झापा।
नेपाली सीमा मिचेर आफ्नो नक्सामा समावेश गर्दै बलमिच्याइँ गरिरहेको भारतले सीमावर्ती क्षेत्रमा गुप्तचर पठाएर सूचना संकलन गर्न थालेको छ ।
भारतविरुद्ध नेपाली जनता आक्रोशित हुन थालेपछि भारतबाट आएका गुप्तचरहरुले नेपालीलाई पैसाको प्रलोभनमा पारेर नेपालमा हुने गतिविधि संकलन गर्न शुरु गरेका हुन् । उनीहरुले एनसेल नम्बरको सिम कार्ड प्रयोग गरेर ह्वाट्सएपमार्फत सूचना दिन आग्रह गर्ने गरेको बिर्तामोडका एक व्यक्तिले नाम नबताउने शर्तमा बताए । भारतीय गुप्तचरहरुले विभिन्न साइनो लगाउने, आएर भेट्ने तथा सञ्चारमाध्यममा आएका समाचार तथा यहाँ भइरहेको गतिबिधि दिएमा मासिक रुपमा पैसा दिने प्रलोभन देखाउने गरेको बताए ।
गुप्तचरहरुले ‘बिर्तामोडमा के कार्यक्रम हुन्छ ? कुन नेता आए, के भने सबै ह्वाट्सएपमा पठाइदिनु हामी पैसा दिन्छौं’ भन्दै प्रलोभनमा पार्ने गरेको जनाइएको छ । विभिन्न माध्यमबाट सूचना संकलन गरिरहेका गुप्तचरहरुले पछिल्लो समय आफ्नो गतिबिधि बढाएको जनाइएको छ ।
यसैबीच भारतले हालै सार्वजनिक गरेको नक्सापछि नेपाली भूमि मिचेको निष्कर्षमा पुगेको समय अन्य स्थानमा पनि व्यापक रुपमा सीमा मिचिएको पाइएको छ । पश्चिम नेपालको भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक अतिक्रमण गरेर नक्सा जारी गरेको भारतीय पक्षले झापामा पनि ब्यापक रुपमा सीमा अतिक्रमण गरिरहेको छ । नेपालकै मेचीपारि गाउँ जान मेची नदीमा निर्माणाधीन अवस्थामा रहेको झोलुङ्गे पुलको पूर्वपट्टि नदीको बीचमै सीमा पिलर गाडिएको पाइएको छ ।
‘नदीको बगर छेउको खुल्ला मैदानमा हामी साना हुँदा खेल्न आउँथ्यौ’– स्थानीय युवा मिलन राईले भने– ‘त्यस बेला नदीमा कुनै सीमा पिलर थिएन, अहिले त भारतीयले मेची नदीमै तीन वटा पिलर गाडेको छ ।’ ‘भारतले नेपाली भूमि मिच्दामिच्दै अहिले बग्ने नदी सम्म ल्याई पु¥याएको छ, अब यस्तै रहिरह्यो भने नदी पारिको गाउँ पनि भारत हुन समय लाग्दैन’– उनले भने । ‘देशका नेता तथा प्रशासन मौन बसेको देख्दा अचम्म लागेर आउँछ’– उनले थपे ।
मेची नदीमै ६० फिट गहराइको तीन वटा पिलर गाडिएको स्थानीय उमेश यादवले बताए । ‘चार बर्ष अघिसम्म नदीमा कुनै पनि पिलर गाडिएको थिएन, २०७५ सालको जेठमा आएर भारतीय पक्षले पिलर गाडेको हो’– उनले भने– ‘भारतले बिस्तारै बिस्तारै नेपाली भूमि मिच्दैछ, यस विषयमा प्रहरी, प्रशासन मौन छ ।’ नदीको बीच भागमा १०३ नम्बर लेखिएको तीन वटा पिलर र नदी पारि एउटा पिलर गाडिएको छ । सो पिलर नदीमा बाढी आउँदा पनि नबगाउने खालको राखिएको छ ।
यसैबीच पहिला मेचीपारि गाउँमा एउटा पनि पिलर पनि थिएन, अहिले जताततै सानाठूला पिलर गाडिएको स्थानीय बताउँछन् । पिलर गाडिएपछि भारतीय नागरिकको दुईवटा घर नेपाली भूमिमा परेको भेटिएको छ । भारतीय नागरिक नजमुद्दिन शेख भन्छन्– ‘गाउँमा एउटा पिपलको बोट थियो, भारतीय नागरिकहरू भन्थे सीमा त्यही हो, तर नेपाली नागरिकहरू पूरा मेची खोला सीमाना हो भन्ने गथ्र्यौं ।’ ‘चार वर्षअघि दुवै देशको नापी सर्वेक्षण टोलीले सीमा छट्याएर गएपछि दुई वटा घर नेपाली भूमिमा प¥यो’– उनले भने । ‘सीमाले देश छुट्याए पनि हामी नेपाली भूमिमै बसोबास गर्दै आइरहेका छौ’– उनले भने– ‘हामी सबै सेवासुविधा भारतबाटै लिन्छौ, तर बस्छौ नेपाली भूमिमा ।’
मेची नदीको विभिन्न आठ तटीय क्षेत्रसहित झापामा एक सय ७४ हेक्टरमा सीमा विवादित छ । अहिले ती विवादित सीमा क्षेत्र भारतले आफ्नो गुगल म्यापमा समावेश गरिसकेको देखिन्छ । ११८ किलोमिटर बोर्डर क्षेत्र रहेको झापामा भद्रपुरको मेचीपुल, मेचीपारि, कचनकवलको पाठामारी, साबिक महेशपुर, काँकरभिट्टा, बारिसजोत, मदनजोत, नकलबन्दा, बाहुनडाँगीलगायतका ठाउँमा सीमा विवाद छ ।
कचनकवल गाउँपालिकाको पाठामारी क्षेत्रका करिब २० घर, मेचीनगरस्थित भान्सा खोलाका ११ परिवार बसेको नेपाली भूभाग २०५२ साल अघि नेपालमै थियो । तर, २०४३ सालतिर पिलर गाडियो र २०५२ सालमा आइपुग्दा नागरिकता र धनीपूर्जा बनाउने क्रममा पूरै भूमि भारततर्फ भइसकेको स्थानीयले बताए ।