बिर्तामोड, दक्षिणी झापाको झापा गाउँपालिका वडा नं ४ टाघनडुव्वामा रहेका विपन्न परिवारलाई वैदेशिक रोजगारको सिलसिलामा इजरायलमा कार्यरत अर्जुनधारा नगरपालिका वडा नं ६ बिर्तामोड निवासी तारा चुडाल सेढाईंले १९ बोरा चामल प्रदान गरेकी छिन् ।

कोरोना भाइरस कोभिड–१९ को संक्रमणवाट वच्न गत चैत ११ गतेदेखि जारी लकडाउनमा टाघनडुव्वामा रहेका विपन्न, अपाङ्ग, असहाय, दैनिक ज्यालादारी गर्ने मजदुरको परिवार भोकै बस्नु नपरोस् भन्ने उद्धेश्यले १९ बोरा चामल प्रदान गरेको उनले बताइन् ।
उक्त चामल सेडाईंकी श्रीमान् दिपक सेढाईंले झापा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष राजुजङ्ग भारतीलाई हस्तान्तरण गरेका थिए ।
झापा गाउँपालिकाले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेपछि गाउँपालिका मार्फत वडा नम्बर ४ टाघनडुव्वाका विपन्न, अपाङ्ग, असहाय, दैनिक ज्यालादारी गर्ने मजदुरको परिवारलाई वितरण गरिएको वडाध्यक्ष भारतीले बताए ।

वैदेशिक रोजगारको सिलसिलामा इजरायलमा कार्यरत ताराले यसअघि पनि टाघनडुव्वाका विपन्न, अपाङ्ग, असहाय, दैनिक ज्यालादारी गर्ने मजदुरको परिवारलाई जाडोमा न्यानो कपडा प्रदान गरेको श्रीमान् दिपक सेढाईंले जानकारी दिए ।
कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण जनजीवन त्रसित वनेको र यस्तो वेलामा सामाजिक उत्तरदायित्व सम्झेर आफूले सहयोग गरेको ताराले बताइन् ।






























