झापाको बजेटमा कृषिलाई प्राथमिकता

१२ असार २०७७, शुक्रबार मा प्रकाशित

सुरेन्द्र भण्डारी

बिर्तामोड,

झापा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८का लागि सार्बजनिक गरेको बजेटमा कृषि क्षेत्रले प्राथमिकता पाएको छ ।
गाउँपालिका दृष्टिः कृषि स्वास्थ्य र पूर्वाधारमार्फत समृद्धि भन्ने मूल नारासहित बजेट सार्वजनिक गरेको हो । कोरोना भाइरसको माहामारीकाबीच सार्वजनिक गरिएको बजेटमा गाउँपालिकले कृषिलाई आधुनिकीकरण गर्दै रोजगारी प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । आठ हजार २२ घरधुरी र झण्डै ४२ हजार जनसंख्या रहेको झापा गाउँपालिकाका नागरिक प्रायः कृषिमा निर्भर छन् ।


गाउँपालिकाले आगामी आर्थिक बर्ष लागि ४२ करोड ११ लाख १३ हजार रुपैयाँको बजेट सार्वजनिक गरिरहँदा कृषिबाट आय–आर्जन गर्न सकिने खालका कार्यक्रमलाई प्राथमिकतामा राख्दै गाउँपालिकले बजेट सार्वजनिक गरेको हो । कोरोना भाइरसको बढ्दो संक्रमण र त्यसको असरले आय–आर्जनको बाटो बन्द हुँदै गएको अवस्थामा कृषि क्षेत्रको आधुनिकीकरणमार्फत कृषकलाई आत्मनिर्भर बनाउन विशेष अनुदानका कार्यक्रम सञ्चालन गर्ने भएको छ । जसबाट कृषकले आधुनिक सिप र प्रविधिको प्रयोग गर्दै कृषि क्षेत्रबाट मनग्य आम्दानी लिन सक्ने भएका छन् ।

मकै पकेट जोनका रुपमा स्थापित झापा गाउँपालिकामा उत्पादन बढाउन कृषकलाई कृषि औजार समेत हस्तान्तरण गरिने भएको छ । रसायनिक विषादिको प्रयोगलाई न्यूनीकरण गर्दै प्राङ्गारिक मल उत्पादनमा जोड दिने र भकारो सुधार जस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने गाउँपालिकाले लक्ष्य लिएको छ । माटो परीक्षण गर्दै आवश्यक पीएचका लागि कृषि चुन वितरण गर्ने र कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि गाउँपालिकले कृषकलाई वीऊ विजन तथा मलको आपूर्ति सहजताका लागि आवश्यक व्यवस्था मिलाउने भएको छ ।

वैदेशिक रोजगारबाट फर्किएका एवम् स्वदेशमा नै रोजगारीका रुपमा रहेका युवालाई कृषि तथा पशुपालन क्षेत्रमा आकर्षित गर्ने कार्यक्रम सञ्चालन गरिने भएको छ । कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि कृषकलाई तालिम तथा क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताएका छन् । गाउँपालिकाले सार्वजनिक गरेको नीति कार्यक्रममा कृषियोग्य जमिनमा पुग्न र त्यहाँ उत्पादन भएका कृषिवालीलाई बजारसम्म पु¥याउन सहजताका लागि कृषि सडक एवम् पूर्वाधारको विकास गर्दै विद्युत् विस्तार गरिने र वैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा विकासमा हातेमालो कार्यक्रमलाई अघि बढाइने भएको छ । गाउँपालिकाकी उपप्रमुख कुन्तीदेवी बुढाथोकीका अनुसार पशुपालन व्यवसायलाई प्रवद्र्धनका लागि नश्ल सुधार कार्यक्रम सञ्चालनमा ल्याइने र कृषि तथा पशु क्षेत्रका प्राविधिक जनशक्ति थप गरी सेवा प्रवाहलाई थप गुणस्तरीय बनाइने भएको छ । जसका लागि गाउँपालिकाले झण्डै एक करोड रुपैयाँ वजेट बिनियोजन गरेको छ ।

गाउँपालिकाले किसानका लागि प्लाष्टिक टनेल, कुटी काट्ने मेसिन, मकै छोडाउने मेसिन, विद्युत् विस्तार, पशु आहारका लागि घाँसको बीऊ बितरण पशुरोग नियन्त्रण जस्ता महत्वपूर्ण कार्यक्रम अघि सारेको छ । कृषि विकास साझेदार कार्यक्रमलाई समेत अघि सारेको गाउँपालिकाले माटो परीक्षण र उन्नत जातको बीऊ विजन समेत निःशुल्क बितरण गर्ने योजनाअघि बढाएको उपाध्यक्ष वुढाथोकीले बताइन् ।

गाउँपालिकाले सामाजिक रुपले पछि परेका लक्षितवर्गलाई समेट्दै जनजीविकाका सवालमा शुरु गरेका दर्जनभन्दा बढी कार्यक्रमले प्राथमिकता पाएको र कृषिसहित शिक्षा, स्वास्थ्य, पशुपन्छी लगायतका विषयगत क्षेत्रको सवलिकरणका क्षेत्रमा गाउँपालिकाले चालेका कदमले गाउँपालिकाको मुहार फेरिँदै गएको उपाध्यक्ष बुढाथोकी बताउँछिन् । अझ गाउँपालिकाको समग्र कृषि क्षेत्रको विकासका लागि प्रदेश र संघसँग साझेदारी गर्दै विशेष कार्यक्रम सञ्चालन गरिने र गरिबी निवारणमा सहयोग पुग्ने गाउँपालिकाले लक्ष्य लिएको छ ।

संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदानका कार्यक्रम चालू खर्च र कूल बजेटको दुई तिहाईभन्दा बढी हुने भएको र पूँजीगत विकास बजेट करिव एक तिहाई मात्र हुने गरेकाले बजेटको आकार ठूलो देखिएकाले आफूले चाहे अनुसारका विकास निर्माणका काम गर्न नसकिएको उपाध्यक्ष वुढाथोकीको भनाइ छ । गाउँपालिकाले आर्थिक विकासमा ६९ लाख, पूर्वाधार विकासमा १४ करोड ४६ लाख ३३ हजार, वन वातावरण विपद् तथा सरसफाईमा ५ लाख, संस्थागत विकास सेवा प्रवाह तथा सुशासनमा ३६ लाख ५० हजार, सामाजिक विकासमा दुई करोड, संघीय सर्शत अनुदानमा १९ करोड २४ लाख पुँजीगत खर्च हुने गाउँपालिकाको अनुमान छ ।

झापामा गाउस्तरीय गौरवका सात आयोजना

गाउँपालिकाले सातवटै वडामा एक÷एक वटा गौरवका योजना सञ्चालन गर्ने भएको छ । जसका लागि ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमा प्रत्येक वडामा एक÷एक वटा सडकलाई कालोपत्रे गरिने भएको छ । सात गौरवका आयोजनामा सालमारादेखि सितुमारीसम्मको सडक कालोपत्रे रहेको छ । यो वडा नम्वर १मा पर्ने सडक हो ।
त्यस्तै बालुवाटारदेखि निखिल चौकसम्म, लक्ष्मीमार्ग देखि इन्द्र खतिवडाको गाउँ हुँदै जुडोस्कूलसम्मको सडक कालोपत्रे गरिने भएको छ । यो गाउँपालिकाको दुई नम्वर वडामा पर्छ ।

वडा नम्वर ३को फूलगाछीदेखि सिमलवाडी हुँदै निखिर चौक र कामाटोली बजारसम्मको सडक कालोपत्रे हुने भएको छ । ४मा बिलास मिस्त्रीको घर पूर्व बच्चुटोल र प्रेम सुब्बाको घर उत्तर पल्टन बस्ती हुँदै हुलाकी मार्गसम्मको सडक कालोपत्रे हुने भएको छ । ५मा भने पुरानो शरणामती राम बिक्रमको घरदेखि होक्लावारीसम्म, ६मा बियर फ्याक्ट्रीदेखि किरात चौकसम्म र ७ मा फूलगाछी चौकदेखि मदरगाछ बजारको मलामी सडक र वडा कार्यालयसम्म कालोपत्रे हुने भएको छ । गाउँपालिकाले हरेक वर्ष वडाको एकएक वटा सडक कालोपत्रे गर्दै आएको छ ।

जसका कारण झापा गाउँपालिकामा अघिकांश सडक कालोपत्रे भएका छन् । अहिले गाउँपालिकाभित्र ७ किलोमिटर सडक कालोपत्रे भइसकेका छन् भने ११५ किलोमिटर सडक कालोपत्रे हुने क्रममा छन् । २१ किलोमिटर सडक कालोपत्रेका लागि डीपीआर तयार भएको छ ।

गाउँको समग्र विकासका लागि गाउँपालिकाले संघीय सरकारसँग १२ वटा र प्रदेश सरकारसँग २४ वटा योजना माग गरेको उपाध्यक्ष बुढाथोकीले बताइन् । जसमा पनि कृषिलाई नै प्राथमिकतामा राखिएको छ । सबै वडामा स्यालो ट्युवेल एक हजार थान जडान, समग्र गाउँपालिकालाई मकै र धान जोन बनाउन आवश्यक रकम माग गरिएको छ । दूग्ध चिस्यान, केन्द्र कोल्ड स्टोर र मकै ड्राई मेसिन समेत माग गरिएको छ भने पशुपालन गर्ने किसानका लागि सात ठाउँमा पकेट क्षेत्र, सानोमाईमा तीन ठाउँमा सिञ्चाइका आयोजना, गाउँपालिकाभरि विद्युत् विस्तार गर्न समेत माग गरिएको छ ।
विरीङ, कनकाई र सानो माईले हरेक वर्ष सयौं विगाह खेतीयोग्य जमिन बगरमा परिणत गर्दै वस्ती समेत विस्थापित गर्ने र जनधनको क्षति समेत गाउँपालिका वासीले व्यहोर्नु परेको भन्दै गाउँपालिकाले तीन वटा खोलामा तटवन्धनका लागि संघीय सरकारसँग बजेट माग गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका योजनाहरु यस्ता छन्

गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडा नं. १ को लसुना, मिलनवस्ती, लसुनगञ्ज, बीरसिंह गाउँ, कृषिमार्ग, पानालाल गाउँ बाटो मर्मत गरिने भएको छ ।
त्यस्तै वडा नं. २ कुवाडी, सडकवाडी, झापाबजार, श्रृजनाबस्ती, सुगाबथान, हवल्दार बस्ती बाटो मर्मत हुने भएको छ । वडा नं. ३को कामाटोली गैरीगाउँ, लालमोहर, ज्यामिरेचोक, सिमलबाडी, मखियाचोक, गणितचोक, गोपीचोक, पर्वतगाउँका बाटो मर्मत गरिने भएको छ ।
यता वडा नम्वर ४को चर्तागाछी, दोसाखी, पेच्कारनी बस्ती, खैरवारी, भाङटोली, टागनडुब्बा सडक मर्मत गरिने र वडा नं. ५को पुरानो शरणामती, राधावस्ती, पन्थापाडा, होक्लावाडी, मुस्लीमगाउँ सडक मर्मत गरिने भएको छ । वडा नं. ६को चन्द्रावस्ती, दुर्गाचोक, बालुबथान, चन्द्रकिता, नयाँवस्ती, सानो चप्रामारी, झाँटी, फुलगाछी बाटो मर्मत गर्ने र वडा नं. ७को मदरगाछ, जनमघुटी, पिपलचोक, बेलडाँगी, टप्पु, चौधरीटोल लगायत बिभिन्न ठाउँमा बाटो मर्मत गरिने गाउँपालिकाको नीति तथा कार्यक्रममा रहेकाले वजेट बिनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले जानकारी दिए ।

त्यस्तै ७ वटै वडाका बिभिन्न स्थानमा बृक्षरोपण गरिने भएको छ भने रानी बनमा पोखरी निर्माण गर्ने र पर्यटन विकासका लगि बिभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ । सवै वडाका पैनीहरु तथा बाँसे पुल, काठका पुलहरु मर्मत र स्वास्थ्य चौकीहरु मर्मत तथा अन्य कार्य, योग अस्थाई टहरा निर्माण गर्दै कन्काईको सीमानादेखि बोर्डरसम्म लक्ष्मी मार्ग मर्मत गर्नका लागि बजेट बिनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताए ।

 

असार १०मा बजेट सार्वजनिक गर्न असफल झापाका चार स्थानीय तह

झापाका सबैजसो स्थानीय तहले कृषिलाई नै प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०७७÷०७८का लागि बजेट सार्वजनिक गरेका छन् ।
आठ नगरपालिका र सात गाउँपालिका रहेको झापामा आगामी आर्थिक वर्षका लागि ११ वटा स्थानीय तहले सार्वजनिक गरेको बजेटमा कृषिलाई प्राथमिकतामा राखिएको छ । चार वटा स्थानीय तह भने असार १०मा बजेट सार्वजनिक गर्न असफल भएका छन् । एक नगरपालिका सहित तीन वटा गाउँपालिकले असार १० मा बजेट सार्वजनिक गर्न सकेनन् । असार १०मा बजेट सार्वजनिक गर्न नसक्ने स्थानीय तहहरुमा मेचीनगर नगरपालिका, बुद्धशान्ति, हल्दिवारी र गौरीगञ्ज गाउँपालिका रहेका छन् ।

हल्दिवारी गाउँपालिकामा विवादका कारण बजेट सार्वजनिक हुन सकेको छैन भने अन्य स्थानीय तहले बजेटको सिलिङ मिलाउन नसकेकै कारण समयमा बजेट सार्वजनिक गर्न नसकेका हुन् । स्थानीय तहले असार १० गते अनिवार्य वजेट सार्वजनिक गर्नुपर्ने हुन्छ तर, झापाका चार स्थानीय तहले बजेट सार्वजनिक गर्न सकेका छैनन् ।

हल्दिवारीमा अध्यक्ष  र उपाध्यक्षको जुहारी

हल्दिवारी गाउँपालिकामा सडकको नामकरणका विषयलाई लिएर अध्यक्ष रवीन्द्र लिङ्देन र उपाध्यक्ष डम्वर गिरीबीच जुहारी चलेको छ । असार १०मा गाउँपालिकामा भएको बार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने विषयलाई लिएर हात हालाहालको अवस्था भएपछि गाउँपालिकाले अझैं बजेट सार्वजनिक गर्न सकेको छैन । अध्यक्ष र उपाध्यक्ष बीचमा विवाद सृजना भएपछि उपाध्यक्षले अध्यक्ष विना नै १० गते बजेट पारित गराएका थिए ।
त्यस लगत्तै ११ गते अध्यक्षले गाउँपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै गाउँपालिकामा आयोजित बजेट बाँडफाँड तथा चारकोशे जंगलको बाटाको नामकरण गर्ने विषयमा विवाद हुँदा तोडफोड भएको थियो । सो घटनाको जिम्मा उपाध्यक्षले लिनुपर्ने अध्यक्षले बताएका थिए । पत्रकार सम्मलेनमा गिरीको नेतृत्वमा वडा नं. १का अध्यक्ष त्रिलोचन सापकोटा, ४का वडा सदस्य महेशलाल मेचे, कार्यपालिका सदस्य सागर पोर्तेलले गाउँसभा चलिरहेका बेला नीति तथा कार्यक्रम पास गर्नैपर्ने भन्दै आफू लगायत वडा नं. ४का अध्यक्ष होमप्रसाद चुडाल र ५का अध्यक्ष शेरबहादुर नेम्वाङ समेतलाई हातपात गरी अभद्र व्यवहार गरेको भन्दै नेकपाले बहुमतको आड लिएर कानून हातमा लिने काम भएको अध्यक्ष लिङ्देनको आरोप थियो ।

चलिरहेको गाउँसभामा केही सदस्यहरुले नीति तथा कार्यक्रम अध्ययन गर्न समय मागेकोले असार २९ गते बजेट प्रस्तुत गर्ने मौखिक सहमति विपरीत उपाध्यक्ष गिरीले आफ्नै अध्यक्षतामा बजेट पास गरेको निर्णय प्रमाणीकरण गरिएको भन्ने कार्य कानूनविपरीत भएको अध्यक्षको भनाइ छ । तर, त्यस लगत्तै भोलिपल्ट उपाध्यक्ष गिरीले पनि गाउँपालिकामा पत्रकार सम्मेलन गर्दै गाउँपालिकाको बहुमत सदस्यद्वारा पारित बजेट नीति तथा कार्यक्रमलाई उल्टाउन अध्यक्ष लिङ्देनलाई चुनौति दिएका छन् ।

उनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार बहुमत सदस्यद्वारा आफूले बजेट नीति तथा कार्यक्रम पारित गराएको दावी गरे । प्रदेश सरकारको नगर तथा गाउँसभा सञ्चालन सम्बन्धी कार्यविधिलाई समेत टेकेर बजेट पारित गराउने काम भएको उनले दावी गरे । ‘बजेट, नीति तथा कार्यक्रम पारित भइसक्यो’– उनले भने– ‘न्यायालय वा कुनै पनि सम्बन्धित निकायमा गएर त्यसलाई उल्टाउन म उहाँलाई चुनौति दिन्छु ।’ गिरीले अध्यक्ष लिङ्देनले बुधबार सुनियोजित ढंगले सो घटना गराएको दावी गरे । गाउँपालिकामा अध्यक्ष लिङ्देनकै कारण हुलहुज्जत र तोडफोड भएकाले गाउँपालिकामा भएको सम्पूर्ण सार्वजनिक सम्पत्तिको क्षतिको जिम्मेवारी उनैले लिनुपर्ने गिरीको दावी छ भने त्यस घटनामा संलग्नमाथि जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक मुद्दा दायर गरिसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । बुधबार गाउँसभाका क्रममा भएको सो घटनापछि अध्यक्ष लिङ्देन र उपाध्यक्ष गिरीबीचको आरोपप्रत्यारोप बढ्दै गएको छ । अहिले हल्दिवारी गााउँपालिकाको चौतर्फी टिकाटिप्पणी भइरहेको छ ।

https://purwanchaldaily.com/wp-content/uploads/2019/06/13-ashar.pdf

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here