प्रविधिसंग विद्यार्थीलाई जोड्न सके सिकाई उपलब्धिमुलक हुने

७ माघ २०७६, मंगलवार मा प्रकाशित

दिपेन लावती / शान्तिनगर ।

सामुदायिक विद्यालयको पाठ्यक्रम सिर्जनात्मक र ब्यवहारिक हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । मानव अधिकार समुह बुद्धशान्तिले आयोजना गरेको ‘शिक्षाको अधिकार सम्वन्धि शिक्षक,अभिभावक,विद्यार्थी र सरोकारवालाहरुवीच एक दिने अन्तरक्रिया कार्यक्रम’मा उनीहरुले प्रविधिसंग विद्यर्थीलाई जोड्न सके सिकाई उपलब्धिमुलक हुने बताएका छन् ।

बुद्धशान्ति गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पालिका भित्रका १६ वटा सामुदायिक विद्यालयका प्र.अ.,ब्यवस्थापन समितिका अध्यक्ष, अभिभावक समितिका संयोजक र विद्यार्थीहरुको सहभागिता रहेको थियो । गाउँपालिका भित्रका सामुदायिक विद्यालयको शैक्षिक, भौतिक गुणस्तर सुधार्न र उत्तरदायि बनाउन आयोजना गरिएको कार्यक्रममा पालिकाका जिम्वेवार तहका ब्यक्तित्वहरुको भने उपस्थिति रहेन ।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सातवटै वडाका वडाध्यक्षलाई कार्यक्रममा बोलाइएको थियो । ६ नम्वर वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक शम्भुप्रसाद पौड्यालबाहेक अन्य जिम्वेवार जनप्रतिनीधिले कार्य ब्यस्तताको कारण देखाउँदै उपस्थित हुन मानेनन् ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिका शिक्षा प्रमुख कमल निरौलाले पालिका भित्रका सामुदायिक, संस्थागत र गुरुकुल विद्यालयको बर्तमान अवस्थाको बारेमा जानकारी गराएपछि शुरु भएको अन्तरक्रिया कार्यक्रममा गडिगाउँ माविका प्र.अ.घनाश्याम आचार्यले अवको सिकाई प्राविधिक युगको बताए । उनले विद्यालयको भौतिक सुधारका साथै बैज्ञानिक, ब्यवहारिक र प्राविधिक सिकाई आजको आवश्यक्ता भएकाले गाउँपालिकाले स्रोतको सहि परिचालन गर्न सके विद्यार्थीहरुको क्षमता सिर्जनात्मक हुनेमा जोड दिए । उनका अनुसार अपाङ्गमैत्री विद्यालय, छात्र÷छात्रा सौचालय, खेलमैदान, भाषागत ज्ञान, विद्यार्थीहरुको क्षमता अनुसारको पठनपाठन गराउन सकेमात्र योग्य जनशक्ति उत्पादन हुनेछ ।

त्यस्तै, त्रिभुवन माविका प्र.अ.कुमार आचार्यले अहिलेको पठनपाठन विद्यार्थीहरुको लागि निन्द्राको औषधि भएको टिप्पणी गरे । एउटै शिक्षकले फरक÷फरक विषय पठाउनुपर्ने बाध्यात्मक परिस्थितिमा सरकारले दरवन्दि परिपुर्ती गर्न नसकेको गुनासो गरे । सामुदायिक विद्यालयको पाठ्यक्रमको पठनपाठनले विद्यार्थी अब्बल नहुने भन्दै उनले अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई सहभागिता गराउन सरकारले उपलब्ध गराएको स्रोतले नपुग्ने भन्दै गाउँपालिकाको ध्यानाकर्षण गराए ।

बर्ने माविका शिक्षक केसी श्रेष्ठले विद्यालय बालमैत्री र सिर्जनशिल सिकाईको थलोको रुपमा विकास गर्नु पर्ने बताए । संस्थागत विद्यालयको पाठ्यक्रम मोटो र राम्रो कागजमा हुने तर सामुदायिक विद्यालयको पाठ्यक्रम पातलो कागजमा हुने भएकाले पठनपाठनमा विद्यार्थीको रुची कम हुने गरेको बताए । उनले भने, ‘शिक्षक र विद्यार्थीलाई उत्प्रेरणा र मुल्याङ्कन गर्न सके पढाईको गुणस्तर उकासिन धेरै समय लाग्दैन् । अव रटाउने शिक्षण सिकाई कम गर्नुपर्छ ।’ यसका साथै विद्यालयमा पुस्तकालय,खेलकुदका सामाग्री, पानीको ब्यवस्थापन, कम्प्युटर लगायतका सेवा सुविधा हुने हो भने सामुदायिक विद्यालयका विद्यार्थी पढाईसंगै अतिरिक्त क्रियाकलापमा अब्बल हुने बताए ।

बुद्ध आदर्श माविका विद्यार्थी सञ्जोग दाहालले कितावी ज्ञानसंगै ब्यवहारिक सिकाईले मात्र उपलब्धिमुलक हुने बताए । कम्प्युटर छ, शिक्षक छैन् । प्रतिभा छ, निखार्ने वातावरण छैन् भन्दै उनले विद्यालय र सम्वन्धित निकायको ध्यान जान जरुरी रहेको औल्याए ।

राष्ट्रिय विजय माविका प्र.अ. रामप्रसाद तिम्सीनाले सामुदायिक विद्यालय गरिव, निमुखाका छोराछोरी पठ्ने थलोको रुपमा विकास हुन लागेको भन्दै चिन्ता ब्यक्त गरे । नेपाल सरकारले मावि सञ्चालनका लागि अनुमति दिएको छ तर, शिक्षक पदपुर्ती गर्न नसक्दा पठनपाठन गर्न असजिलो छ उनले भने । पत्रकार अनिल बाग्लेले विद्यालयको शैक्षिक, भौतिक गुणस्तरसंगै शिक्षकहरुको ब्यवहार र त्यहाँको वातावरणको बारेमा मुल्याङ्कन गर्नुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत इन्द्र चापागाँइले शिक्षाका विषयमा उठेका सवालको गाउँपालिकाले सकारात्मक ढंगले लिएको बताए । उनले भने,‘गाउँपालिकाको शिक्षा ऐनको तयारी गरिरहदाँ दवाव र भीडबाट आएको सुझाव भन्दा अन्तरक्रियाबाट आएको निष्कर्ष राम्रो हो,यो प्रचलनले निरन्तरता पाउनुपर्छ । अव बौद्धिक, विज्ञ,राजनीतिक दलका प्रतिनीधि र सरोकारवालाहरुसंग विषयगत र समूहगत ढंगले छलफल गरि आजको अन्तरक्रिया कार्यक्रमबाट आएका राम्रा विषयलाई समेटेर जानेछौ ।’

सामाजिक विकास समितिका संयोजक शम्भु पौड्यालले संविधानले तोकेको नीति नियम लागु गर्न प्रयासरत रहेको बताए । उनले भने,‘स्थानीय पाठ्यक्रम निर्माणको चरणमा छौ, विज्ञहरुसंगको छलफललाई अघि बढाउने गाउँपालिकाको तयारी छ । पुस्तकको कागजको गुणस्तर राम्रो बनाउने राष्ट्रिय नीति आइसकेको छ, त्यो अनुसार पेपर ब्यवस्थापन गर्नेछौ । बर्ष र लक्ष्य तोकेर गुरुयोजना बनाउने तयारी छ ।’ उनका अनुसार अंग्रेजी शिक्षणले मात्र शैक्षिक गुणस्तर माथि उठ्ने हैन, क्षमता अनुसार अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुको सहभागिता बढाउनु पर्छ । गाउँपालिका शिक्षा प्रमुख निरौलाले छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको सहयोगमा सञ्चालित अन्तरक्रिया कार्यक्रममा इन्सेक झापाका प्रतिनीति नरेस खातीले कार्यक्रमको विषयमा जानकारी गराए । मानव अधिकार समूह बुद्धशान्तिका अध्यक्ष देवकुमारी सेर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा समूहका कोषाध्यक्ष सुशिला रिसालले धन्यवादसहित कृतज्ञता प्रकट गरेको कार्यक्रमको सहजीकरण समूह सचिव निलमणी न्यौपानेले गरेका थिए ।

बुद्धशान्ति गाउँपालिका भित्र १६ वटा सामुदायिक, १७ वटा संस्थागत र एउटा गुरुकुल विद्यालय रहेका छन् । जहाँ ६ हजार ९ सय ४७ जना विद्यार्थी अध्ययरत रहेको शिक्षा शाखाले दिएको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here