कोरोना भएको भन्दै म्यासेज त आएको छैन? होस् गर्नुस् ठगीको जाल हुनसक्छ

२९ असार २०७७, सोमबार मा प्रकाशित

काठमाडौं,

विश्वभर कोरोना संक्रमण फैलिरहेको छ। यही मौका छोपेर ठग्‍नेदेखि झुक्याउनेसम्म यतिखेरै सक्रिय छन्। केही समयदेखि मोबाइलमा म्यासेज पठाएर मानिसलाई ठग्नेक्रम सुरु भएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

विभिन्न एप्स प्रयोग गरेर मोबाइलमा तपाईँलाई कोरोना पोजेटिभ भएकाले परीक्षण गर्नुहोला नत्र १५ हजार ५ सय ५० रुपैयाँ जरिवान गरिने छ भन्ने संदेश एसएमएसबाट पठाउने गरेको खुलेको हो।

‘हाम्रो रेकर्ड अनुसार तपाईँ कोरोना पॉजिटिभ भएको व्यक्तिसँग सम्पर्कमा आउनु भएकाले तपाईँ आफैँलाई क्वारेन्टाइन गर्न हुन र परिवारका सदस्यहरू तथा साथीहरूसँग सामाजिक दूरी कायम राख्न अनुरोध गरिएको छ। कृपया पीसीआर परीक्षणको लागि निर्धारित समय र स्थानमा उपस्थित हुनुहोला। तपाईंको उपस्थिति अनिवार्य छ अन्यथा १५ हजार ५ सय ५० रुपैयाँ जरिवाना गरिनेछ,’ भन्ने म्यासेज प्रवाह भएको पाइएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)मा यस्तो म्यासेज आएपछि उजुरी परेको छ। त्यसैका आधारमा प्रहरीले अनुसन्धान थालेको छ।’हामीलाई केही मानिसले यस्तो म्यासेज आएको भन्दै उजुरी दिन आउनुभएको थियो। त्यसपछि हामीले बुझेका थियौं,’ ब्यूरोका एसपी बेलबहादुर पाण्डेले भने।

ब्यूरोबाट अनुसन्धान गर्नेक्रममा उक्त एसएमएस सही नभई झुटो भएको खुलेको हो। यस्ता एसएमएस व्यक्तिबाट ब्यक्तिको मोबाइलमा नभएर एप्सको प्रयोग गरी पठाउने गरेको एसपी पाण्डेले बताए।

व्यूरोले यस्ता म्यासेज ठगी गर्ने र झुक्याउने अभिप्रायले पठाएको हुनसक्ने भन्दै शतर्क रहन भनेको छ। त्यस्तै, कुनै पनि अपरिचित मानिस र सस्थाहरुले व्यक्तिगत विवरण मोबाइल मार्फत् मागेमा नदिनसमेत अनुरोध गरेको छ।-पोहिलोपोष्ट डटकमबाट साभार 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here