साहित्यकार मदनमणि दीक्षितको निधन, प्रधानमन्त्री ओलीद्धारा दुःख ब्यक्त

३० श्रावण २०७६, बिहीबार मा प्रकाशित

काठमाडौँ।

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा बिहिबार निधन भएको छ ।निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना हुनुभएका उहाँलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो ।

निवासमा शौचालय जाँदा बेहोस हुनुभएको उहाँलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उहाँलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

दीक्षितका ‘माधवी’, ‘ऋग्वेद स् केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । उहाँले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गर्नुभएको थियो । नेपाली पत्रकारिता क्षेत्रमा पनि उहाँको विशिष्ट योगदान छ । उहाँको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो ।

उहाँका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ । उहाँका नाति अवनी दीक्षितका अनुसार दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको जनाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले ट्विट गर्दै प्राच्य साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले आफू मर्माहत भएको र उहाँको योगदानलाई वाङ्मय क्षेत्रले सदा स्मरण गर्ने उल्लेख गर्नुभएको हो । प्रधानमन्त्री ओलीले दीक्षितप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

बिहिबार बिहान निधन हुनुभएका ९७ वर्षीय दीक्षितको शव अहिले कमलपोखरीस्थित हिमाल अस्पतालमा राखिएको छ । उहाँको शवलाई अन्त्येष्टिका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरमा राख्न परामर्श भइरहेको छ । त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । दीक्षित प्रतिष्ठानका पूर्व उपकुलपति हुनुहुन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here