लक्ष्मी उप्रेती / झापा,

अब उप्रान्त पूर्वीकाँकरभिट्टा नाकाभएर औषधीजन्य वस्तु, हवाई इन्धन सहित ग्यास तथा अन्य पेट्रोलियम पदार्थ वाहेकका सामानको ढुवानी निषेध गरिएको छ ।
आईतबार मेची भन्सार कार्यालय काँकरभिट्टाको सभाकक्षमा प्रदेश सभा सदस्य, स्थानीय सरकार, विभिन्न राजनीतिक दल मेची भन्सार कार्यालय, स्थानीय सुरक्षा निकायका प्रमुख प्रतिनिधिबीच सम्पन्न छलफलले यस्तो निर्णय गरेको हो ।
सरकारले नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्न र फैलिन नदिन घोषणा गरेको लकडाउनका कारण काँकरभिट्टा नाका भएर अहिले पनि निर्वाधरुपमा मालवहाक सवारी साधन प्रवेश गरीरहेकाले यसबाट संक्रमण बढ्ने भन्दैं अब उप्रान्त औषधिजन्य वस्तु, हवाई इन्धन सहित ग्यास तथा अन्य पेट्रोलियम पदार्थ वाहेक अन्य सनमानको ढुवानी निषेध गरिएको मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले बताउनुभयो ।
पूर्वकै चर्चित मेची भन्सार कार्यालयको तथ्याङ्क शाखाका अनुसार लकडाउनयता पूर्वीनाका भएर अहिले सवैभन्दा बढी हरियो सागसब्जी, तरकारी तथा फलफूल आयात भएको छ । अब उप्रान्त त्यस्ता वस्तुको आयातमा समेत रोक लगाइएको प्रमुख आचार्यको भनाई छ ।
छिमेकी मित्रराष्ट्र भारतका विभिन्न ठाउँमा कोरोना भाइरस संक्रमण बढेपछि यसको जोखिम कम गर्न भारतबाट आउने मालबाहक सवारी साधनलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णयमा भएको १ नम्बर प्रदेश सभा सदस्य गोपालचन्द्र बुडाथोकीले बताउनुभयो । अहिले भारतबाट विभिन्न सामान बोकेर आउने सवारी साधनमा कार्यरत चालक परिचालकहरु कुचविहार, रायगञ्ज, भुटान, कालेम्पोङ, सिलगिुडीलगायतका स्थानबाट तरकारी र हरियो सागसब्जीसहित अन्य सामान बोकेर पटक पटक नेपाल आउने भएकाले नेपालमा कोरोना भाइरस प्रवेश गर्ने खतरा बढेको भन्दै स्थानीयको बिरोध भइरेहको थियो ।
लकडाउन शुरुपछिको समयमा काँकरभिट्टा नाका भएर ७ लाख रुपैयाँ मुल्य बराबरका फलफूलसहित झण्डै अढाई करोड रुपैयाँ मुल्य बराबरका तरकारी र फलफूल आयात भएको छ । आलु, प्याज, लसुन, टमाटरसहित हरियो तरकारी भारतबाट आयात भएको भन्सारले जनाएको छ । खाद्यन्नका लागि आवश्यक करीव २० लाख रुपैयाँ मुल्य बराबरको कोदो तथा २७ लाख रुपैयाँ मुल्य बराबरको मकै यो नाका भएर नेपाल आयात भएको छ ।
आइतबारसम्म भन्सार परिसरमा छिरेका तरकारी र हरियो सागसब्जी बोकेका मालवहाक सवारी साधनलाई प्रक्रिया पुर्याएर व्यवस्थितरुपमा गन्तव्यसम्म पठाउने त्यसपछि आउने सवारी साधनलाई आयातमा अनुमती नदिने मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज बिश्वकर्माले बताउनुभयो ।
खाना पकाउने ग्याँसका बुलेट, स्वास्थ्य सामग्री र पेट्रोलियम पदार्थका सावरी साधनलाई सिमानामा नै औषधी छर्केर निर्मुलीकरण गर्ने, त्यसका चालक र सहयोगीलाई स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग गराएर मात्र नेपाल प्रवेश गराउन व्यवस्था मिलाउने समेत बैठकले निर्णय गरेको छ ।
वैठकमा सहभागीले नेपालमा भारतीय सवारी सधान र मानिस निर्वाधरुपमा आहोर दोहोर गर्दा हुँदा कोरोनाको संक्रमण फैलिने जोखिम बढेको निष्कर्श निकालेका थिए । विश्व नै ठुलो संकटमा परेको बेला भन्सारमा सहज बनाएर नेपाली नागरिकलाई जोखिममा पार्नु नहुने
अति आवश्यक खाना पकाउने ग्यास र स्वास्थ्य सामग्रीहरु बाहेक अहिले नेपालमा कुनै अन्य बस्तु भारतबाट आयात गर्नु पर्ने परिस्थिति नभएकाले पनि त्यस्ता सवारी साधनमा पूर्ण रुपमा रोक लगाउनु पर्ने बैठकमा सहभागीहरुको भनाई थियो ।
बैठकमा प्रदेश सांसदहरु गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, मेचीनगरका प्रमुख बिमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, नेकपाका जिल्ला नेता डिल्लीराम घिमिरे, नगर नेता माधवलाल अर्याल, मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्मा, भन्सार अधिकृतहरु प्रकाश सुवेदी, रामप्रसाद भट्टराई नेपाल इन्टरमोडल यातायात विकास समिति सुख्खा बन्दरगाह काँकरभिट्टा प्रमुख अम्विका सुवेदी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल, सशस्त्र प्रहरी नायव उपरक्षिक ज्ञानमणि पौडेल, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष हर्क फियाकलगायतको सहभागिता रहेको थियो ।
चिया उद्योग पुनः बन्द
मेचीगर नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्रका चिया कमान हरुलाई मापदण्ड पुर्याएर सवै चिया कमान तथा उद्योगहरुले चिया टिपन, संकलन, प्रशोधन, उद्योग सञ्चालन गर्न गराउन अनुरोध गरे पनि पुनः केही दिनका लागि दैनिक कार्य रोक्न आदेश गरेको छ ।

आइतबार १ नम्बर प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकी, मेचीनगरका प्रमुख बिमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीलगायतकोे टाोलीले बगान सञ्चालक र उद्योगीहरुसगँ छलफल गरेर काम रोक्ने सहमति गरेको थियो ।
मेचीनगगर नगरपाालिकाले प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. १ को मिति २०७६÷१२÷१९ च.नं १०९८ को “कार्यान्वयन सम्वन्धमा” विषयको पत्रको वुदाँ नं. ३ मा चिया टिपन, संकलन, प्रशोधन, उद्योग संचालनको हकमा स्थानीय तहले मापदण्ड वनाई कार्यान्वयन र अनुगमन गर्न उल्लेख भई आएको र सो सम्वन्धमा नेपाल चिया विकास निगम लि. अन्र्तगत स्थानीयतहका चिया श्रमिक आवद्ध ट्रेड यूनियनबाट समेतको परामर्श प्राप्त गरिएकाले निम्न मापदण्ड पु¥याई सवै चिया कमान तथा उद्योगहरुले निम्न मापदण्ड पु¥याई चिया टिपन, संकलन, प्रशोधन, उद्योग संचालन गर्न गराउन हुन अनुरोध गरेको थियो ।
कमानमा काम गर्ने श्रमिकहरुलाई मास्क लगायत आवश्यक अन्य सुरक्षण सामाग्री उपलब्ध गराई वा प्रयोग गराई काममा लगाउने, चिया श्रमिकले मास्क र आवश्यक सुरक्षण सामाग्री लगाएर मात्र काम गर्ने , कमानमा पत्ति टिप्दा, पत्ति जोख्दा र उद्योग सञ्चालन गर्दा निर्धारित दुरी (२ मिटर) कायम राखी काम गर्ने गराउने , काम गर्न शुरु गर्नु अघि अगाडि २० सेकेण्ड सावुन पानीले मिची मिची हातखुट्टा अनिवार्य धुने , कामबाट फर्किए पछि २० सेकेण्ड सावुन पानीले मिची मिची हातखुट्टा अनिवार्य धुने , मजदुरलाई काममा लगाउदाँ अलग अलग क्षेत्र तोकी तोकिएको निश्चित दुरी कायम गरी काममा लगाउने, स्थानीय मजदुरलाई मात्र काममा लगाउनु पर्ने मापदण्ड प्रदेश सरकारले तोकेको थियो ।
प्रदेश सरकारको निर्देशन र स्थानीय तहको समन्वयमा सञ्चालनमा आएका चिया उद्योगहरुमा काम गर्ने मजदुर असुरक्षित हुने र त्यसबाट सबैतिर जोखिम बढ्ने तथा मापदण्ड कार्यान्वयन हुने आधार नभएका कारण पुनः चिया उद्योग बन्द गराइएकोे नगर प्रमुख विमल आचार्यले बताउनुभयो । मजदुरहरुको ठुलो भीडभाड बढ्ने र कोरोनाको जोखिम उच्च हुने भएकाल मेचीनगरका चिया उद्योग बन्द गरिएको होे । स्थानीय सरकार प्रमुख उपप्रमुख तथा प्रदेश सभा सदस्यको संयुक्त रुपमा चिया उद्योग सञ्चालकहरुलाई तत्कालका लागि उद्योग सञ्चालन बन्द गर्न अनुरोध गरे पछि चिया उद्योग बन्द भएको उपप्रमुख मीना पोखरेल उप्रेतीले बताइन् ।






























