ह्याविट्याट फर ह्युम्यानिटी नामक संस्थाले विपन्न वर्ग लक्षित परियोजना मार्फत आवास कार्यक्रम सञ्चालन गरिरहेको छ । ऊ सँगै सहारा नेपालले विपन्न वर्गको हित तथा उत्थानका लागि विविध कार्यक्रम सञ्चालन गर्दैछ । स–साना समूह बनाएर आर्थिक समृद्धिका लागि काम गर्दै आएका संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा कल्याणकारी योजनाहरु मार्फत समाजमा आफ्नो उपस्थिति जनाएका छन् ।
विगतदेखि नै विपन्न वर्गका लागि आवास कार्यक्रम सञ्चालन गर्दै आएको ह्वाविट्याटले यो वर्ष बिर्तामोड नगरपालिकाको समेत सहयोगमा बिर्तामोड–७ मा चौतीस वटा घर निर्माण गरी परिवारलाई हस्तान्तरण गरेको छ । सहारा नेपाल समेतको लगानीमा निर्माण भएका घरहरु प्रदेश सांसद एकराज कार्की, नगर प्रमुख धु्रव शिवाकोटी, सहाराका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरी, ह्याविट्याटका बिजयप्रसाद गुप्ता लगायतको उपस्थितिमा प्रमुख अतिथि प्रदेश सांसद कार्कीले नवनिर्मित घर हस्तान्तरण गरेका थिए ।
झापा, मोरङ र सुनसरी जिल्लामा ह्याविट्याटको आर्थिक सहयोगमा पाँच सय वटा घर निर्माण गर्ने लक्ष्य रहेको सहाराका कार्यकारी निर्देशक गिरीले बताए । उनले अहिलेसम्ममा झापाका आठवटै स्थानीय तहमा गरी दुई सय चौवन्न वटा घर निर्माण गरिसकेको जनाउँदै बिर्तामोडमै एक सय वटा घर निर्माण गर्ने जानकारी दिए । यही आर्थिक वर्ष बिर्तामोडमा छयहत्तर वटा घर निर्माण भएको बताइएको छ । यसले संविधान प्रदत्त नैसर्गिक अधिकार अर्थात् सुरक्षित हुन पाउने हक सुनिश्चित गर्न मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ । नयाँ घर पाउनेहरु मध्ये बहुसंख्यक सन्थाल समुदायका छन् । घर पाएपछि त्यहाँका एक सय पचपन्न जनाले सुरक्षित जीवनयापन गर्न सक्ने भएका छन् ।
सन्थाल जाति झापाका प्राचीनबासी हुन् । यद्यपि उनीहरुको आगमन भारतबाटै भएको मानिन्छ । चेतनाले पछि परेका कारण सन्थाल जाति अहिले लोपोन्मुख अवस्थामा पुगेको छ । पचास वर्षअघिसम्म प्रभावपूर्ण उपस्थिति जनाएको यो जाति यतिखेर अस्तित्व रक्षाको अवस्थामा पुगेको छ । सयौं बिगाह जग्गाका मालिक रहेको यो जाति सोझो र इमान्दार भनेर पनि चिनिन्छ । त्यही कारण उनीहरु भएको जग्गा जमिनबाट बेदखल गरिँदै सुकुम्बासी बन्न पुगे । त्यसकारण सन्थाल लगायतका अन्य आदिवासीहरु शिक्षा र चेतनाका अभावमा, फिजुल खर्ची भएकाले र भविष्यप्रति सचेत नभएकै कारण आफै पलायन हुँदै गएको जानकार बताउँछन् । त्यसकारण पनि विपन्न वर्गलाई शिक्षा, चेतनाको माध्यमबाट रोजगारी अवसर प्रदान गरेर आत्मनिर्भर बनाउने कार्यक्रम दिनु समाधानको दीर्घकालीन उपाय हुनसक्छ ।
राजनीतिमा सत्ता परिवर्तन भए जस्तै सामाजिक सत्ता पनि परिवर्तन हुने सायद समाजशास्त्रको नियम नै हो । त्यहीकारण पनि हुन सक्छ कुनै कालखण्डमा आर्थिक र सामाजिक स्वरमा समृद्ध भए वर्ग वा जाति अर्को कालखण्डमा विपन्न बन्न पुग्छ । तराईका मूलबासी भनिने सन्थाल, धिमाल, राजवंशी लगायतका प्राचीनबासीहरुलाई शिक्षाको माध्यमबाट राष्ट्रको मूलधारमा ल्याउने कार्यक्रम पहिलो आवश्यकता हुन सक्छ । यद्यपि ‘भोको पेटले वेद पढिन्नँ’ भन्ने मान्यता पनि छ, हेर्दा हावा, पानी र अन्न नै मूल आधार हो जीवन रक्षाका लागि । त्यसपछिको आवश्यकता आवास नै प्रमुख हो तर पनि यी जातिहरु सीमान्तकृत, लोपोन्मुख हुन थालेको सन्दर्भमा माटोलाई सर्वस्व ठान्ने सबै मूलबासीको सुरक्षा राज्यको मुख्य दायित्व हुनुपर्छ ।