भूवन तामाङ,
यसै पूर्वाञ्चल राष्ट्रिय दैनिकको अघिल्लो शनिबारे पातोमा यस पंक्तिकारको ‘देवकोटा सम्बन्धी केही रोचक प्रसंगहरु’ शीर्षकको लेख प्रकाशित भएको थियो । देवकोटा सम्बन्धी रोचक प्रसंगहरु अनगिन्ती छन् । यस अंकमा पनि देवकोटासँग सम्बन्धित थप रोचक प्रसंगहरु नै पाठकवर्ग समक्ष पस्कन्छु ।
लक्ष्मीप्रसाद देवकोटालाई एकताका बिजुली कवि पनि भनिन्थ्यो किनकि उनी छिटो कविता सिर्जना गर्दथे । उनलाई आँशुकवि, युगकवि र कविरत्न पनि भनिन्थ्यो । देवकोटा भन्ने गर्थे, मैले कति लेखेँ मलाई नै थाहा छैन, सयकडा पचहत्तर कृतिहरु त हराएर गए । देवकोटाका कृतिहरुबारे समालोचनामा प्रथमपटक सूर्यविक्रम ज्ञवालीले समेटेका थिए । ज्ञवालीले सम्वत् १९९३ मा ‘नेपाली साहित्यकाशमा नयाँ दुई तारा’ लेखे । ती दुई तारामा सिद्धिचरण श्रेष्ठ र लक्ष्मीप्रसाद देवकोटा परेका थिए । त्यो भन्दा अगाडि जिवित स्रष्टाहरुका सिर्जनाहरुबारे नेपाली समालोचना लेख्ने चलन थिएन ।
अभावै अभावमा बाँचिरहेका देवकोटाले ठूला ओहदामा सरकारी जागिर पाएपछि थुप्रै प्रकारका खानेकुरा पनि खान पाए । त्यसरी खाएरै पनि देवकोटा घरिघरि बिरामी पर्दथे । उसैत देवकोटा सानैदेखि रोगी थिए । उनलाई अल्सर भएको थियो । उपचार गर्न देवकोटा आपैmले वेवास्ता गर्दा रोग क्यान्सरमा परिणत भएको थियो । रोगबीचमै पनि देवकोटाले कैयन साहित्य सिर्जना गरिरहे ।
देवकोटालाई वामपन्थी पनि भनियो । किनभने उनी रुस, चीन गएका थिए । उनलाई रुसको मस्को शहर अति मन पर्दथ्यो । उनी कम्युनिष्ट पार्टीको भाषण पनि गर्दथे । गोरखादलको मेनिफेष्टो पनि लेखिदिन्थे । उनी धर्मसम्बन्धी मन्तव्यमा माक्र्स, लेनिन र माओका दर्शन व्यक्त गर्दथे । त्यसैले होला उनीविरुद्ध षड्यन्त्र समेत भयो र उनको सरकारी वेतन, पारिश्रमिक समेत रोक्का गरियो । सोही कारणले पनि उनले आप्mनो उपचार राम्ररी गर्न पाएनन् । अर्कोतर्पm विदेशमा लगेर उपचार गरिदिने सरकारको निर्णय ढिलो हुँदा देवकोटाको उपचार असम्भव भइसकेको थियो । अन्ततः भरपर्दो उपचार नगरिकनै क्यान्सरले उनको मृत्य भएको थियो ।
देवकोटाले राणा शासकहरुका छोराछोरीहरुलाई पढाउँथे तसर्थः उनले राणाहरुबाट केही खर्चहरु पाउने गर्दथे, तर राणाका बिरोधीहरुले देवकोटालाई राणाविरुद्ध लाग्नुपर्छभन्दा त्यस्तै बनिदिन्थे । आज्ञाकारी बालक भैmँ । राणा बिरोधिका लहैलहैमा लागेर वनारस हानिए । वनारसमा उनले युगवाणीको सम्पादन गरेका थिए, तर उनको दैनिकी कष्टकर थियो । चुरोट मागेरै खानु परेको थियो । वनारसमा हुँदा देवकोटालाई मलेरिया रोग लागेको थियो । त्यतिबेला उनलाई एकसय सात डिग्रीसम्म ज्वरो आएको थियो । सित्तिमित्ति त्यति उच्च ज्वरो कसैलाई आउँदैन । आए पनि बच्न मुस्किल हुन्छ । देवकोटा ज्वरोले इन्तु न चिन्तु हुँदा डुन्मुनिएर ढुंगामा बजारिएर थला परेका थिए ।
नेपाल एकेडेमी स्थापनाताका देवकोटा सदस्य बनाइए र त्यतिबेला उनले रु. ६ तलब पाउँथे । देवकोटाले नै नेपालमा गाईजात्रा मान्ने परिपाटी बसालेका हुन् । देवकोटा धेरै कलेजहरुमा प्राध्यापक बनाइए तर उनी ढिलो पुग्थे र चाँडो बाहिरिन्थे । कुनै कजेलमा तीन महिना त कुनैमा बढीमा चार महिनामात्र टिक्दथे ।
देवकोटाकै दुरदर्शिता र पहलमा अर्थात् उनी मन्त्री भएका बेला त्रिभुवन विश्वविद्यालयका लागि किर्तिपुरमा पाँच हजार रोपनीभन्दा बढी जमिन अधिग्रहण गरिएको हो । देवकोटा अत्यन्त राष्ट्रवादी थिए । भन्दथे– ‘मेरो स्वदेश नै मेरो विश्व हो, विपना हो, मेरो सत्य हो, एउटै खँदिलो अस्तित्व हो ।’
भारतका महापण्डित राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई ‘बुद्ध’ पछिका सबैभन्दा ठूला मानव अवतारका रूपमा लिएको छु ।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए । पागल ठानिएका देवकोटालाई उपचारार्थ भारतको राँचीमा एकसय पचपन्न दिनसम्म राखियो । अस्पतालका डा. बर्कले हिलले देवकोटालाई लिएर जानेलाई भनेका थिए– ‘तिमीहरुलाई पो यस अस्पतालमा राख्नुपर्ला जस्तो छ ।’ उनले थप भनेका थिए– ‘देवकोटा जस्तो मान्छे नेपालमा जन्मने नै होइन । उनी नेपालमा जन्मनु भूगोलको गल्ती हो (ज्योग्राफिकल मिस्टेक हो) ।’ ‘कविहरु मर्दछन् तर काव्य अमर छ । यसको ज्वलन्त उदाहरणहरु हुन् देवकोटाका कविताहरु’ भनेर रुसी प्रज्ञा प्रतिष्ठानको मासिक प्रकाशन ‘आजको एसिया–अफ्रिका’का सम्पादकले यस्तो अभिव्यक्ति दिएका थिए महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा ।
‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक ।’ कविता लेख्ने देवकोटा थिए । आखिर उनको मृत्यु हुनुभन्दा सोह्र घण्टाअघि रुसको रकेट चन्द्रमामा अवतरण गरेको थियो र चन्द्रयात्रीले चन्द्रमामा पाइला राखेका थिए । ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।’ यो महान उद्गार पनि देवकोटा कै हो । उनी ६ अंकको साल (वि.सं. १९६६ मा जन्मिए र ६ अंंककै साल (वि. सं. २०१६) स्वर्गे भए । उनी बेलुकीपख जन्मे र उनको मृत्यु पनि बेलुकीपख नै भएको थियो । उनको महान कृति खण्डकाव्य ‘मुनामदन’ अहिले आएर थोरै विवादमा पर्न थालेको छ । देवकोटाले मुनामदनको थिम नेवारी कथा, नाटकबाट लिएका हुन् भनेर केही अघि राष्ट्रिय स्तरका खबरपत्रिकामा लेख नै प्रकाशित भए । सर्वप्रथम नेपाली साहित्य अंग्रेजीमा अनुवाद गरी पश्चिमा देशहरुमा चिनाउने मात्र होइन अंग्रजी साहित्य नेपालीमा अनुवाद गरी पश्चिमी साहित्यको रस नेपालीहरुलाई पान गराउने महान स्रष्टा पनि हुन्, देवकोटा नै हुन् ।
एकताका देवकोटाको घरमा बिहान बेलुकाको छाकको भाततिहुन बाहेक पनि दिउँसो पटक पटक जाउलो पाक्दथ्यो । किनकि पेटका बिरामी देवकोटाको पेटको तीनचौथाई भाग काटिएको थियो । त्यसैले एकैचोटी धेरै खान हँुदैन थियो । मात्रा मिलाईमिलाई, खटाईखटाई खानु पर्दथ्यो देवकोटाले । ताकतका लागि कुखुराको मासुको सुरुवा (झोल) खाइरहन पथ्र्यो देवकोटालाई । त्यसबेला पनि काठमाडौं शहरको हावापानीभन्दा गाउँका हावापानी स्वच्छ हुने ठानिन्थ्यो । गाउँको हावापानी ग्रहण गरेर बिरामीबाट चाँडो तङ्ग्रिन देवकोटा पारिवारका दलबलसहित स्वयम्यू र सीतापाइलादेखि उत्तरको गाउँमा अवस्थित आदेश्वर महादेव मन्दिरमा निकैदिन बस्न गएका थिए । देवकोटा उप्रद्याहा पनि थिए । बलि या भोग नखाने आदेश्वर महादेव मन्दिर परिसरमा पनि देवकोटाले लुकीलुकी कुखुराको मासुको सुरुवा पकाउन लगाएर खाएका थिए । यसै विषयमा पछि त देवकोटाले ‘चिकन ब्रथ’ शीर्षकको अंग्रेजीमा निबन्ध नै लेखेका थिए ।
देवकोटाले २०१५ सालमा तत्कालीन सोभियतसंघको मध्य एसियाली क्षेत्र उज्बेकिस्तानको राजधानी ‘तासकन्द’मा आयोजित तीस राष्ट्रका विद्वान्, विदुषीहरुले भाग लिएका ‘एफ्रोएसियाली लेखक सम्मेलन’मा दिएका भाषण अति नै बौद्धिक चेतना भरिएको, गरिमायुक्त र सारगर्भित मानिन्छ । उनको सो बौद्धिक भाषणले विश्वभरका प्राज्ञहरुको दिमागमा अमीट छाप छाडेको मानिन्छ । यसैसँग रोचक प्रसंग यस्तो पनि थियो, सम्मेलनमा भाग लिनु अगाडि देवकोटाको शरीरमा दुई बोतल रगत चढाइएको थियो । पासपोर्ट र भिसा बिनै देवकोटा तासकन्द पुगेका थिए । नेपाल फर्कन पैसा नभएपछि रुसमा साहित्य रचना गरेर र सो रचनाहरु त्यहीँ बेचेर सन्तानका लागि कोशेली लिएर स्वदेश फर्केका थिए ।
देवकोटाका पुर्खाहरु पहिला भारतमा थिए । भारतबाट नेपालको अछाम छिरे । देवकोटाका बराजु पृथ्वीनारायण शाहका दरवारमा पण्डित थिए । देवकोटा डिल्लीबजार काठमाडौंको निवासी पछि बनेका हुन् ।
लक्ष्मीप्रसाद देवकोटाले पनि त्रिभुवन र महेन्द्र राजाको सत्ताको गुलियो चाट्न पाए । तर, देवकोटा निर्भिक स्वभावका थिए । सत्तासँग डराउँदैन थिए । त्यसैले उनले पारिश्रमिक रोक्कासम्मको सजाय पनि पाएका थिए । देवकोटा सम्बन्धी यस्ता रोचक, घत्लाग्दा प्रसंगहरु कति छन् कति । ठूलै किताब बन्न सक्छ, तर थिए उनी तिक्ष्ण, दुरदर्शी, उत्कृष्ट, प्रतिभावान, महान र नेपाली साहित्यका महाकवि ।
(पुस्तकहरु अध्ययनबाट)