(पुस्तक समिक्षा)
भीम दहाल,
कवि मित्रप्रसाद दाहाल (१९९९) झापाली साहित्याकाशका सफल साहित्यसेवी हुन् । उनले वि.सं. २०२२ देखि नै फुटकर कविता लेखनबाट साहित्य यात्रा प्रारम्भ गरेका महाकाव्यकार दाहाल उमेरले जति वार्धक्य प्राप्त गर्छ उनी त्यति नै साहित्य सिर्जनाको बगैँचामा रमाउँछन्, रसाउँछन् । समग्र साहित्यिक रचनाका दृष्टिले आठौँ र महाकाव्यिक रचनाका दृष्टिले चौथो साहित्यसुमनका रुपमा उनले ‘आमा’ (२०७६) लाई पाठकसामु ल्याएका छन् । उनले यसअघि नै ‘चन्द्रहंस’ (२०६४), ‘श्रीवत्स’ (२०६४) र ’मल्लिका’ (२०७४) महाकाव्यको रचना र प्रकाशन गरेका छन् ।
‘आमा’ (२०७६) अर्थात् कवि मित्रप्रसादको चौथो महाकाव्यमा आफ्नी आमा दिवङ्गत अम्बिकादेवी दाहाललाई वण्र्य व्यक्तित्वका रुपमा उभ्याइएको छ । २०६१ सालमा आमाको निधन भएपछि कविहृदयमा उकुसमुकुस बनेको भावसलिल २०७६ मा आएर वहन थाल्छ । यसमा पूर्वीय काव्य परम्पराको आदर्श मूल्यवक्तालाई यथारुप प्रयोग गर्ने प्रयास गरिएको छ । काव्यको प्रारम्भ नमस्कारात्मक, आशीर्वादात्मक मङ्गलाचरणको प्रयोगबाट भएको छ । महाकाव्यमा शास्त्रीय वार्णिक छन्दहरुको मनोरम प्रस्तुति रहेको छ । १७ वटा शास्त्रीय छन्दको लयात्मक सौन्दर्यभित्र कवि दाहालले महाकाव्यको कार्यलाई १७ सर्ग र १५० पृष्ठसम्म पु¥याएका छन् ।
प्रस्तावना, काव्यतालिका, छन्दविवरण जस्ता शीर्षक राखेर नवोद्घाटन गर्दै काव्यका बारेमा अत्यन्त सक्षिप्त जानकारी दिने काम समेत कवि स्वयम्ले गरेका छन् । महाकाव्यमा वर्णनीय र काव्यिक संरचनाका आयाममा समेटिनुपर्ने सबै पक्षहरु जम्मा ८०८ श्लोक संख्यामा परिपूर्ण बनेर प्रस्तुत भएका छन् । अन्य विभिन्न सन्दर्भमा ४४ वटा श्लोकहरु आएका छन् र ती सर्ग संरचनाको दायरा बाहिर छन् । आमाप्रतिको समर्पण र सम्मानको जिउँदो नमूना हो ‘आमा’ महाकाव्य । इलामको मनोरम प्राकृतिक वातावरणमा जन्मिएको काव्यकारकी आमाको बाल विवाह, सौतामाथि दोस्रो पत्नीका रुपमा विवाह गर्नुपर्ने बाध्यता, उमेरको अमिल्दो विवाह जस्ता परम्परागत कुप्रथाको सिकार बनेकी अम्बिकाको जीवन्त जीवन भोगाइ र कारुणिक विवशताले महाकाव्य आप्लावित छ ।
आफन्तबाट परास्त बनेर पेट भर्नका लागि आसाम जानुपर्ने अर्को कठोर यथार्थको सामना गर्नु अम्बिकाको चानचुने हिम्मत हुँदै होइन । बेमेल वैवाहिक बाध्यताले लेखककी आमालाई तारूण्यावस्थामै विधवाको वज्र बजारिदिन्छ । यस्तो दुःखद् भोगाइले पाठक एक पटक स्तम्भित बन्न पुग्छ । प्रवासी भूमिमा आफन्तविहीन बनेर र भएका आफन्तबाट समेत निरन्तर असहयोग मात्र भोगेर एउटी विधवाले कुन जीवनरसको दर्शनबाट भविष्य देखिन्छन् पाठक अनुमान लाउन सक्तैन । काव्यिक घटनाक्रममा लेखकले मातृत्वको सम्मानित वंश विस्तार गरेका छन् ।
आमाको जन्मकुलको हार्दिक परम्परालाई पुस्तागत रुपमा विस्तार गर्नु र आमाका मावलीको वंश परम्पराको समेत उद्घाटन गर्नु मातृत्व कुलप्रतिको उच्च सम्मान हो । यसले के देखाउँछ भने कवि दाहाल आमाका बारेमा लेख्न खोज्नेलाई सुन्दरतम् नमूना हो । यस सन्दर्भमा कवि भन्छन्– ‘आमा जन्मदिने र जन्मभूमिको गर्दैन जो सम्झना त्यसको जन्म छ व्यर्थ यो जगतमा त्यै हो कृतघ्नीय हा ।’ वंशावलीको इतिहास लेखनमा उपयोगी बन्न सक्ने ‘आमा’ महाकाव्यले इलाम, झापा, आसाम, बनारस जस्ता ठाउँहरुको चित्रण गरेको छ । स्थानीयताको जीवन्त प्रस्तुति, कलाकौशल, संस्कृति, रीतिरिवाज, कृषि, व्यापार, मानवीय सम्बन्ध, सेवा, उपकार, धोका जस्ता अनेकौँ कुराको सजीव अभिव्यक्तिले प्रस्तुत महाकाव्य चमत्कृत बनेको छ ।
यसमा राणाकालीन सांस्कृतिक सन्दर्भ समस्याको जड बनेर आएको प्रष्ट हुन्छ । बहुविवाह, अनमेल विवाह, बालविवाह जस्ता अनेकौं काँडाहरुको घोचाइलाई नारीले शिरोधार्य गर्नुपर्ने कटु भोगाइ राणाशासन र संस्कृतिकै उपज हुन् । तत्कालीन सामाजिक परिवेशको शैक्षिक चेतना, लैङ्गिक विषमता, सौतेनी सन्तानसँगको मनोमालिन्य, धार्मिक विकृति आदि अनेकौँ सन्दर्भहरु महाकाव्यलाई यथार्थको निकट बनाउने साधनका रुपमा प्रयुक्त छन् । एउटा संघर्षशील व्यक्तिको शैक्षिक अभियान, उत्प्रेरणा जस्ता लेखनका निजी पक्षहरु यथास्थानमा उपयुक्त प्रतीत हुन्छन् । पारिवारिक दायित्व सम्हालेपछि लेखक र लेखककी आमालाई आइपरेका आर्थिक सङ्कट निकै मर्माहत बनाउनेखालका छन् । सम्बन्धगत खटपटी, विषाक्त खानपिनले परिवारमा आएको आपद्, बसाइँसराइ, अभाव, पीडा र छट्पटीको जीवन भोगाइले हरेक पाठकहरुलाई जिजीविषा पैदा गराउँछ ।
‘आमा’ महाकाव्य नेपाली राष्ट्रियता र नेपाल भूमिको गौरवगानका दृष्टिले समेत पठनीय छ । आसाम र बनारसमा बस्ता होस् वा इलामेली प्रकृतिको चित्रण गर्दा होस्, लेखकले राष्ट्रिय भावधारालाई नदीका रूपका प्रवाहित गरेका छन् । आमालाई स्मृतिकेन्द्रका राखेर रचना गरेको यस महाकाव्यमा लेखककी दिवङ्गत पत्नी ताराको समेत चर्चा भएको छ । यस दृष्टिले महाकाव्य शोकको प्रस्तुतिमा अल्झेको अनुभव हुन सक्छ, तर समग्र पठनपछि हेर्दा शोकबाट माथि उठेर महाकाव्यले विराट सन्दर्भ अँगालेको प्रस्ट हुन्छ । यसमा मातृवियोग र पत्नीवियोगका कारण कविमनमा उत्पन्न नोस्टाल्जियाको समेत प्रयोग पाइन्छ ।
एकातर्फ आफन्तको वियोग र अर्कोतर्फ प्रवासी भूमिको बसोबास, यी दुबै भोगाइले कविलाई सुर्ता र चिन्ताको मझेरीमा पु¥याएका छन् । कविमा एक प्रकारले मानसिक संघातका कारण अभिघात बन्न पुगेको पनि यहाँ देख्न सकिन्छ । प्रवासी भूमिमा बसेर भोगेको जीवनको मार्मिकताले झण्डै–झण्डै आप्रवासी लेखनको झलक प्रकट गरिदिन्छ । यी विविध विषयगत र प्रस्तुतिगत तरिकाका कारण ‘आमा’ महाकाव्य नायिकाकेन्द्री, वण्र्य विषयसम्बद्ध, शीर्षकीकरणको कथ्यपक्षसँग सुन्दर सामञ्जस्य भएको पाइन्छ ।
कतिपय सन्दर्भमा सूत्र घटनाको तारतम्य छुटेको देख्न सकिने ‘आमा’ महाकाव्य वंश परम्पराको अतिशय प्रस्तुतिले नै कतै बिरसिलो देखापर्न सक्छ, तर छन्दगत माधुर्यका कारण त्यो पक्ष गौण बनिदिन्छ । बाह«ौं सर्गपछि महाकाव्य भाव, गाथा, लेखन कला आदिबाट उत्कर्षमा पुगेको देखिन्छ । कतै–कतै मानक शब्दको अमानक प्रयोग पाइनु, छन्दपूरणको हतारो देखापर्नु, अघिल्ला पछिल्ला सर्गको सन्दर्भलाई जोड्ने प्रतिबद्धता दोहोरिनु जस्ता सीमा पक्ष हुँदाहुँदै पनि छन्दगत माधुर्य, छन्दगत विविधता, सरल शब्द चयन, स्वाभाविक वर्णनशैली, स्वभावोक्ति, दृष्टान्त, रुपक, उपमा जस्ता कलागत पक्षका कारण महाकाव्य पठनीय छ ।
(समीक्षक कनकाई मावि सुरुङ्गाका शिक्षक हुन् ।)
Keep it going sir