मकैको बोटमा घोगा छ, दाना छैन

७ चैत्र २०७६, शुक्रबार मा प्रकाशित

माइधार।

शिवसताक्षीका किसानले लगाएको हिउँदे मकैमा दाना नलागेपछि गाईभैंसीलाई खुवाउन थालेका छन् । हाइब्रिड टि एक्स तीन सय ६९ जातको मकैको घोगामा दाना नलागेपछि गाई–भैंसीलाई खुवाउन थालेको किसानले बताएका छन् ।

बंैक तथा वित्तीय संस्थाबाट कर्जा लिएर मकैखेती गरेका किसानले मकैको घोगामा दाना नलागेपछि लगानी डुबेको गुनासो गरेका छन् । शिवसताक्षी–१० को माइधार र टेक्रा लगायतका स्थानका आठ हेक्टर क्षेत्रमा रोपिएको मकैको घोगामा दाना नलागेको हो । कृषि प्राविधिकले किसानको बारीमा गएर अनुगमन गर्दा मकैको बोटमा खोया मात्र भेट्टाएका थिए ।

माइधार र टेक्रा क्षेत्रका किसानले सुरुङ्गाको एक पसलबाट बीऊ खरिद गरेर लगेका थिए । किसानको गुनासो आएपछि अनुगमनमा जाँदा मकैको बोट राम्रो देखिए पनि घोगामा दाना नफलेको शिवसताक्षी नगरपालिका कृषि शाखाकी कर्मचारी जानुका श्रेष्ठले बताइन् । मकैको घोगामा दाना नलागेपछि किसानहरु मकैको बोट काटेर गाईवस्तुलाई खुवाउन बाध्य भएको उनले बताइन् । घोगामा दाना लाग्नुको सट्टा बोटको टुप्पा (धान चमिरा)मा मसिना दाना लागेको किसानहरुले बताएका छन् । घोगाको टुप्पामा मकैको साना–साना दाना देखिएका छन् । यस्तो प्रकृतिको मकैको घोगा पहिलो पटक देखेको उनले बताएकी छिन् ।

खेतमा लगाइएको मकैमा दान नलागेपछि बोट काटेर भैंसीलाई खुवाउन थालिएको आँपटारीकी किसान हिम्दी थापाले बताइन् । ‘घोगाको टुप्पोमा काँडा छ । दाना लाग्ने खोयो खाली भएपछि लगानी डुब्यो । महँगो बीऊ, मल र सिँचाई, गरेर लगाएको बालीमा दाना नलाग्दा सर्वस्व गुम्यो’ –थापाले भनिन्– ‘बीऊ र मलको पैसा तिर्न बाँकी छ । मकै बेचेर तिर्ने शर्तमा साहुबाट बीऊ, मल ल्याएर सात कठ्ठा जग्गामा मकै लगाएको थिएँ, अब कसरी तिर्नु ?’

प्राविधिकका अनुसार प्रतिहेक्टर नौ मेट्रिकटन मकै यो फसलमा उत्पादन हुन्छ । आठ हेक्टर जग्गामा उत्सादन हुने ७२ मेट्रिकटन मकै किसानको गुमेको छ । मकैको बोटमा फूल फुल्ने बेलामा १५ डिग्रीभन्दा कम तापक्रम भएमा मर्छ । त्यस्तो अवस्थामा परागसेचन हुन पाउँदैन । त्यसैका कारणले दाना नलाग्ने समस्या हुने भए पनि शिवसताक्षीको १० नम्बर वडामा किसानले लगाएको मकैको घोगामा दाना नलाग्नुको कारण प्राविधिकले बताउन चाहेनन् ।

असोज अन्तिम तथा कात्तिक १५ पछि लगाएको मकै बालीले फूल फुल्ने बेला १५ डिग्रीभन्दा कम चिसोको सामना गर्नुपर्ने हुन्छ । किसानहरुले असोजमा धान काटे लगत्तै मकै लगाउने गरेका छन । तर, शिवसताक्षीमा मकैको बोटमा घोगा लागे पनि दाना लगाग्नु बीऊ नै गुणस्तरहीन भएकाले मकैको घोगामा दाना नलागेको हुन सक्ने स्वयम् किसानले बताएका छन् । यद्यपि प्राविधिक भने मौन छन् । सयौं किसानले सुरुङ्गा बजारको एक एग्रो भेट्सबाट बीऊ खरिद गरेका थिए । उनीहरुको पनि समस्या आँपटारी र टेक्राको जस्तै हुन सक्ने अनुगमन टोलीमा रहेका एक प्रतिनिधिले बताएका छन् ।

एक सय घोगामा परीक्षण गर्दा १० घोगामा दाना लागेको भए पनि थोतो रहेको नगरको कृषि शाखाले जनाएको छ । सेवा क्षेत्र वडाका वडाध्यक्ष कर्णबहादुर थापा, नगरस्तरीय कृषि समितिका सदस्य उमानाथ पराजुली, चन्द्रडाँगी कृषि फर्मका अधिकृत मोनीका चौधरी, कृषिज्ञान केन्द्र झापाका अधिकृत गणेश शिवाकोटी लगायतको टोलीले मकैबालीको अनुगमन गरेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here