भन्सार क्षेत्र नियन्त्रण बाहिर

0
1210

झापा ।

नेपालको पूर्बी सीमाना मेची नदीमा एशियाली विकास बैंकको एक अर्ब तीन करोड ७८ लाख भारतीय रुपैयाँको लागतमा मेची पुल निर्माणसँंगै काँकरभिट्टासम्म ‘एप्रोच रोड’ निर्माण भएको छ ।

६ लेनको पुल र सडक निर्माण भएसँंगै ‘ए क्लास’ को एशियाली राजमार्गसँग नेपालको पहुँच जोडिएको हो । मेची पुलसँगै नेपालतर्फ डेढ किलोमिटर ‘एशियन हाइवे एप्रोच रोड’ निर्माण गरिएको छ । यसअघि सीमापारि पनि ए क्लासको ‘एसियन हाइवे’ निर्माण गरिएको थिएन् ।

एशियाली मुलुकबीच सडक सञ्जाल जोडेर निर्वाध रूपमा आवतजावत तथा व्यापार गर्न पाउने अवधारणा अन्तर्गत यस्तो पहुँच विस्तार गरिएको होे । एशियन हाइवे अन्तरगत मेची नदीमा ७९० मिटर लम्बाइको पुल र सडक निर्माण भएसँंगै नेपालको पहुँच एशियन हाइवेसँंग जोडिएको हो ।

भारतको पश्चिम बंगाल र नेपाल बीचमा ६ लेनको पुल र ६ लेनकै सडक निर्माण भएपछि भारत लगायत तेस्रो मुलुकसँंग स्थल मार्ग हुँदै गरिने व्यापारका लागि सहज हुने देखिएको छ । तर, कुनै पनि मुलुकको नाका भन्सार नियन्त्रित हुनु पर्ने भएपनि पूर्बी नाका काँकरभिट्टामा विस्तार भएको ६ लेनको सडक मेची भन्सार कार्यालय काँकरभिट्टाको नियन्त्रणमा नरहेको भन्सारकै कर्मचारीले बताएका छन् ।

भन्सार ऐन २०६४ को परिच्छेद २ मा भन्सार क्षेत्र तथा कार्यालय सम्वन्धि व्यवस्थामा भन्सार क्षेत्र तथा बाटो तोक्न सक्ने (१) भन्सार सम्वन्धि कानूनको प्रयोग गर्ने तथा यस ऐन बमोजिम भन्सार महसुल संकलन गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपालको कुनै पनि क्षेत्रलाई भन्सार क्षेत्रको रुपमा तोक्न सक्ने व्यस्था गरेको छ ।

सोही व्यवस्था अनुसार मेची भन्सार कार्यालयको भन्सार परिसरमा ‘बेरियर’ हुनु पर्ने भएपनि एशियन हाइवे निर्माणका क्रममा त्यस सम्वन्धि चासो नदिँदा सडक क्षेत्र भन्सारको नियन्त्रणभन्दा बाहिर गएको छ । यस्तो अवस्थामा अबैध रुपमा चोरी पैठारी हुने, अबैध हात हतियार भित्रिने, लागू औषधको कारोवार सहज रुपमा हुन सक्ने भन्दै भन्सारका कर्मचारीले चिन्ता ब्यक्त गरेका छन् ।

भन्सारका एक उच्च अधिकारी भन्छन्– ‘ भन्सार क्षेत्रको सडक भन्सारको नियन्त्रणमा हुनु पर्छ तर एशियन हाइवे मेची भन्सारको नियन्त्रणमा छैन ।’ भन्सार क्षेत्र भन्सारको नियन्त्रणमा नहुँदा राजश्व छली तथा अन्य आपराधिक गतिविधि बढ्न सक्ने उनको भनाइ छ ।

नेपालको पूर्वी नाका काँकरभिट्टामा झण्डै डेढ किलोमिटर एशियन हाइवे निर्माण भएसँंगै धेरैले खुशीयाली मनाइ रहेका छन् । तर भन्सार क्षेत्र भन्सारको नियन्त्रण बाहिर रहँदा राजश्व छली, आपराधिक गतिविधि बढ्न सक्नेतर्फ भने कसैको ध्यान नगएको ती अधिकारीको भनाइ छ । उनी भन्छन् – भन्सार क्षेत्रलाई नियन्त्रण गर्न सक्ने गरी सडकमा दुवैतर्फ बेरियर हुनु पर्छ तर मेची भन्सार कार्यालयले अहिलेसम्म बेरियर राखेको छैन ।

यता मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत धु्रवराज विश्वकर्माले एशियन हाइवे र मेची भन्सारको संरचना नमिलेकाले समस्या उत्पन्न भएको बताएका छन् । उनले भने – यात्रु शाखा उत्तरतर्फ छ, एशियन हाइवेले उत्तरतर्फ यात्रु शाखा नराख भन्छ । दक्षिणतर्फ राख्न स्थान अभाव छ, उत्तरतर्फ अन्य ठूला संरचना भएका कारण समस्या उत्पन्न भएको छ ।
सडक ठूलो भएका कारण भन्सार क्षेत्रको नियन्त्रण बाहिर जाने भन्दै भन्सार अधिकृत विश्वकर्माले चिन्ता ब्यक्त गरेका छन् । त्यस विषयमा भन्सार विभागलाई जानकारी गराएर कर्मचारी थपका लागि माग गरिएको उनले बताए । उनले भने –एशियन हाइवे ६ लेनको छ, यसले गर्दा ट्राफिक ब्यवस्थापनमा समेत समस्या हुने देखिएको छ ।

अन्तराष्ट्रिय मापदण्ड अनुसार भन्सार कार्यालय पूर्ब कुनै पनि मानव बस्ती हुनु हुँदैन तर, मेची भन्सार कार्यालयको पूर्बतर्फ ठूलो मानव बस्ती रहेकाले भन्सार छली तथा चोरी पैठारी हुने भन्दै प्रमुख भन्सार अधिकृत विश्वकर्माले चिन्ता ब्यक्त गरे । हाल निर्माण भएको मेची पुल र पुरानो मेची पुल मुनि खुला क्षेत्र भएकाले अबैध गतिविधि हुन सक्नेतर्फ प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकहरुलाई यस विषयमा जानकारी गराई सकेको विश्वकर्माले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here