बिर्तामोड, सिराहको विष्णुपूरबाट प्रेमिका भेट्न झापा आएका दुई युवालाई स्थानीयवासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएर क्वरेन्टाइनमा राखेको छ ।

अर्जुनधारा नगरपालिका – ८ मा प्रेमिका भेट्न आएका सुरजकुमार राय र मनिकलाल कुमार रायलाई प्रहरीले नियन्त्रणमा लिदै अर्जुनधारा स्वास्थ्य चौकीमा तयार गरिएको क्वारेन्टाइनमा राखिएको अर्जुनधरा नगरस्वास्थ्य प्रमुख मुकुन्द बस्नेतले जानकारी दिनुभयो ।
लुकीछिपी सिराहबाट प्रेमिका भेट्न भन्दै उनीहरु झापा आएका रहेछन् नगरस्वास्थ्य प्रमुख बस्नेतले भन्नुभयो – स्थानीयले हामीलाई खवरगरेपछि प्रहरीसंगको सहकार्यमा उनीहरुलाई नियन्त्रणमा लिँदै क्वारेन्टाइनमा राखिएको छ । प्रहरीले एक जनालाई प्रेमिकाको घरबाटै र अर्का एक युवालाई छिमेकीको घरबाट नियन्त्रणमा लिएको बताइएको छ ।
लकडाउनको समयमा समेत प्रहरीलाई छक्याएर सिराहबाट रातिराति उनीहरु यहाँ आएका रहेछन् नगरस्वास्थ्य प्रमुख बस्नेतले भन्नुभयो – उनीहरुलाई नियन्त्रणमा लिएपछि सबै कुरा खुल्यो ,उनीहरुले प्रयोग गरेको एक थान मोटरसाइकल र ट्राफिक प्रहरी कार्यालय सिराहले पाँच सय रुपैयाँ जरिवाना गरेर छाडेको रसिद उनीहरुको साथबाट फेला परेकोछ ।
सिराहमा ट्राफिक प्रहरीले काटेको जरिवानाको रसिद र उनीहरुले प्रयोग गरेको एक थान मोटरसाइकल प्रहरी चौकी शनिश्चरेमा राखिएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालका अनुसार ती युवा गत चैत २९ गते झापा आएका थिए । –––





























