शिवसताक्षीमा राहत कोष : ८६ वर्षीय वृद्धाले पनि दिइन १० हजार

0
913

विनोद सापकोटा / शिवसताक्षी ।


शिवसताक्षी नगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष स्थापना गरेसँगै निजी क्षेत्रलाई कोषमा जम्मा गर्न आग्रह गरेको भोलिपल्टै कोषमा नगद जम्मा शुरु भएको छ ।

राहत तथा व्यवस्थापन समन्वय समितिले कोषमा आर्थिक सहयोग गरेर स्थानीय सरकारलाई सघाउन आह्वान गरेपछि उद्योगी, व्यापारी, बैंक तथा वित्तीय संस्था, शैक्षिक संघसंस्थाले सहयोग गर्न सुरु गरेका छन् ।

विभिन्न निकायले कोष खडा गरेर सरकारलाई सहयोग गर्न थालनी गरेका छन् । कोरोना संक्रमण महामारीविरुद्ध लड्न, उपचारमा सघाउन, आवश्यकता अनुसार उपकरण तथा औषधियुक्त सामग्री खरिद र राहत वितरणमा शिवसताक्षी नगरले कोष स्थापना गरेको थियो ।

शिवसताक्षी नगरपालिका वडा नम्वर ८ झिलझिलेको छिमेकी बचत तथा ऋण सहकारी संस्थाले आईतवार ५१ हजार नगद जम्मा गरेको छ । शिवसताक्षी नगरपालिकाको कोरोना राहत व्यवस्थापन तथा समन्वय समितिका अध्यक्ष तथा नगर प्रमुख चन्द्रकुमार शेर्मालाई सो रकम प्रदान गरिएको हो ।

छिमेकी साकोसका अध्यक्ष गणेश प्रधानले नगर प्रमुखको कार्यकक्षमै पुगेर नगद ५१ हजारको चेक प्रदान गरेका हुन् । उक्त कोषमा हाल सम्म धेरै रकम जम्मा गर्ने छिमेकी बचत तथा ऋण सहकारी संस्था पहिलो हो ।

सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर सहयोग गरेको सहकारीका कार्यकारी प्रमुख नरप्रसाद ओलीले बताए । यस अघि विर्तामोड प्रधान कार्यलय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले ५० हजार नगद जम्मा गरेको थियो ।
यता शिवसताक्षी नगरपालिका वडा नम्बर १० माईधारको रेडरोज ईङ्गलिस बोर्डिङ स्कुलले कोरोना संक्रमणका कारण लकडाउनमा परेर जीवन धान्न कठिन भएका बिपन्न परिवारका लागि १० हजार नगद जम्मा गरेको छ ।

आईतवार १० नम्बर वडा कार्यपालिकाको कार्यलयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज संग्रौला र शिक्षक केशव ढकालले राहत कोष स्थापना तथा व्यवस्थापन समन्वय समितिका सदस्य समेत रहेका वडा अध्यक्ष कर्णवहादुर थापालाई उक्त नगद प्रदान गरेका हुन् ।

राहत रकम नगर स्तरीय कोषमा जम्मा हुने अध्यक्ष थापाले बताए छन् । सो कार्यक्रममा विद्यालयका संस्थापक सदस्य उमनाथ पराजुलीको पनि सहभागीता थियो । लकडाउनले विद्यालय बन्द भएर अभिभावकबाट आर्थिक संकलन नभएको बेलामा मजदुरका लागि राहत प्रदान गरिएको विद्यालयका प्रिन्सीपल दिगम पराजुलीले जानकारी दिए ।

यता शिवसताक्षी नगरकी एक ८६ वर्षीय वृद्धाले कोरोना राहत कोषमा १० हजार नगदै सहयोग गरेकी छन् । वडा नम्बर १० की मनमाया रायाले कोरोना कोषमा १० हजार रुपैयाँ नेकपाका स्थानीय युवा नेता पुष्प पौडेल मार्फत जम्मा गरेकी हुन । रायाले आइतवार दिउसो घरैमा बोलाएर रकम प्रदान गरेकी छन ।

माहामारीको रुपमा विश्वभर फैलिएको कोरोना (कोभिड १९)को संक्रमणबाट नेपालमा कुनैपनी नागरीकलाई केहि नहोस् भन्दै उनले सरकारले गरेको लकडाउनको पुर्ण पालना गर्न सबैलाई अनुरोध गरिन् ।

उनले भनिन, ‘बुहारी दुर्गाले विपत्का बेला सरकारलाई सहयोग गर्नुपर्छ भनिन् । वुहारीको कुरा सुन्दा भएजती सबै दिउ दिउ लाग्यो । तर यो वेला पोल्टामा रुपैयाँ यति नै रहेछ । उनले पोल्टाबाट १० हजार निकाल्दै भनिन् अहिले यति लैजादै गर्नुहोस् छोरा सुर्यले विदेशबाट फेरी खर्च पठाईदिएछ भने फेरी जम्मा गरौंला ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here