झापा।

झापाको मेचीनगरमा बुधबारदेखि तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव शुरु भएको छ ।
पर्यटन वर्ष २०२० शुभारम्भको पूर्वसन्ध्यामा मेची उद्योग वाणिज्य संघको आयोजनामा मेचीनगको धुलाबारीमा शुरु महोत्सवको एक समारोहका बीच प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घघाटन गरे ।
गर्दै मुख्यमन्त्री राई नीजि क्षेत्रसंग हातेमालो गर्दै अघि बढ्न प्रदेश सरकार तयार रहेको उल्लेख गरे । उनले प्रदेश–१ सबै क्षेत्रको सम्भावना बोकेको क्षेत्र भन्दै पर्यटन वर्ष सफल बनाउन सबै लाग्नुपर्ने धारणा ब्यक्त गरे ।
मुख्यमन्त्री राईले सुखी नेपाली, समृद्ध नेपलको सपना साकार पार्न अन्तर्राष्टियस्तरको औद्योगिक व्यापारिक महोत्सवहरुले निकै ठूलो सहयोग पुर्याउने उल्लेख गरे । भ्रमण वर्षको पूर्वसन्ध्यामा महोत्सव आयोजना गरेर विदेशी पर्यटक भित्र्याउन मेची उद्योग वाणिज्य संघले आधारशीला तयार गरेको भन्दै संघको प्रशंसा गरे ।
पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा देशी विदेशी खाद्यान्न, लत्ताकपडालगायतका वस्तु तथा सेवा प्राप्त गर्नसक्ने आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न खाले वस्तु तथा सेवाका २१० स्टल रहेका छन् ।
तीमध्ये १४ वटा बंगलादेशी, ५ वटा भारत र दुईवटा पाकिस्तानको स्टल रहेको महोत्सवको स्टल संयोजक राजुकुमार पोद्दारले जानकारी दिए । यसका साथै मनोरञ्जन तर्फ रोटेपिङ,चाकाचुलीलयातका मनोरञ्जनात्मक खेल तमासा रहेका छन् भने दैनिक राष्ट्रियस्तरका कलाकारको प्रस्तुति रहने बताइएको छ ।
महोत्सवमा नेपालको उद्योग व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा आर्थिक क्षेत्र सम्बन्धित अनतरक्रिया, संभाषण, प्यानल डिस्कसन, विदेशी उद्योगी व्यापारीहरुसँग छलफलका कार्यक्रम पनि समावेश गरिएको संघका महोत्सव आयोजक समितिका संयोजक भूमि पौडेलले जानकारी दिए ।
महोत्सवमा हेलिकोप्टर मुख्य आकर्षणको रुपमा रहेको छ । इच्छुकले हेलिकोप्टबाट महोत्सव परिसरलगायत झापाको दृश्यावलोकन गर्न सक्नेछन् भने ताप्लेजुङको पाथीभरा दर्शन गर्नसक्ने जनाइएको छ । त्यस्तै महोत्सवमा नेपालका प्रख्यात कृषि उपजहरु पनि स्टलको रुपमा रहेका छन् । कर्णाली अञ्चलको जम्लाको मार्सी चामलदेखि इलामको हिमाली क्षेत्र जौबारीमा यसैवर्षदेखि उत्पादन शुरु भएको बहुमूल्य वनस्पति केसरको स्टल रहेको आयोजकले जनाएको छ ।
उद्घाटन समारोहमा प्रदेशसभा सदस्य गोपाल बुढाथोकी, प्रदेशसभा सदस्य राधा थापा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मेला महोत्सव समितिका संयोजक दिलसुन्दर श्रेष्ठ, महासंघका प्रदेश नं १ का अध्यक्ष नरेन्द्रकुमार खड्का, नेपाली कांग्रेस झापा उपसभापति राम कट्टेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
महोत्सवको उद्घाटन हुँदै गर्दा आकाशमा हेलिकोप्टरबाट पुष्पवर्षा गरिएको थियो । संघका अध्यक्ष ऋषिराज तिम्सिनाको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन महासचिव ध्रुव कनालले गरेका थिए ।






























