मदिरा सभ्य समाजको बाधक


१ भाद्र २०७६, आईतवार ०६:३२ मा प्रकासित

मदिरा नेपाली संस्कृतिको पर्याय भएको छ अहिले । आधुनिकता र देखासिकी गर्ने मानसिकताले मध्यमवर्गीय नेपालीलाई त मदिरा अभिन्न अङ्ग जस्तै भएको छ । कुनै समय थियो जहाँ एउटा निश्चित जाति समूहका लागि मदिरा संस्कृतिसँग जोडिएको थियो, जसको अनुपस्थितिमा परम्परागत संस्कारहरु नै सम्पन्न गर्न सकिन्नथ्यो । तर, आज त्यस विपरीत हुन थालेको छ अर्थात् मदिराको स्पर्श नै नगर्ने जाति समूह यसको अनुपस्थितिमा अस्तित्वविहीन भएको अनुभूति गर्ने अवस्थामा पुगेको छ ।

Advertisement

यो बदलिएको संस्कारले नेपालीको व्यक्तिगत जीवन, स्वास्थ्य र व्यवहारजन्य जीवन प्रभावित हुन थालेको छ । कतिपय अपराधजन्य घटनाहरुका कारक यही बनिएको छ भने अकल्पनीय घटना र मृत्युका कारण पनि मदिरा नै हुन थालेको छ । त्यसैले पनि यस्तो प्रवृत्ति मानसिकता र प्रचलन ‘पर धर्म भयावह’ जस्तै हुन थालेको छ भन्दा पनि अत्युक्ति नहुने भएको छ । मदिरा विभिन्न कोटीका हुँदाहरेछन् । घरमै उत्पादन गर्नेदेखि ठूल्ठूला उद्योगहरुबाट उत्पादन हुने देशी–विदेशी मदिराहरुका उपभोक्ता सबै वर्गका नेपाली हुने नै भए । यसले एकातिर पैसाको दुरुपयोग गराएको छ भने अर्कातिर परिवारमा झगडा, हिंसा र मृत्युसम्मका घटना गराएको छ ।

सामाजिक अपराधहरु समेत बढाउने यस्तो लतलाई सुधार नगर्दासम्म सुन्दर, सभ्य र शान्त समाजको निर्माण हुन सक्दैन । शान्ति, उन्नति र सदाचारितापूर्ण पात्रहरुको कल्पना पनि यसकै अन्त्यबाट मात्र सम्भव छ । त्यही भएर झापा जिल्लालाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय झापाले अपराध नियन्त्रणका लागि भन्दै घरेलु मदिरा नियन्त्रण अभियान नै चलायो । टोल–टोलमा प्रहरी परिचालन गरी घरेलु मदिरा उत्पादनलाई निरुत्साहन गर्ने कार्यक्रम चलाइयो तर नेतृत्वको स्थानान्तरण हुनासाथ अभियान सुस्त होइन पूर्ण विराम भयो । यसले थोरै भए पनि सचेतना जगाएको थियो, अवैध काम गर्नुहुँदैन भन्ने सन्देश प्रवाह गराउँदै थियो र आन्तरिक राजश्व कार्यालय झापाले अभियानलाई मदिरा निषेधित जिल्ला बनाउन कार्यक्रम सञ्चालन गर्दै थियो । सबै वर्ग, समूह, स्थानीय सरकार समेतको सहकार्य र समन्वयमा प्रारम्भ भएको अभियानले थोरै आशा पनि जगाएको थियो ।

अभियान सञ्चालन भएपछि राजश्व कार्यालयले निरीक्षण, अनुगमन र कार्वाही अघि बढायो । त्यसक्रममा नक्कली मदिरा नियन्त्रणमा लिइयो पनि तर तत्कालीन प्रहरी उपरीक्षक भीम ढकालको स्थानान्तरणसँगै अभियान असफल हुन पुग्यो । त्यसो त कतिपय समाजमा परापूर्वकालदेखि नै घरेलु मदिरा उत्पादन गर्ने गरिएको छ । यो उनीहरुको सांस्कृतिक पहिचान नै हो । तर, त्यसको उत्पादनमा प्रयोग हुने खाद्य वस्तुले सयौंको पेट भर्न सक्छ, विश्वको भोकमरी टार्न सक्छ भन्ने सन्देश दिन नसक्दा संस्कृति नै प्रत्युत्पादक बनिने गरेको छ । यस्ता वस्तुले मूलतः महिला हिंसा बढाउने, सामाजिक सद्भाव खल्बलिने मात्र होइन अािर्थक तथा भौतिक क्षतिसम्म हुने चेतना प्रवाह गर्न ढिला भइसकेको छ । यो प्रहरी वा अमूक संस्थाको अभियानभन्दा पनि प्रत्येक सचेत नेपालीको उद्देश्य हुनुपर्दछ । अनि मात्र सभ्य र सुन्दर समाज निर्माण सम्भव छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्