सम्झनामा गोपीकृष्ण खनाल

१९ पुष २०७६, शनिबार मा प्रकाशित

प्रेमप्रकाश ‘फलाहारी’

आजभन्दा करिब ३५÷३६ बर्ष अगाडिको कुरा हो म पाँचथरबाट झापा आएको पनि १०÷१२ बर्ष बितिसकेको थियो । त्योबेला म ज्यामीरगढी–धुलाबारी गर्दै खेतीपाती ब्यापार व्यवसाय र समाज सेवाका क्षेत्रमा बराबर काम गर्दै थिए । बेलाबखत केही भद्रभलाद्मी जनहरुसँग यदाकदा भेटघाट बोलचाल र चिनजान हुने गर्दथ्यो । सोही क्रममा कहिले बिर्तामोड कहिले धुलाबारी र काँकरभिट्टातिर ठूला–ठूला साहित्यिक जमघट हँुदा कविहरुका रचना सुन्ने इच्छाले म पनि ती भीडमा मिसिन पुग्दथे ।

प्रायः धार्मिक र साहित्यिक कार्यक्रममा कोमलप्रसाद पोखरेल, रोहिणीबिलास लुइँटेल, कृष्ण धराबासी, केशव आचार्य, तेराख, राधिका राय, पुन्यप्रसाद खरेल, चुडामणि रेग्मी, केशवराज खनाल, डिकमान विरही, गोपीकृष्ण खनालको नाम सुन्ने देख्ने गरे पनि दोहोरो परिचय आदान–प्रदान हुने अवसर मिलेको थिएन । तर, धार्मिक साहित्यिक र पत्रकारीका क्षेत्रमा काम गर्ने गोपीकृष्ण खनाल यिनै हुन् भनेर दुई–चार बर्ष अघिदेखि नै म जान्दथेँ । त्यो बेला पूर्व परीक्षा नियन्त्रक दाताराम शर्मासँग पनि परपरै परिचय भइसकेको थियो ।

वि. सं. २०४३ फागुनतिरको कुरा हो– उहाँले मलाई जहिले जहाँ भेट्दा पनि बोलाउने बोल्ने र सौहार्दपूर्वक कुराकानी गर्नेे गर्नुहुन्थ्यो । त्यहीबेला झापामा भएको कोटीहोमपछि सरले मलाई एकदिन घरमा बोलाउनुभयो । म उहाँको घर अनारमनी–४ मा एकदिन बिहानै गए । दाताराम शर्मा अहिलेको घरभन्दा तल्लोपट्टि सानो चिटिक्कपरेको काठ र टीनले बनेको घरमा बस्नुहुन्थ्यो (सायद त्यो घर अहिले पनि छ होला) म त्यहाँ पुगेँ । त्यो बेला एकजना राष्ट्रिय पोशाक लगाएका गोरो वर्णका हँसिला फस्र्याइला, जोसिला अन्दाजी साडे ५ फिट अग्ला व्यक्तित्व जो गोपीकृष्ण खनाल हुन । उनीसँग त्यही भेट भयो हामी दुईको दोहोरो परिचय गर्ने÷गराउने काम दाताराम शर्माले गर्नुभयो । त्यो क्षण म कहिल्यै पनि भुल्न सक्दिन त्यो दिन त्यहाँ लामो समय धर्म–संस्कृति बिशेष त सनातन धर्मका बिषयमा कुराकानी भएको थियो । त्यो दिनको खाना पनि हामीलाई त्यहाँ गुरुआमा राधिका शर्माले गराउनुभएको थियो । त्यसपछि गोपीकृष्ण खनाल र मेरो परिचय गाढा भयो र भेटघाट बाक्लिँदै जान थालो ।

एकपटक सनातन धर्म सेवा समिति केन्द्रीय अध्यक्ष आचार्य खेमराज केशव शरणलनाई काठमाडौंबाट ल्याएर सनातन धर्म सेवा समिति झापाको आयोजनामा बिर्तामोडमा भागवत पुराण लगाउने निर्णय भयो र पुराण भब्य भयो । त्यो बेलासम्म मैले सार्वजनिक पुराण देखेको थिइन । त्यो पुराण दाताराम शर्माको अध्यक्षतामा भएको थियो भने गोपीकृष्ण खनाल सचिवमा हुनुहुन्थ्यो । पुराणमा मलाई पनि निम्ता भयो र गएको थिए । त्यहाँ गोपीजी र दाताराम शर्माको दौडधूप, सारा व्यवस्थापनमा खटाई देखेपछि नै मलाई पनि निक्कै जोस जाँगर भरिन थाल्यो । त्यो पुराणमा उहाँहरुसग मेरो राम्रो घुलमेल भयो त्यसपछि म सनातन धर्म सेवा समितिको साधारणसभाबाट एकपटक सहसचिवको पदमा निर्वाचित भए र त्यसपछि आचार्य पुष्पलाल निरौला अध्यक्ष हँुदा म फेरि उपाध्यक्षमा निर्वाचित भए र दुई कार्यकाल सेवा गर्ने अवसर मिलेको थियो ।

यसरी दर्जनौं संघ–संस्थाहरूमा आबद्ध भएका गोपीकृष्ण खनाल र मेरो गहिरो मित्रता भएको थियो । उहाँ राष्ट्र, राष्ट्रियता, संस्कार, संस्कृति मूल्यमान्यता र आदर्शको पक्षपाति पनि हुनुहुन्थ्यो । तर, उहाँको राजनीतिक बिचारधारा भने राप्रपा पार्टीमा सक्रिय कार्यकर्ता छर्लङ्गै सबैले चिन्नेजान्ने गर्दथे । प्रायः उहाँको पत्रकारिता पनि सोही अनुरूप हुन्थ्यो । जोसिलो र जाँगरिलोपन उहाँमा थियो र प्रष्टवक्ता पनि हुनुहुन्थ्यो । तर, कुनै काम समाएपछि त्यो पार नलाईकन बीचमा कहिल्यै पनि छोड्नुहुन्नथ्यो । कुनै कुरा जचेन र पचेन भने त्यसको खुलेरै बिमति जनाउने बानी उहाँमा थियो ।
वि.सं. २०५० मा मेरो संयोजकत्वमा मेची–कोशी खण्डको हिमाली यात्रा भयो । मैले त्यो बेलाको यात्राबाट एउटा यात्रा संस्मरणात्मक ‘हिमाली यात्रा’ पहिलो कृति निकाल्ने निश्चय गरे र म उहाँको साथ सहयोग माग्न उहाँको नयाँ कामना प्रेसमा पुगँे । त्यो बेला मेरा बाल्यकालका परम् मित्र डा. पुण्यप्रसाद सिग्देलसँग त्यही प्रेसमा भेट भयो र मलाई के खोज्छस् कानु आँखो भन्ने उक्ति सार्थक भयो । पुण्यजीले मेरो त्यो हिमाली यात्रा कृति निःस्वार्थ भावले सम्पादन गरिदिनुभयो । त्यो प्रकाशनमा गरेको सहयोग स्मरणीय भयो ।

यसरी गोपीजीसँग जाँदा अनेक कामहरु सिद्ध हुन्थे । त्यस्तै नायव बडागुरुज्यू प्रा. डा. माधबप्रसाद भट्टराई झापा आएर राष्ट्रिय धर्म सभा नेपाल झापाको समिति गठन गर्दा मलाई अध्यक्षमा चयन गर्नुभयो र समिति चलायमान गर्नुपर्ने भयो । त्यो समितिमा मैले गोपीकृष्ण खनाललाई जिल्ला सदस्य छनौट गरेँ । यसमा दुई कार्यकाल सँगसँगै बसेर काम ग¥यौ । त्यस्तै त्रिफलामा मोतीको युुग ल्याउने अभिया नै लिएर समालोचक गणेशबहादुर प्रसाई आउनुभयो त्यसमा त गोपीकृष्ण खनालको चोतर्फी सहयोग हामीले लिएका थियौं र उहालाई संस्थापक सदस्यको पदले विभूषित पनि गरियो । त्यो बेलाका कार्यक्रम पुस्तिका निकाल्ने काममा पूरा सहयोग गर्नुभयो ।

खनालको काम गर्ने शैली नै भिन्न थियो, सारा तथ्याङ्क राख्ने गर्नुहुन्थ्यो । हरेक कामको लेखा राख्ने कला उहाँमा थियो । उहाँको रुचीको मूल बिषय पत्रकारिता थियो । भारतको शिलगढीबाट निस्कने बाडुली द्वैमासिकमा वि.सं. २०२८ अथवा २४ बर्ष को उमेरदेखि पत्रकारितामा प्रवेश भएको देखिन्छ । विश्वदीप, भानु, रहर, नयाँ विचार, मनकामना, नयाँ कामना, मोती समस्या पूर्ति लगायत थुप्रै पत्रपत्रिकाहरूमा काम गरेर पत्रकारिताको कित्ता मजबुत पार्नुभएको थियो । त्यस्तै तीन वटा प्रकाशित र दुईवटा प्रकाशोन्मुख साहित्यिक कृति रचना सिर्जना गर्नुभएको पाइन्छ ।

उहाँका फुटकर बिभिन्न कृतिहरु प्रकाशित, अप्रकाशित अनगिन्ती रचनाहरू खोज तलास गर्दा एउटा ठूलै स्मृति काब्य बन्न सक्छ भन्ने लाग्छ । दुई दर्जन जति धार्मिक, साहित्यिक, शैक्षिक र समसामयिक संघ–संस्थाहरुमा आबद्ध रहेर सक्रीय सेवा प्रदान गर्नुभएको छ भने उहाँले दर्जन संघ–संस्थाबाट सम्मान र आधा दर्जनभन्दा बढी उच्च स्थानबाट बिभूषित पनि हुनु भएको छ । “

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here