नेपालको अर्थतन्त्रको मूल विशेषता श्रम निर्यात र वस्तु आयात

0
1891

तीर्थराज खरेल,

श्रम निर्यात र वस्तु आयात गर्ने वर्तमान पिछडिएको नेपाली अर्थतन्त्रलाई स्वदेशी श्रमबाट स्वदेशमै उत्पादित वस्तु निर्यात गर्ने विकसित अर्थतन्त्रमा बदल्नुपर्ने आजको प्रमुख चुनौति हो । नेपालीहरु वैदेशिक रोजगारीमा जाँदा एकातिर उनीहरुका लागि सुरक्षा चुनौति चुलिँदो छ भने यसबाट मुलुकको विकासको गति पनि अल्मलिएको र निकै समस्यामा परेको छ ।

मुलुक र मुलुकबासीलाई हृदयको गहिराइदेखि माया गर्ने अर्थविद्हरुले अब दक्ष जनशक्ति नेपाल निर्माणमा लाग्नुपर्ने र त्यसको लागि राज्यले उचित व्यवस्थापन गर्नुपर्ने धारणा राख्ने गर्छन् । नेपाली युवालाई देशमा रोजगारको पर्याप्त अवसर सृजना नभएसम्मका लागि वैदेशिक रोजगारमा जाने, सुरक्षित रुपमा विप्रेषण भित्र्याउने र सीप, क्षमता र अनुभव लिएर स्वदेश फर्कनका लागि नेपालमा र सम्बन्धित रोजगारदाता देशमा जान, रहन, बस्न र सुरक्षित रुपमा फर्कन सहजीकरण गर्नु जायज छ, तर त्यति नै जोड लगाएर स्वदेशमै स्वरोजगार सिर्जना गरी समाज र परिवारसँगै रहन उत्प्रेरित गर्न पनि जरुरी छ ।

हाल नेपालको अर्थतन्त्र निर्वाहमुखी कृषि प्रणाली मात्रै भएको छ, अब कृषिलाई यान्त्रिकीकरण गर्दै आधुनिकीकरण गरेर उत्पादन र रोजगारमुखी कृषि प्रणाली अवलम्बन गर्नुपर्ने आवश्यकता भइसकेको छ । दक्ष, अर्धदक्ष वा अदक्ष जे–जस्ता भए पनि युवा शक्ति विदेशिने कारण देश विकास हुन नसकेको तीतो यथार्थ हो, यसलाई नबदल्ने हो भने आगामी एक सय वर्षपछि नेपालको अवस्था यस्तै रहने अनुमान गर्न सकिन्छ ।

वास्तवमा अब विकास र समृद्धिलाई केन्द्रमा राखेर श्रमशक्ति नेपालकै विकास र समृद्धिमा लगाउने उद्देश्यका साथ नेपाल सरकारले नीति बनाउन जरुरी छ । नेपाली दक्ष, अर्धदक्ष र अदक्ष जनशक्ति लाखौंको संख्यामा विदेशिनु परेको विद्यमान अवस्थाको अन्त्य गर्नका लागि पूँजी आकर्षित गरी नेपालमै रोजगारी सिर्जना गर्नुपर्ने र आयातभन्दा निर्याततर्फ जोड दिनुपर्ने हुन्छ ।

विशाल अर्थतन्त्र, सैन्यशक्ति र जनसंख्या भएका दुई छिमेकी मुलुकको बीचमा रहेको नेपालको विकास र समृद्धिको ठूलो सम्भावना रहेको छ । यो भौगोलिक चुनौतिलाई अवसरको रुपमा लिएर दुबै मुलुकसँग व्यापार–व्यवसायलाई जोडेर अगाडि जान सके नेपाल सम्पन्न हुन त्यति धेरै वर्ष लाग्दैन । केही दशकभित्रै नेपालको विकास र समृद्धि नयाँ उचाइमा उठन सक्ने सम्भावना रहेको छ । सबैले आ–आफ्नो जिम्मेवारी आ–आफ्नो ठाउँबाट पूरा गर्ने हो भने नेपालीहरु बाध्य भएर विदेशिनुपर्ने परिस्थितिबाट चाँडो मुक्ति मिल्ने विश्वास गर्न सकिन्छ । वैदेशिक रोजगारीमा जाने वातावरणको अन्त्य गर्दै नेपालमै रोजगारीको व्यवस्था गर्न जरुरी छ ।

वास्तवमा नेपालमा रोजगारीका अथाह सम्भावना रहेको र कृषि, पर्यटन र जलस्रोतबाट नेपालमा लाखौं रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेको यथार्थ हो । वैदेशिक रोजगारमा रहेका युवा हाल नेपालमा १५ वर्षदेखि ४० वर्षसम्मका युवा जनशक्ति कूल जनसंख्याको करिब ४० प्रतिशतको हाराहारीमा रहेको छ । यो समूह आर्थिक क्रियाकलापका हिसाबले सक्रिय समूह हो । २०६८ सालको जनगणना अनुसार यस्तै सक्रिय समूहबाट १९ लाख २१ हजार ४९४ जना विदेशमा बसोबास गरिरहेको देखियो । यसको ठीक दस वर्षअघि २०५८ सालको जनगणनामा भने विदेशमा बस्ने जनसंख्या सात लाख ६२ हजार १८१ मात्र थियो । यस हिसाबले दिनप्रतिदिन बिदेशिनेको संख्या तीव्र गतिमा बढिरहेको छ । गरिबीको कुचक्रबाट देशलाई निकाल्न नसकेसम्म भावी कैयौं पुस्तासम्म यही विदेशिनेको संख्या बढ्ने क्रमको निरन्तरता रहिरहन्छ ।

केही वर्षअघिको केन्द्रीय तथ्यांक विभागको तथ्यांक अनुसार आ.व. २०७४÷०७५ मा वैदेशिक रोजगारबाट कूल गार्हस्थ उत्पादनको २४.२५ प्रतिशत रेमिटेन्स भित्रिएको देखिन्छ । सोही अवधिमा कूल गार्हस्थ उत्पादनको ८.७९ प्रतिशत वस्तु तथा सेवाको निर्यात र ४५.५३ प्रतिशत वस्तु तथा सेवाको आयात भएको देखिन्छ । बिदेशिनु कसैको रहर हुँदैन, तर बाध्यतासामु हामी जोकोही नतमस्तक छौं । वैदेशिक रोजगारकै कारण आजभोलि हाम्रा गाउँघर शून्य प्रायः छन् ।

रेमिटेन्सले अर्थतन्त्र धान्नु भनेको हुट्टियाउँले आकाश थेग्छु भने सरह हो । गणतन्त्र र लोकतन्त्र स्थापनापश्चात् आएको वैदेशिक रोजगार ऐनले समेत परम्परागत श्रम निर्यात गर्ने सिलसिलामा कुनै उल्लेखनीय परिवर्तन ल्याउन सकेको छैन ।
अर्थशास्त्रले विदेशिएका युवाले पठाएको विप्रेषणको प्रतिशतको हिसाब गर्न सक्ला, तर बाकसमा बन्द भएर हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उतारिने युवाहरुको लाशको हिसाब–किताब हुन सक्दैन । त्यसबाट उजाडिएको परिवारको कथा कुनै अर्थशास्त्रको सिद्धान्तले विवेचना गर्न सक्दैन ।

कतिपय युवालाई त जुन कामका लागि भनेर लगिएको हुन्छ, त्यो भन्दा फरक प्रकृतिको परिश्रम गर्न लगाएर मानव तस्करी गरिँदा पनि त्यसको मूल्यको हिसाब गर्न हामी असमर्थ प्रायः छौं । हाम्रा गाउँघरमा बाँझिएको जग्गा–जमिनमा खेतीपाती, पशुपालन, वृक्षरोपण र संरक्षण गर्नेदेखि बाटोघाटो, पुलपुलेसा सबै कार्य सोही विकासे फौजले गर्ने हो, तर त्यो विदेसिएको छ, त्यसैले न काम ठीक समयमा हुन्छ, न विदेसिएका युवाका परिवारजनका मनमा शान्ति नै छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई तिहाईको सरकार सञ्चालन भएको १७ महिना भएको छ । सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारा दिएर आफ्नो कार्यभारलाई ठोस गरेको छ । मुलुक समृद्ध बनाउन आयात घटाउने र निर्यात बढाउने काम गर्नुपर्छ । त्यसका लागि उत्पादन बढाउने, उद्योगधन्दा खोल्ने, कृषिलाई आधुनिकीकरण गर्ने, स्वरोजगारका कामहरू बढाउने, कृषकलाई प्रोत्साहित गर्ने काम सरकारले गर्नुपर्छ । त्यो प्रभावकारी रूपमा भएको देखिँदैन । कृषि प्रधान देशमा कृषि कर्म गर्ने उत्पादनशील लाखौं युवा जनशक्तिलाई विदेश पलायन हुन बाध्य पारिएको छ– लाग्छ, अभिषप्त नेपाली युवाको नियति विदेशिनु नै हो ।

हाम्रा युवाले विदेशमा तल्लोस्तरको काम गरेर जहान परिवार पाल्दै आएका छन् र उनीहरुको कमाइले राष्ट्रिय उत्पादनमा खासै योगदान दिन सकेको छैन । कृषिप्रधान देश भनिएको छ, तर सात अर्बभन्दा बढीको तरकारी आयात भएको छ, एक खर्ब बढीको खाद्यान्न आयात भएको छ तर त्यसको तुलनामा नगन्य मात्रामा निर्यात भएको छ । अर्बौंको फलफूल, ऊन, मसला र मासु विदेशबाट आयात भएको छ भने अर्बौंको दूध आयात भएको छ । ती वस्तु उत्पादन गर्ने युवा नेपाली जनशक्ति भने यहाँ रोजगार नपाएर प्रतिदिन २५ सयको हाराहारीमा विदेश पलायन भइरहेका छन् ।

अर्कोतर्फ, विदेशमा राम्रो शिक्षा पढ्ने नाममा, रोजगारी पाउने लालसामा, धेरै कमाउने, सुखी जीवन जीउने र उपचार गर्ने नाममा खरबौ रुपैयाँ नेपाली मुद्रा विदेशमै गएको छ । विदेशमा कमाएको पैसा विलासी सामान किन्ने लोभमा उतै फर्किएको छ । राष्ट्रिय अर्थतन्त्रमा यसले कुनै योगदान गरेको छैन । राज्यले करोडौं लगानी गरेका विशेषज्ञ, विज्ञ र वैज्ञानिकहरू राम्रो जागिरका लागि विदेशमै बसेर मुलुकलाई खोक्रो बनाइरहेका छन् । श्रम निर्यात र वस्तु आयात गर्ने परनिर्भर बजार अर्थतन्त्रको विस्तार र कृषिप्रधान अर्थतन्त्रको तीव्र विघटनको क्रमलाई विराम दिएर मात्र हाम्रो देशको सुल्टो यात्रा हुनसक्छ ।

औद्योगिक पूँजीको सट्टा वित्तीय पूँजीको विस्तार र राज्यसत्ताको दोहनको क्रम बढ्दो छ । दलाल पूँजीको विगविगी छ । अब राष्ट्रिय औद्योगिक पूँजीको विकास र तलबाट सामुदायिक क्षेत्रको जग निर्माण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको आधारमा समुन्नत संघीय समाजवादको आधार तयार गर्नुपर्ने आजको मूल दायित्व हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here