बिर्तामोड।
चौबिसै घण्टा काममा व्यस्त रहने सवारी चालक तथा सहचालकको स्वास्थ्य अवस्था ठीक भएमा सवारी दुर्घटनामा कमी आउने विभिन्न अध्ययनले देखाएको छ ।
अधिकांश दुर्घटना मानवीय चेतना गुमाएकै कारण हुने गरेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ९२ प्रतिशत मानवीय चेतनाका कारण दुर्घटना हुने गरेको छ भने ४३ प्रतिशत लापरवाहीका कारण, ४० प्रतिशत तीव्रगतिका कारण र ९ प्रतिशत मादक पदार्थ सेवन (मापसे)का कारण दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको भनाई छ ।
जुनसुकै समयमा पनि सवारी हाँक्नुपर्ने भएकाले चालक र सहचालक स्वस्थ्य हुनुपर्नेमा सरोकारबालाहरुले जोड दिएका छन् ।
यसैबीच नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आयोजना तथा मेची राजमार्ग ट्रक कमिटी, बिर्तामोड नगर कमिटीको सहआयोजना र अञ्जली हस्पिटलको प्राविधिक सहयोगमा बिर्तामोडको नयाँ बस पार्कमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
स्वास्थ्य शिविरमा दुई सय ५५ जनाभन्दा बढी चालक तथा सहचालकले स्वास्थ्य परीक्षण गराएका थिए । बिक्रम खनालको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य देवी भट्टराई, जिफन्टका प्रदेश उपाध्यक्ष सन्तकुमार राई, सन्तोष राई, बसपार्कका प्रहरी इञ्जार्ज मोहन श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।
चालक तथा सहचाकलको स्वास्थ्य परिक्षणको कार्यक्रम मजदुर आफैंले राखेको भन्दै जनप्रतिनिधिहरुले मजदुरको स्वास्थ्यको विषयमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको सञ्चारकर्मी सुरज प्रधानले जानकारी दिए ।
कार्यक्रममा स्वागत मंगलकुमार राईले गरेका थिए भने सञ्चालन धनबहादुर गिरीले गरेका थिए ।