संक्रमितको उपचारमा संलग्‍न दार्जिलिङका चिकित्सकलाई कोरोना नभएको पुष्टि

0
963

भद्रपुर,

पश्चिम बङ्गालको दार्जिलिङ जिल्लाको सिलगुढीस्थित उत्तर बङ्गाल मेडिकल कलेज एन्ड अस्पतालको एक जना चिकित्सकमा दोस्रो पटक कोरोना भाइरसको थ्रोट स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ।

गत मङ्गलवार अस्पतालका चिकित्सक सुदिप्त मण्डललाई ज्वरो र रुघाखोकी आएर बिरामी परेका थिए। चिकित्सक मण्डल बिरामी परेपछि अस्पतालले उनलाई आइसोलेसनमा भर्ना गरेका थिए। त्यसपछि बुधवार उनको थ्रोट स्वाब परीक्षण गर्दा कोरोना भाइरस सङ्क्रमणको रिपोर्ट पोजेटिभ आएको थियो। चिकित्सक मण्डलले दार्जिलिङ जिल्लाको कालिङपुङ बस्ने कोरोना सङ्क्रमित महिला सुनितादेवी सिंहको स्वास्थ्य जाँच र उपचारमा खटिएका थिए।

तर, कोरोना संक्रमति महिला सिंहको उपचारको क्रममा मृत्यु भइसकेको छ। चिकित्सकमै कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ त्रास फैलिएको थियो। अस्पतालले शुक्रबार पुनः चिकित्सक मण्डलको थ्रोट स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमणको रिपोर्ट नेगेटिभ आएको अस्पतालका सहायक मेडिकल सुपरिटेन्डेन्ट कौशिक समाजदारले भारतीय सञ्चारमाध्यमलाई जानकारी दिए।

‘पहिलो पटक कोरोनाको नमुना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएकै हो, सहायक मेडिकल सुपरिटेन्डेन्ट समाजदारले भने, ‘दोस्रो पटकमा रिपोर्ट नेगेटिभ आयो, केही प्राविधिक त्रुटिका कारण उनको रिपोर्टमा समस्या आएको थियो। अहिले सबै ठिकै छ, आत्तिनुपर्ने अवस्था छैन।’ यता छिमेकी मुलुक भारतको दार्जिलिङमा कोरोना सङ्क्रमित महिलाको मृत्यु भएपछि पूर्वी नेपालको सीमावर्ती जिल्लामा झन् त्रास फैलिएको छ।

मृतक महिलाको परिवारका अन्य चार सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसमाथि मृतक महिला र तिनका परिवारको उपचारमा खटिएका उत्तर बङ्गाल मेडिकल कलेज एन्ड अस्पतालका एक चिकित्सकमा समेत कोरोना संक्रमण देखा परेपछि पूर्वी नेपालका सीमावर्ती जिल्ला झापा र इलामको सीमा नाकामा अहिले उच्च सतर्कता बढाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here