सरकार झुक्किएको होइन झुकेको हुनपर्छ


२ श्रावण २०७६, बिहीबार ०५:११ मा प्रकासित

नकुल काजी,

Advertisement

भनिन्छ, कुनै पनि व्यक्तिको विचार उभित्र भइन्जेल उसको नियन्त्रणमा हुन्छ, अभिव्यक्तिका माध्यमहरुमध्ये कुनैबाट त्यो बाहिरिनासाथ त्यो आफ्नै विचारले सम्बन्धित व्यक्तिलाई जिम्मेवारी अनुसार कज्याएर आफ्नो नियन्त्रणमा पुर्याउँछ । त्यसैकारण कुनै विषयवस्तुलाई विवेकको मदानीले मथेर आप्mनो आधिकारिक हैसियतमा परावृत्त तुल्याएपछि मात्र ‘विचार’–को रुपमा अभिव्यक्त गर्नु सर्वभावेन उचित हुन्छ ।

विषादियुक्त भारतीय सागसब्जी र फलफूल बिना जाँच–पास नेपाल भित्रिन नदिने मन्त्रिपरिषदको निर्णय भएको, असार २ गते सो नेपाल राजपत्रमा प्रकाशित भएको र लगत्तै असार १४ को मन्त्रिपरिषद बैठकले नै उक्त अघिल्लो निर्णयलाई उत्तानो पार्दै जाँच नगर्नु अर्थात् साविक जस्तै निर्बाध नेपाल प्रवेश गर्नु दिनु भन्ने निर्णय गर्यो । सरकारको पहिलो निर्णयबाट उपभोक्ता नागरिक आल्हादित र कृतज्ञ भइरहेका बेला सो निर्णय उल्टिँदा आश्चर्यचकित भई चख्ल्याँस्स परे ! सरकारको यो अबोधगम्य अघि सर्ने–पछि हट्ने खेल–तमासा परन्तु धेरै दिन अन्यौलमा रहेन । नेपालस्थित भारतीय राजदूतावासले ‘भारतीय सागसब्जी र फलफूललाई विषादि परीक्षण नगरी छोडिनुपर्ने’ विषयको पत्र परराष्ट्र मन्त्रालयमा आएको रहेछ र यो ‘स्वतन्त्र राष्ट्र नेपाल’–को बहुजन समर्थन (बहुमत) प्राप्त शक्तिशाली सरकार सो पत्रबाट काँत्रिएर सो दोस्रो निर्णय लिएको रहेछ । अतः यी यावत कुरा यत्रतत्र छताछुल्ला भईसकेकै छ र यसका चर्चाहरुले सबै तप्काका नेपाली कान भरिइसकेकै छ ।

भारतीय राजदूतावासको उल्लिखित अघोषित दवाबी पत्रकै कारण सरकारले लुरुक्क मन्त्रिपरिषदको निर्णय बदलेको चर्चा सर्बव्यापी भइसकेपछि आफ्नो अत्यन्त कमजोर बचाउ गर्दै र लोकलाज ढाक्ने पारदर्शीबर्को ओड्दै कार्यकारी अख्तियार प्राप्त प्रधानमंत्री खड्गप्रसाद शर्मा ओलीले दिएको स्पष्टीकरणले अर्कोपल्ट नेपालीलाई लज्जित बनायो !

बाह्र दिनअघि मात्र आफ्नै अध्यक्षतामा सम्पन्न मन्त्रिपरिषद बैठकले निर्णय गरी राजपत्रमा समेत प्रकाशमा ल्याएर कडाइका साथ लागू गरेको विषयलाई आफ्नै अध्यक्षतामा सम्पन्न उनीह मन्त्रिपरिषको बैठकले किन पर्लक्कै उल्टाएको थियो त ? भारतीय दवाबको सामू निगुरमुन्टिएर निर्णय उल्टाइएको होइन भनाउन छिरुवा नाकाहरुमा रहेका विषादि जाँच्ने अड्डामा ‘उपकरणको अभाव’–लाई ढाल बनाइएको छ । त्यसो भए आफ्नो क्षमता नपुग्ने विषयमाथि यस्तो बाह्र दिनमै फत्याकफुतुक गल्ने हाँक किन हाँकिएको थियो त ? एउटा स्वतन्त्र राष्ट्रको बलशाली सरकारका हकमा यो शोभा दिने कुरा हो त ? किनभने, राष्ट्रको कार्यकारी अधिकार सम्पन्न प्रधानमंत्रीलाई मन्त्रिपरिषद जस्तो राष्ट्रिय कार्यपालिकाका सर्वोपल्लो जिम्मेवारी बैठकमा कुन राष्ट्रिय वृत्तव्यापी समस्याको विषय कसरी प्रस्तुत हुन आयो र के आधारका आधारमा त्यसको निवारण गर्ने निर्णय गरियो अनि बाह्रै दिनमा आफ्नो सो निर्णय उल्टाउन आवश्यक ठहर भयो भन्ने थाहा भएनछ भनेर जबरजस्ती पत्याइदिन लोकतन्त्रका प्रति विश्वासका साथ अनुराग राख्ने आजका नेपालीले सक्तैनन् । अन्यथा, त्यो लोकतन्त्रकै लागि चरम विडम्बनाको विषय बन्नेछ ।

प्रस्तुत विषयका सम्पूर्ण तानाबाना, लहरा–चिउला र फेद–टुप्पो बिना मेहनत हेर्दा र सेरोफेरो केलाउँदा समेत प्रधानमंत्री आफ्ना कुनै वा कुनै–कुनै सहकर्मी (कगदबचमष्लबतभ)–हरुबाट झुक्याइएका होइनन्, भारतीय राजदूतावासको एउटा सामान्य पत्रका सामू झुकेको हुन भन्ने सिद्ध हुन्छ । अथवा, यसो भनेर प्रधानमंत्रीले जनतासंग माफ मागेको समाचार पढ्दा र सुन्दा कस्तो प्रतीत हुन्थ्यो मानों उनी यसो भनिरहेका छन्— ‘मेरो खल्तीको रुमाल मेरै सहकर्मीहरु मध्येकै कुन हुस्सुले झिकेछ, हेर्नु न ! मैले असार दुई गते यही खल्तीमा राखेको आज २३ गते छाम्दा भेटिन । म दुई गते यही कपडामा थिएँ आज पनि यसैमा छु क्यारे !’…

राष्ट्रका भौतिक–भावनात्मक प्रायः सबै अवयवहरुलाई लज्जित तुल्याउने घटनाक्रमहरुको प्रकोप विगतभन्दा बढेको अवश्य छ । देशको सार्वभौमिक स्वतन्त्रताका प्रति आदि–ऐतिहासिक सोच–परम्पराको तेजोबध हुने देशभक्त जनमनको शंकाले वृत्त बढाउँदै लगेको छ । देशको पवित्र अस्मिता निर्गाद रहिरहला कि अन्तर्राष्ट्रिय सीमारेखाभित्रको माटो मात्रलाई देशको परिभाषा मानेर अस्तित्व–पराभवको पीडा पनि खप्नुपर्ने दिन आउँदैछ ? संभावनाहरु धारिँदै–तिखारिँदै गएका छन् । वकवेदान्तले सम्पूर्ण ऐतिहासिक उपलब्धिभन्दा ठूलो हुन खोजिरहेको मात्र छैन, त्यसैलाई सम्पूर्ण ऐतिहासिक उपलब्धिको सम्पूर्णता (अयmउभितष्यल) मान्न नागरिकले विवश हुन परिरहेको छ— ती नागरिक जसलाई संविधानका पानाभित्र ‘सार्वभौम राज्यशक्ति’–को रेशमी कोक्रोमा सुताउने अक्षरहरुको अनुकम्पा गरेका छन्— वस्तुगत यथार्थमा तिनले कहिले त्यो सौभाग्य भोग्ने अवसर पाउलान् ?

यस्तो करालकालको उदय भई दैनन्दिन प्रखर बन्दै जाँदाको अवस्थामा प्रतिपक्षी खबरदारी मुखर हुनपर्ने लोकतान्त्रिक बिधिनिर्दिष्ट प्रतिपक्षको कत्र्तव्यमा पनि खिया लाग्दै गएको छ । अगुवा नै बाटो विराएर नालायक बनिरहेको अवस्था छ । प्रतिपक्षका दलरुपी थर–गोत्रीय समूहहरुमा नेपाली कांग्रेसकै हविगत निराशाजनक छ । देश जति बिग्रँदै जान्छ–भत्किँदै र ध्वंश बन्दै जान्छ, त्यसबाट जति असन्तोष बढ्छ त्यति नै आफ्नो राजनीतिक फसल सप्रिने धारणा–अवधारणा र दलगत रणनीतिलाई नेपाली कांग्रेसले अख्तियार गरिरहेको बुझिन्छ । चार–चार पटक प्रधानमंत्री भइसकेका शेरबहादुर देउवा, नेपाली कांग्रेसका सभापतिको हैसितयले भन्छन्— “नेपाली कांग्रेस जस्तो लोकतन्त्रवादी पार्टीले कतिभन्दा पनि एउटै कुरो सुन्दैन भने यो सरकारलाई लोकतन्त्रवादी मान्न सकिंदैन ।

यो सरकारलाई ढाल्नुपर्छ ।”….अर्थात् उनको यो झ्वाँकी झम्टाइभित्रको ‘नेपाली कांग्रेस जस्तो’ भन्नाले ‘नेपाली कांग्रेस सबैभन्दा अब्बल लोकतन्त्रवादी पार्टी’ भनेर बुझ्नु परिरहँदा हरेक लोकतन्त्र हिमायती सचेत नेपाली अभ्यन्तरको बोधस्थलमा काउकुती लाग्ने खण्ड पर्दछ । किनभने, वर्तमान नेकपाको एकमना सरकार लोकतान्त्रिक बिधि–प्रक्रियाबाट सर्वाधिक लोकमतद्वारा प्रदत्त अधिकारले मण्डित छ । सो बिधि–प्रक्रियामा शर्मनाक पछि परेको पार्टीले यो सरकारलाई ढाल्ने ढ्वाँस फर्माउनु चाहिँ बरु विवेकहीन अलोकतान्त्रिक ठहर्छ ।

हो, सरकारका क्रियाकलाप अलोकतान्त्रिक किंवा लोकतन्त्रको सिद्धान्त विलोम गुज्रिरहेको देखेर खबरदारी गर्नु चाहिँ प्रमुख प्रतिपक्षी पगरी अनुकूल ठहथ्र्यो । तर, विगतमा आफूले सरकार चलाउँदाका त्यस्तै त्यस्ता आफ्ना काम–कार्वाहीको सम्झनाले सायद उसलाई विरमशान बनेर तर्साउँदो हो । घर मैलो भयो भने सक्नेले वा मैलो ठीक नमान्नेले कुचो लाउँछ, बडार–कुँडार गर्छ, घरै भत्काएको कतै सुनिएको छैन । राजनीतिको व्यवसायीकरण शुरु भई गति लिएयता सत्ताधिकार हत्याउन पुग्नेहरु कोही चोखो छैनन्, नेपाली कांग्रेस यस्तो सूचीमा तल छैन । संभवतः यसैकारण उसले उसको प्रमुख प्रतिपक्षी दायित्वमा पर्ने बिजिनेसबाट कोरा राजनीतिक उकुर्जीमा आफूलाई मूर्तिमान तुल्याइराख्नु बाहेक अन्य उपाय नदेखिरहेको हुँदो हो । यसप्रकार वर्तमान लोकतन्त्रमा नागरिक जीवन मूलतः यी दुई धु्रबका नेतृत्व द्वन्द्वमा अप्ठ्यारो र अक्करिलो स्थितिको प्रकोपग्रस्त छन् । यही अहिलेको यथार्थ हो । र, आजलाई यत्ति नै । शेष फेरि—

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्