साढे १५ करोडको पुल अलपत्र

९ चैत्र २०७६, आईतवार मा प्रकाशित

बिर्तामोड ।

हुलाकी सडकखण्ड अन्तर्गत बाह्रदशी गाउँपालिका र झापा गाउँपालिका जोड्ने बिरीङ खोलामा पुल निर्माण शुरु भएको आठ बर्ष भइसकेको छ । तर, अहिलेसम्म पुल निर्माणको आधा पनि काम सम्पन्न भएको छैन ।

चार वर्षभित्र पुल निर्माण कार्य सम्पन्न गर्ने गरी १५ करोड ५० लाख ५८ हजार ६ सय रुपैयाँमा २०६८ असार १३ गते ठेक्का सम्झौता गरिए पनि अहिलेसम्म निर्माण कम्पनीले पुल निर्माणको काम सकेको छैन ।

पटक–पटक पुल निर्माणका लागि म्याद थप गर्दै बसेको लामा–मैनाचुली जेभीले पछिल्लो दुई महिना यता पुल निर्माणका लागि चासो देखाएको छ । तर, कोरोना भाइरसको संक्रमणको कारण देखाउँदै निर्माण कार्य अवरुद्ध हुन सक्ने आयोजनाका इञ्जिनियर बसन्त घिमिरेले बताए । उनले भने– निर्माण सामग्री ल्याउन समस्या छ, त्यस्तै समस्या छ अहिले मजदुरको । जसका कारण पुल निर्माण कार्यमा अझ ढिलाइ हुन्छ ।

पछिल्लो दुई महिनामा ३१ प्रतिशत पुल निर्माणको काम भएको इञ्जिनियर घिमिरेले बताए । यस अघि ५१ प्रतिशत काम भएको उनको दावी छ । तर, लामा – मैनाचुलीले आठ वर्षमा विरीङ खोलामा पुल निर्माणका लागि पिलर मात्रै निर्माण गरेको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले पुल निर्माणका लागि लामा–मैनाचुली जेभीलाई थप गरेको समय २०७७ असार १० गते पूरा हुँदैछ । तर, अबको एक महिनामा पुल निर्माण कार्य सम्पन्न गर्न नसकिने इञ्जिनियर घिमिरेको भनाइ छ । कोरोनाको त्रासका कारण पनि काममा ढिलाइ हुन्छ– इञ्जिनियर घिमिरेले भने– ३ सय १८ मिटर लम्वाइ रहेको पुल ९ दशमलब ८ मिटर चौडाइको छ । पुल निर्माणका लागि ८ करोड ७९ लाख लाख ४७ हजार रुपैयाँ ६ सय ७५ रुपैयाँ निकासा भइसकेको छ ।

समयमा पुल निर्माण सम्पन्न नहुँदा त्यस क्षेत्रका स्थानीयले सास्ती झेल्दै आएको स्थानीयवासी लोकबन्धु कटुवाल बताउँछन् । उनी भन्छन्– यस क्षेत्रमा सबैभन्दा बढी पीडा विद्यार्थीले झेल्दै आएका छन् । राजगढमा मात्र माध्यमिक विद्यालय रहेको र सो विद्यालयमा अध्ययनका लागि पन्थापाडाबाट समेत बिद्यार्थी आउनुपर्ने अवस्थाका कारण विद्यार्थीलाई बढी मार परेको हो ।

अहिले झापा गाउँपालिकाले पन्थापाडामा रहेको महेन्द्र आधारभूत विद्यालयलाई माध्यमिक विद्यालय बनाउन पहल गरेसँगै विद्यार्थीले यस वर्षबाट विगतका वर्ष झैं समस्या झेल्नु नपर्ने उनको भनाइ छ । सोही विद्यालयका शिक्षक समेत रहेका कटुवालले भने– म पनि बाह्रदशी गाउँपालिका–२ राजगढबाट झापा गाउँपालिका–५ को पन्थापाडामा रहेको महेन्द्र आधारभूत विद्यालय अध्यापनका लागि जाने गर्छु । वर्षा लागेसँगै खोलामा डुङ्गा भए विद्यालय जान्छु नत्र खोलाबाट फर्कने बाहेक अर्काे बिकल्प रहन्न ।

खोलामा पुल नभएकै कारण झापा गाउँपालिकास्थित पन्थापाडाका स्थानीयवासिन्दा अहिले पनि किनमेलका लागि भारतीय बजार दिघलबैंक जाने गरेका छन् ।

सम्झौता सकियो :काम सकिएन

हुलाकी राजमार्ग अन्तर्गत झापाको विरीङ र कनकाई माईमा पुल निर्माण सम्झौता सकिएको छ, तर काम सकिएको छैन । पुल निर्माणको जिम्मा पाएको कम्पनीले समयमा काम नगर्दा सम्झौता अवधि सकिए पनि काम भने नसकिएको स्थानीयले आरोप लगाएका छन् ।

ठेकेदारले समयमा काम नगर्दा पुल निर्माण कार्य अधुरै रहेको स्थानीयवासी बताउँछन् । झापाको साविक कुमरखोद र महाभारा गाविसको बीच भाग भएर बग्ने कनकाई नदीमा निर्माणाधीन पक्की पुल निर्माण सम्पन्न गर्ने म्याद गएको जेठमा नै सकिएको छ । तर, पुल निर्माण कार्य अधुरै रहेको कुमरखोदका स्थानीयवासीले बताएका छन् ।

सरकारले भारतीय दूतावासको सहयोगमा सो पुलसहित झापा र मोरङका विभिन्न स्थानमा ६ वटा पुल निर्माण गर्दै आएको बताइएको छ । पप्पु महादेव जेभी कन्ट्रक्सनले ३० करोड ४० लाख ९० हजार रुपैयाँ लागतमा निर्माण गर्ने गरी चार वर्षअघि २०६८ साल जेठ मसान्तमा सम्झौता गरी पुल निर्माणको काम शुरु गरेको थियो ।

तर, ठेकेदार कम्पनीले समयमा काम नगर्दा कनकाईमा निमार्णाधीन पुल अधुरै छ– कुमरखोदस्थित सितुमारीका छविलाल पौडेलले भने । निर्माण कम्पनीबाट पुल निर्माणको प्राविधिक पक्ष हेर्न खटिएका इञ्जिनियर रामदेव साहले पुल निर्माणको ३० प्रतिशत काम भएको दाबी गरे पनि पुलको निर्माणकार्य सम्पन्न गर्न अझैं दुई वर्ष लाग्ने बताए । पुलको लम्वाइ ७ सय २४ दशमलव ८ मिटर र चौडाइ साढे ७ मिटर रहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here