आजबाट पूर्वाञ्चल दैनिक २५ वर्षमा : प्रधानमन्त्री , सरकारका विभिन्न निकाय, राजनीतिक दल, संस्थाबाट बधाई तथा शुभकामना

१ मंसिर २०७६, आईतवार मा प्रकाशित

बिर्तामोड।

पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको २५ वर्ष प्रवेश गरेको छ । झापाको बिर्तामोड–१ मा मुख्य कार्यालय रही श्री अन्तु प्रकाशन प्रा. लि.द्धारा प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक पत्रिका मंसीर १ गते २४ बर्ष पूरा गरी २५ बर्षमा प्रवेश गरेको हो ।

मोफसलमा पहिलोपटक अफसेट प्रविधि भित्र्याउन सफल पूर्वाञ्चल दैनिक प्रेस काउन्सिल नेपालद्वारा ‘क’ श्रेणीमा वर्गीकृत पत्रिका हो ।

संस्थाका अध्यक्ष टोरुप प्रसाई, प्रकाशक भरतलाल गिरी र प्रधान सम्पादक एकराज गिरीले पूर्वाञ्चल रजत वर्ष प्रवेशको पूर्व सन्ध्यामा विज्ञप्ति जारी गरी मंसीर महिनामा विशेष कार्यक्रमका साथ रजत महोत्सव मनाउने जानकारी गराएका छन् ।

प्रदेश–१का विभिन्न जिल्ला तथा भारतको केही स्थानमा प्रत्यक्ष विक्री वितरण हुँदै आएको पूर्वाञ्चल दैनिकले प्रविधिको विकाससँगै purwanchaldaily.com नामक अनलाइन पोर्टलमार्फत विश्वभरका पाठकमाझ आफ्नो पहुँच कायम गर्न सफल भएको छ । यस मार्फत ताजा अपडेट र रंगीन ईपेपर मोवाइलबाटै पढ्न पाठकलाई सहज भएको छ ।

यस अवसरमा पूर्वाञ्चलले प्रकाशन गर्ने विशेषांक पनि सोही कार्यक्रममा विमोचन गर्ने व्यवस्थापक चन्द्रकान्त ढकालले जानकारी दिए । पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको २५ वर्ष प्रवेशको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका विभिन्न निकाय, राजनीतिक दल, संस्थाले बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् – ‘मोफसलमा दैनिक पत्रिका सञ्चालन गर्नु चुनौतिपूर्ण काम थियो । त्यसवेला आर्थिक रुपले मोफसलमा दैनिक पत्रिकालाई निरन्तरता दिन निक्कै कठिन थियो । तर, पूर्वाञ्चल दैनिकले यो चुनौति सहजै पार गर्दै २५ वर्षको यात्रा तय गरेको छ ।’

‘ यसका लागि पत्रिकाका प्रकाशक, सम्पादकीय टिम, कर्मचारी तथा सम्पूर्ण पाठक वर्गहरुलाई हार्दिक शुभकामना व्यक्त गदर्छु ’–प्रधानमन्त्रीले भनेका छन् ।

पत्रकारितालाई समाजको ऐनाको रुपमा चित्रण गरिएको र यसले समाजको वास्तविकतालाई उजागर गर्दै समाज परिर्वतनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रधानमन्त्री ओलीले रजत वर्षको अवसरमा शुभकामना दिएका हुन् ।

२०५२ सालबाट आफ्नो प्रकाशनको यात्रा शुरु गरेको पूर्वाञ्चल दैनिक २५ वर्षमा प्रवेश गरेको अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले पत्रिकासंग आवद्ध सबै पत्रकार तथा कर्मचारीहरुलाई बधाई सहित सफलताको शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देश पठाउँदै सञ्चारमन्त्री बास्कोटाले सुखी नेपाली समृद्ध नेपाल निर्माणमा नेपाल सरकार दृढताका साथ अगाडि बढिरहेको र समाज विकास र समृद्धिको यो अभियान पूरा गर्न राज्यको चौथो अंगका रुपमा लिइने सञ्चार जगतको भूमिका अझ महत्वपूर्ण हुने उल्लेख गरेका छन् । शुभकामना सन्देशमा सञ्चारमन्त्री बास्कोटाले पूर्वाञ्चल क्षेत्रको पत्रकारितामा नयाँ आयामसहित शुभारम्भ भएको पूर्वाञ्चल दैनिक र पूर्वाञ्चलडेली डटकमको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

त्यस्तै प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले पूर्वाञ्चल दैनिक २५ वर्षमा पुगेको जानकारी पाउँदा आफूलाई खुशी लागेको बताएका छन् । उनले शुभकामना सन्देश पठाउँदै मुख्यमन्त्री राईले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य हाँसिल गर्न प्रदेश १ सरकार क्रियाशील छ यही अभियानलाई सफल बनाउन स्वच्छ, सुखी र समुन्नत प्रदेश बनाउने प्रदेशिक मूल नाराका साथ अगाडि बढिरहेको अबस्थामा सञ्चार क्षेत्रले यो अभियानलाई अगाडि बढाउन थप टेवा पुगेको उल्लेख गरेका छन् ।

पूर्वाञ्चल दैनिकले २४ वर्षे यात्रामा विभिन्न घटना क्रमलाई आधिकारिक दस्तावेजको रुपमा जिवित पस्केको भन्दै प्रदेशका धेरै विषय वस्तुहरु समेट्दै आगामी यात्रालाई जनता बीच पु¥याउने अपेक्षा व्यक्त गरेको शुभकामना सन्देशमा भनिएको छ ।

यता प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले बिर्तामोडबाट प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक गौरवमय यात्रा पूरा गरी २५ वर्षमा प्रवेश गरेको भन्दै खुशी व्यक्त गरेका छन् । उनले शुभकामना सन्देश पठाउँदै भनेका छन् –‘आगामी दिनमा पनि स्वतन्त्र, निष्पक्ष र निर्भिक ढंगबाट सूचना सम्प्रेषणमा सकारात्कम र रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास लिएको छु ।’

त्यस्तै सूचना तथा प्रशारण विभागका महानिर्देशक कृष्ण मुरारी न्यौपानेले पूर्वाञ्चल दैनिक २५ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना सन्देश पठाउँदै खुशी व्यक्त गरेका छन् । शुभकामना सन्देशमा उनले आम पाठकमाझ तथ्यपरक सूचना, ज्ञान र मनोरञ्जन तथा देशको आर्थिक र सामाजिक विकासलाई समेत महत्वपूर्ण स्थान दिने अपेक्षा सहित उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन् ।

प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले पूर्वाञ्चल दैनिक परिवारलाई हार्दिक वधाई तथा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देश पठाउँदै कार्यवहाक अध्यक्ष श्रेष्ठले भनेका छन् – ‘पत्रकारिताको आधारभूत सिद्धान्त एवम् पत्रकारआचार संहिताको मूल मर्म बमोजिम सत्यतथ्य, वस्तुनिष्ठ, सन्तुलित, खोजमुलक समाचार सामाग्री सम्प्रेषण गरी राष्ट्र र समाजलाई गतिशील बनाउँदै लैजाने कार्यमा थप सफलता प्राप्त होस् ।’

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले नेपाली पत्रकारिता क्षेत्र चौतर्फी अभाव र चुनौतिलाई सामना गर्दै व्यवसायिक सफलताका लागि अगाडि बढिरहेका बेला झापाको बिर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिक २५ औं वर्षमा प्रवेश गरेको जानकारी पाउँदा खुशी लागेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वाञ्चल दैनिकलाई शुभकामना सन्देश पठाउँदै मुलुकको समग्र राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा अझ सशक्त ढंगले आफूलाई उभ्याउन सफल हुने विश्वास व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमा भनेका छन् – ‘प्रविधिको विकाससंगै सञ्चार माध्यममा आएको प्रगतिले जनताका हक र अधिकार स्थापित गर्न सहज भएको छ । यस पत्रिकाको वार्षिक उत्सवको अवसरमा शुभकामना प्रकट गर्दै पत्रिकाको सफलता र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’

यता पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले शुभकामना सन्देश पठाउँदै प्रेस काउन्सिलद्वारा‘क’श्रेणीमा बर्गीकृत पूर्वाञ्चल दैनिक २५ वर्षमा प्रवेश गरेको जानकारी पाउँदा आफू अत्यन्त खुशी भएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् । शुभकामना सन्देशमा भनिएको छ – पत्रिका प्रकाशन गर्नु ठूलो कुरा होइन, सही, यथार्थ र तथ्यपरक समाचार सम्प्रेषणले मात्र ठूलो महत्व राख्दछ । आगामी दिनहरुमा पत्रकारिताको मूल्य मान्यता र सिद्धान्तलाई अंगीकार गर्दै भयरहित र निष्पक्ष रुपले समाजलाई सूचनाहरुको सम्प्रेषण गर्न पूर्वाञ्चल दैनिक अझ बढी जिम्वेवार हुने छ भन्ने विश्वास लिएको छु ।’

त्यस्तै नेपाल पत्रकार महासंघ प्रदेश समिति प्रदेश १ का अध्यक्ष विक्रम लुईटेलले मोफसलमा पत्रकारिता गर्नु र सञ्चार माध्यम सञ्चालन गर्नु आफैंमा चुनौति पूर्ण भन्दै यो कठिन परिस्थितिमा मोफसलको सञ्चार माध्यम २५ वर्ष पुग्नु पत्रकारहरुका लागि गौरवको विषय भएको बताएका छन् । झापा मात्र होइन सिङ्गो राष्ट्रका लागि यो खुशीको कुरा भएको शुभकामना सन्देशमा भनिएको छ ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, प्रमुख जिल्ला अधिकारी उदयवहादुर राना, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाका अध्यक्ष चिन्तन पाठक र सचिव मणिकुमार साम्पाङ, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, राष्ट्रिय जनतापार्टी नेपालका संयोजक सूर्यनारायण गणेश, राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष अम्वरवहादुर विष्ट र सचिव केशवप्रसाद ओझा, कवि राजेन्द्र सलभ, नेपाल प्रेस युनियन झापाकी अध्यक्ष इन्द्र पूर्वेली, संघीय पत्रकार मञ्च नेपालका संयोजक दीलकुमार लावती, प्रेस नेपाल जिल्ला समिति झापाका अध्यक्ष देशराज नेम्वाङ लगायत विभिन्न संघ संस्थाले पूर्वाञ्चललाई शुभकामना दिएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

1 COMMENT

  1. पुर्वान्चल पत्रीकाको रजत जयन्तिको उपलक्ष्यमा हार्दिक शुभकामना साथै आगामी दिनमा पनि यसरिनै सबैको बिस्वास जित्दै राष्ट्रको चौथो आङ्गको रुपमा ससक्तरुपमा भुमिका निभवोस!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here