दैनिक एक लाख सिलिण्डर ग्यास भित्रिँदै, लाइन बस्‍नुपर्ने अवस्था नआउने

0
1122

काठमाडौं,

नेपाल आयल निगमले प्रतिदिन १ लाख सिलिण्डर ग्यास नेपाल भित्रिरहेकाले लाइन बस्नु पर्ने अवस्था नआउने बताएको छ।

कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त बनिरहेका बेला डिजेल, पेट्रोल र ग्यासलगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने भन्दै उपभोक्ता आतंकित बनेका बेला निगमले यस्तो बताएको हो।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आइतबार रक्सौल नाकाबाट मात्रै ८६ बुलेट ग्यास भन्सार पास भएर नेपाल आउने क्रममा रहेको उल्लेख गर्दै काठमाडौं उपत्यकामा ३८ वटा बुलेट आउने बताए। ‘आज मात्रै रक्सौलबाट ८६ बुलेट भन्सार पास भएर आउने क्रममा छन् ।

त्यो भनेको १२ सय ८५ लिटर अर्थात १ लाख सिलिण्डर हो। काठमाडौंका लागि ३८ र बाहिरका लागि ४८ वटा बुलेट छन्’ उनले भने ‘त्योबाहेक भैरहवा, नेपालगञ्ज, काकडभित्ता र धनगढीबाट पनि भित्रिने गरेको छ।’

निर्देशक पौडेलले फागुन २८ र २९ गते ३ सय १ बुलेट अर्थात् ३ लाख ७५ हजार सिलिण्डर नेपाल भित्रिएको बताए। ग्यासको भण्डारण नभएका कारण माग बढी हुनेबित्तिकै केही समस्या देखिने भए पनि अभाव नै नहुने उनको भनाइ छ। विपदको समयमा बजारमा कृत्रिम अभावका घटनाहरू हुने गरेको उनले स्वीकार गरे।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here