आधुनिक मेसिन औजार, उचित मूल्य र बीमाको सुविधा उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।

सर्वेक्षणअनुसार कफी खेती गर्ने व्यावसायिक किसानमध्ये पुरुष ७४ प्रतिशत रहेका छन् भने महिला २६ प्रतिशत रहेका छन् । प्रमुख सञ्चालकमध्ये ४८ प्रतिशतले १० कक्षाभन्दा कम र १४ प्रतिशतले एसईई, सात प्रतिशतले प्रमाणपत्र तह, तीन प्रतिशतले स्नातक र स्नातकोत्तर तह र १७ प्रतिशत सामान्य साक्षर तथा सात प्रतिशत निरक्षर रहेको प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणले यो कफी खेतीमा सबैभन्दा बढी पहाडी ब्राहमण ५० प्रतिशत रहेको देखाएको छ भने क्षेत्री १३, तामाङ १०, मगर आठ, गुरुङ चार, नेवार तीन, लिम्बु दुई र अन्य आठ प्रतिशत किसान रहेका छन् । सर्वेक्षणअनुसार व्यावसायिक कफी खेतीमा सबैभन्दा धेरै ८० प्रतिशत सञ्चालकले पहिलाभन्दा उत्पादनमा ह्रास आएको बताएको छ ।
व्यावसायिक कफी खेतीमा ११३ जना ज्यालादारीमा, अस्थायी कामदार (व्यक्ति दिन) जम्मा ४२ हजार ४८४ रहेका छन् भने सञ्चालक परिवारको सदस्य १३ हजार ८७९ जना रहेका छन् ।

सिँचाइको सुविधाका साथसाथै गुणस्तरीय प्राविधिकको सेवाको आवश्यकता किसानलाई रहेको प्रतिवेदनमा उल्लेख छ । किसानहरूका लागि तालिम र अध्ययन भ्रमणको आवश्यकतासमेत रहेको उल्लेख गर्दै बजारको अभाव पनि देखाइएको छ । सहज तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराईनुपर्ने, उचित मूल्य निर्धारण, बीमाको व्यवस्थाका साथै आधुनिक मेसिन औजारको व्यवस्था गरिदिनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा कफी खेती आठ सय मिटरदेखि १६०० मिटरसम्मको उचाइका मध्यपहाडी भागका जिल्लाहरूमा गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, कास्की, गोरखा, स्याङ्जालगायत ३२ जिल्लाहरूमा व्यावसायिक खेती गरिन्छ । मुख्य रूपमा यहाँ अरबिक वर्णको टिपिका र बर्बन जातका कफी खेती हुन्छ भने नेपाली कफी जापान, अ‍ेमेरिका र युरोपेली देशलगायतका देशमा निर्यात हुँदै आएको छ । सरकारले २०५० जेठ २० गते राष्ट्रिय चिया तथा कफी विकास वोर्डको स्थापना गर्नुको साथै राष्ट्रिय कफी नीति २०६० स्वीकृत गरी लागू गरिएको छ ।- सुरेशकुमार यादव/गोरखापत्र अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here