सुरुङ्गा वाणिज्य संघमा पुन.संग्रौला

११ माघ २०७०, शनिबार मा प्रकाशित

तीर्थराज खरेल
सुरुङ्गा, माघ ११ । झापा उद्योग वाणिज्य संघ शाखा सुरुङ्गाको आगामी ३ वर्षे कार्यकालका लागि पुनः युवराज संग्रौला निर्वाचित भएका छन् ।
माघ १० मा भएको निर्वाचनमा लीलाप्रसाद चिमरियालाई १६ मतको झिनो मत अन्तरले पराजित गर्दै संग्रौला दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । अघिल्लो कार्यकालका लागि १ उपसचिव र कोषाध्यक्ष पद बाहेक संग्रौलाको नेतृत्वको सम्पूर्ण कार्यसमिति सर्वसम्मत भएको थियो । शुक्रवार सम्पन्न निर्वाचनमा संग्रौलाले २ सय ९५ मत प्राप्त गरे भने चिमरियाले २ सय ७९ मत प्राप्त गरेका थिए । यसै गरी उद्योग उपाध्यक्षमा जनक कार्की ३ सय ५ मत ल्याउँदै विजयी बने भने उनका प्रतिद्वन्द्धी मिनाल तिम्सिनाले २ सय ६१ मत प्राप्त गरे । यसरी नै वाणिज्य उपाध्यक्षमा मोतिखर ओझा ३ सय २५ मत ल्याउदै विजयी बने भने उनका प्रतिष्पर्धी कृष्णप्रसाद अधिकारीले २ सय ४० मत प्राप्त गरे । सचिव पदमा सोमनाथ उप्रेतीले ४ सय २५ मत सहित विजयी भए भने उनका प्रतिद्वन्द्धी गौरीलाल श्रेष्ठले १ सय ३५ मत मात्र ल्याए । यस पटकको चुनावमा सबै पदका उम्मेद्वारहरुमा उप्रेतीले ल्याएको मत सबैभन्दा बढी हो । उद्योग उपसचिव पदमा मिलन चुडाल १ सय ९४ मत ल्याउँदै विजयी भए भने उनका अन्य प्रतिद्वन्दीमा ख्याम ओलीले १ सय ८७ र पुण्यप्रसाद ओझाले १ सय ५६ मत प्राप्त गरे । सोही पदमा उम्मेद्वारी दिएका भरतकुमार ढकालले आफ्नी आमा सिकिस्त बिरामी भएको कारणले मिडिया मार्फत आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए । उम्मेद्वारी दर्ताकै दिन वाणिज्य  उपसचिव पदमा जबिन तिम्सिना सर्वसम्मत भएका थिए । कोषाध्यक्ष पदमा डिल्लीराम पौडेल ३ सय ५१ मत ल्याउँदै विजयी बने भने उनका प्रतिद्वन्द्धी टीकाराम बरालले २ सय २ मत प्राप्त गरे । मुख्य ६ पदका लागि १३ जनाले उम्मेद्वारी दिएका थिए । कुल ६ सय ३४ मतदातामा ६ सय १० मत खसेको, मुख्य पदमा ३० मत पूर्ण बदर र ३२ मत आंशिक बदर गरी कुल ६२ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । यसै गरी ५ सदस्य पदहरुमा क्रमशः जीवन चुडाल(३३६),दिलकुमार कार्की(३१२), भीष्मराज उप्रेती(३१२), डी.पी.गौतम(२७५) र सरोज सिटौला(२६७) मत प्राप्त गर्दै निर्वाचित भएको निर्वाचन समितिका संयोजक टीकाकुमार पोखरेलले जानकारी दिए । महिला सदस्य पदमा अनिता उप्रेती(मैनाली) र खिनमाया आचार्य(खतिवडा) विजयी भए । सदस्य पदमा कुल खसेको ६ सय १० मत मध्ये ४० मत पूर्ण बदर र ११ मत आंशिक बदर भएको थियो । सदस्य पदमा उठेका अन्य उम्मेद्वारहरुमा माधव पोखरेल(२२१), मदन प्रसाईं(२१८), कमलकिशोर वंशल(१८९),तेजपाल अग्रवाल(११२१), शम्भु शाह(२०६) मत ल्याई पराजित भएका थिए । कुल ५ सदस्य पदमा ११ जना उम्मेद्वार मैदानमा थिए । महिला सदस्य पदमा निता श्रेष्ठले २५६ र पवित्रा राउतले १९२ मत ल्याई पराजित भएका थिए । २ महिला सहित अध्यक्ष, १ उपाध्यक्ष, सचिव, २ उपसचिव, कोषाध्यक्ष र ३ सदस्यमा संग्रौला नेतृत्वको प्यानलले जित हासिल गरेको थियो भने चिमरियाको स्वतन्त्र प्यानलबाट १ उपाध्यक्ष र १ सदस्यले विजय हासिल गरेका थिए । सरोजकुमार सिटौलाले दुबै प्यानलभन्दा अलग एकल स्वतन्त्र उम्मेद्वारी दिएर जित हासिल गरेका थिए । शुक्रवार बिहान ८ बजे शुरु भएको मतदान ३ बजेसम्म चलेको थियो भने साँझ ६ बजेबाट मतगणना शुरु गरी शनिवार बिहान ६ बजे मत परिणाम सार्वजनिक गरिएको थियो । नतिजा सार्वजनिक नहुञ्जेल अध्येरो र कठ्याङ्ग्रिदो चिसोमा रातभर मतगणना स्थलमा मत परिणामको प्रतिक्षामा सयौं व्यवसायी तथा जिज्ञासुहरु आगो तापेर बिहान उज्यालो हुञ्जेल मतपरिणाम घोषणाको समयसम्म बसेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here