किवी खेतीबाट बार्षिक २० लाख कमाई

९ चैत्र २०७६, आईतवार मा प्रकाशित

दमक।

‘आउँछन्, हेर्छन् र सोधेर जान्छन् तर कमैले मात्र किनेर लैजान्छन्’– किवी फल बिक्रीका लागि दमकमा बसेकी पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. १ जुनु लावतीले भनिन् ।

अहिले पनि धेरैलाई किवी फल र यसको महत्वबारे थाहा नपाएर बजार राम्रो नभएको उनको अनुभव छ । मानिसको स्वास्थ्यका लागि र उत्पादन गर्ने किसानका लागि पनि फाइदाजनक मानिने आफ्नै बारीमा फलेको किवी लिएर पाँचथरबाट उनी दमक आएकी हुन् ।

अहिले किवी फल्ने सिजन नभएकाले भाउ केही पाएको उनी बताउँछिन् । विचौलियाका कारण आफुहरु आजित भएर यो बर्ष आफै बिक्री गर्न थालेको लावतीले बताइन् । २०६८ सालअघि मकै, आलु र तरकारी लगाउँदै आएकी खेतबारीमा उनले २०६८ सालपछि किवी लगाउन थालेकी हुन् । किवीले चार बर्षदेखि निरन्तर आम्दानी दिन शुरु गरेको बताउँदै उनले भनिन्– ‘पहिला बार्षिक ५० हजार पनि कमाइ हुने थिएन, तर अहिले बार्षिक १५ देखि २० लाखको आम्दानी लिन थालेका छौं ।’

शुरुवातमा काठमाडांै र पछि इलामबाट बिरुवा ल्याएर २५ रोपनीमा किवी लगाएको बताउँदै उनले पाँच सयदेखि एक हजार रुपैयाँसम्म तिरेर बिरुवा ल्याएको जानकारी दिइन् । आफूहरुले महँगो मूल्यमा बिरुवा ल्याए पनि अहिले आधा मूल्यमा नै बिरुवा उपलब्ध गराउन सक्ने भएको उनले बताइन् ।

किवी फल लहरामा फल्ने एक प्रकारको अत्यन्तै पोषिलो फल मानिन्छ । फल अण्डा आकारको खैरो रंगको मसिनो झुसले ढाकेको हुन्छ र एकपटक लगाएपछि ३० देखि ४० बर्षसम्म लगातार फल दिइरहन्छ । यसको फूल फागुन र चैत्र महिनामा फुल्ने र कात्तिक र मंसिर महिनामा फल टिप्नको लागि तयार हुने गरेको लावतीले बताइन् ।

कृषि सम्बन्धीको तालिममा सहभागी हुँदा सिँचाइको सुविधा भएको पाखो जग्गा किवीका लागि उपयुक्त हुने थाहा पाएपछि किवी खेती गर्ने सोच आएको लावतीले बताइन् । पछिल्लो समयमा इलाम र पाँचथरमा किसानहरुले ब्यावसायिक किवी खेती गर्दै आएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here