किसानलाई आधुनिक कृषि उपकरणको प्रयोगले सहजता

0
643

लमही,

पछिल्लो समयमा खेतीका लागि कृषि उपकरणको प्रयोग हुन थालेको छ । गाउँघरमा गोरु तथा राँगाले खेत जोत्ने, धान दाइँ लगाउने चलन विस्तारै हराउँदै गएको छ ।

जिल्लामा पछिल्लो समय आधुनिक कृषि उपकरण भित्रिएसँगै खेतीपाती गर्न किसानलाई सहज भएको छ । खेती लगाउनेदेखि स्याहार्नसमेत विभिन्न कृषि उपकरणको प्रयोग बढ्दै गएको छ । किसानले धान, गहुँ चुट्ने र जोत्नसमेत ट्र्याक्टर प्रयोग गर्न थालेका छन् ।

गाउँघरमा गोरु तथा राँगा पाल्ने क्रम घटेको किसान युवराज वलीले बताउनुभयो । प्रविधि भित्रिएसँगै यसको प्रयोगले गर्दा किसानको श्रम कम लाग्ने र छिटोछरितो हुने उहाँको भनाइ छ । कृषि उपकरणले गर्दा समयमै खेतीपाती ढल्याउन सहज भएको अर्का किसान मनसरी केसीले बताउनुभयो ।

“पहिले–पहिले सात÷आठ दिनसम्म पनि खेतबारीमै काम गर्नुपथ्र्याे तर आजभोलि दुई÷तीन दिनमै खेती ढल्याउने भएको छ,” उहाँले भन्नुभयो । तुलसीपुर–१० की कमला केसीले विगतमा खेत जोत्नेदेखि धान स्याहार्न खेताला लगाउने गरे पनि यस वर्ष भने ट्र्याक्टर र थ्रेसर प्रयोग गरी बाली स्याहारेको बताउनुभयो ।

गाउँघरमा धान चुट्ने दाउने मानिसको अभाव भएका समयमा कृषि उपकरण आएपछि धेरै सजिलो भएको उहाँको भनाइ छ । उपकरण र यन्त्रको प्रयोगले कृषि कार्यमा श्रम, समय र पैसा बचत हुने किसान बताउँछन् । “एक दिनको गोरु र मानिसले रु ८०० देखि एक हजार लिने गर्छन् तर ट्र्याक्टरले भने कम लिन्छ”, अर्का किसान निर्मल वलीले भन्नुभयो ।

थ्रेसर मेसिनले धान दाउँदा प्रतिघण्टा रु दुई हजार र जोत्दा प्रतिघण्टा रु ८०० लिने गरेका उहाँको भनाइ छ । कृषि प्राविधिक यमप्रसाद पाण्डेले जिल्लामा पछिल्लो समयमा धेरैजसो किसानले विभिन्न उपकरण र यन्त्र प्रयोग गर्ने क्रम बढेको बताउनुभयो । “पहिलेजस्तो गोरु र राँगाले खेत जोत्ने, दाइँ हाल्ने चलन हराउँदै गएको छ, सबैले आधुनिक उपकरण प्रयोग गर्न थालेका छन्”, उहाँले भन्नुभयो ।

जिल्लामा धान काटने, दाउने थ्रेसर, खेत जोत्ने साना तथा ठूला ट्र्याक्टर र मकै रोप्ने तथा गोड्ने मेसिनसमेत आएका छन् । किसानले कृषि औजार प्रयोग गर्न थाले पनि आफूहरुलाई पनि भ्याइनसक्नु भएको थ्रेसर चालक विमल चौधरीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here