महिला हिंसा र लैङ्गिक विभेद

0
1692

 


विगतदेखि वर्तमानसम्म नेपाली समाजको संरचना पितृसत्तात्मक अभ्यासबाट सञ्चालित छ । जसका कारण हाम्रो समाजको सामाजिक स्तरीकरण र असमानताको खाडल कहिलेसम्म साँघुरिने हो भन्न सकिने अवस्था छैन । यस्तो असमान सामाजिक स्तरीकरणलाई बुझ्न सामाजिक लिङ्गको अवधारणा बुझ्न आवश्यक हुन्छ । समाजमा महिला भएकै कारण छुट्याइएको पृथक भूमिका, सम्बन्ध, अपेक्षा र अभ्यास कै कारण हाम्रो समाजका महिलाहरु अझै पनि पुरुषको तुलनामा पछि परेको यथार्थ जग जाहेर नै छ । शिक्षा, रोजगार, स्वास्थ्य, राजनीति, सूचना आदिमा न्यून पहँुच कायम नै छ । स्वामित्व र स्वतन्त्रताको सवालमा पनि महिलाहरु पछि परेका छन् । यस प्रकारको विभेद र असमानताका अभ्यासहरु समाजमा पुस्तौँदेखि हस्तान्तरित हुँदै आएका छन् । समाजको अन्तरङ्गमा गढेर बसेको यस प्रकारको विभेदको दर, समय र संस्कृति बमोजिम भिन्नता देखिए पनि प्रत्येक समाज यसबाट मुक्त भने छैनन् ।

पितृसत्तात्मक सोचको उपज उत्पन्न भएका पृथक प्रकृतिका लैङ्गिक असमानता र विभेदले पुरुषको पहिचान सक्रिय, विवेकी र आत्मनिर्भर हुन्छ भन्ने र महिलाको पहिचान निष्क्रिय, भावनात्मक र परनिर्भर हुन्छ भन्ने सामाजिक मान्यताको विकास गरेको छ । हाम्रो समाजले महिला र पुरुष हुनुसँग सम्बन्धित गरेर केही मान्यता, संस्कार, व्यवहार, धर्म आदिका आधारमा लैङ्गिक भूमिका निर्धारण गरेको छ । जसको जरो नेपाली समाजमा यतिसम्म गहिरिएको छ कि महिलाले गरेका काम पुरुषले गर्दा लज्जाबोध हुने अवस्था रहेको छ । वरिष्ठ समाजशास्त्री फ्रैन्क मंगिलले यस प्रकारको असमानता र विभेद महिला र पुरुषको लिङ्गको जैविकीय आधारले भन्दा समाजको सामाजिक सांस्कृतिक पृष्ठभूमि र मान्यताले बढाएको ठानेका छन् ।

लैङ्गिक असमानतालाई थप ब्याख्या गर्न विभिन्न महिलावादी सिद्धान्तहरुलाई हेर्नुपर्ने हुन्छ । आमूल महिलावादीहरुले सबै प्रकारका लैङ्गिक विभेदका कारण पितृसत्ता र आधुनिक पुँजीवाद भएको मान्दछन् । त्यस्तै उदार महिलावादीहरु भने समान कानून, अवसर र अधिकार उपलब्ध नहुनुले लैङ्गिक विभेद सिर्जना भएको ठान्दछन् । पछिल्लो समयमा जात, धर्म, प्रजातीय आधारमा हुने लैङ्गिक विभेदलाई महिलावादीको तेस्रो धारले पक्षपोषण गर्दछ । माथिका सबै महिलावादीहरुको समग्र विचारमा लैङ्गिक विभेदको क्षेत्र र स्वरुपलाई देहायका दृष्टिकोणका आधारमा हेरेका छन् ।

श्रम विभाजन : श्रम विभाजनका दृष्टिकोणबाट महिला र पुरुषको अवस्थालाई बुझ्न सामाजिक सांस्कृतिक भूमिका र अवस्थालाई नजिकबाट हेर्नुपर्ने हुन्छ । प्रत्येक समाजमा रहेका सामाजिक, सांस्कृतिक मान्यता, परम्परा तथा विश्वासका आधारमा महिला र पुरुषको भूमिका निर्धारण गरेको छ भने समाजको उत्पादन संरचनाले पनि यस प्रकारको विभेदलाई सहयोग गरेको छ । हाम्रो समाजको बनोट बमोजिम ज्याला, मजदुरी, रोजगार, व्यापार, सेवा तथा अन्य उत्पादनका क्षेत्रमा अधिकांश पुरुषको वर्चस्व र संलग्नता रहनुले यस प्रकारको असमानतालाई भरपुर टेवा पुगेको छ । यसको विपरीत प्रजनन् र बालबच्चाको स्याहार सुसार गर्नु तथा घरभित्रका भान्छाका काममा महिलालाई बढि जिम्मेवार बनाइनु पनि लैङ्गिक विभेदलाई बढावा दिनु हो । समुदायमा हुने व्यवस्थापकीय र राजनीतिक भूमिकाहरुमा विकास निर्माणका कार्य, मठ मन्दिर, गुठी, सामाजिक तथा राजनीतिक संघ, संगठन, सामाजिक इज्जत, प्रतिष्ठा प्राप्त गर्ने स्थानमा महिलाको भूमिकालाई खुम्च्याइनुले लैङ्गिक असमानतालाई पक्कै पनि बल पु¥याएको देखिन्छ ।

पैतृक सम्पत्ति : कतिपय विकसित मुलुकहरुमा महिलाहरु उत्पादन कार्यमा प्रत्यक्ष संलग्न भई आयआर्जन गर्न सक्ने भएका कारण आफ्नो कमाईको परिचालन र उपभोग गर्न सक्षम छन् । जसले गर्दा उनिहरुलाई सम्पत्तिमा महिलाको अधिकारलाई सुनिश्चित गरेको हुन्छ । तर, हाम्रो समाज महिलाहरुलाई आयआर्जन र स्वावलम्बन कार्यमा पहुँच अत्यन्त कम रहेको अवस्था छ । फलस्वरुप उनीहरुको सम्पत्ति परिचालन र उपभोगमा कुनै अधिकार रहेको छैन ।

उत्तरअधिकारीको नियम : पितृसत्तात्मक सामाजिक ढाँचाको कारणले वंश हस्तान्तरण पुरुषमा हुने परम्परा, पुरुषको थर गोत्र महिला तथा जन्मिएका बालबच्चाले ग्रहण गर्नुपर्ने जस्ता प्रथाले गर्दा समाजमा महिलाको भन्दा पुरुषको हैसियत, क्षमता, वंश र अधिकारको सुनिश्चितता बढेको हुन्छ । फलस्वरुप बाबुको पैतृक सम्पत्तिमा छोराको बढी हक लाग्ने अवस्थाले महिलाहरुमा विभेदको मात्रा अझ बढेको छ । पुरुष प्रदत्त उत्तराधिकारीको प्रणालीका कारण समाजमा महिलाको हैसियत र भूमिका कमजोर हुँदै गएको छ भने केही महिलावादीहरुले यस विभेदविरुद्ध आवाज उठाए पनि पुराना समाजिक र कानूनी मान्यता प्रतिस्थापन भई नसकेको अवस्थाले गर्दा अझ पनि आम महिलाको शिक्षा र आत्मविश्वासमा प्रगति हुन सकेको छैन ।

यसरी महिलाको अवस्था पुरुषको तुलनामा कमजोर देखिएको तथ्य उनीहरुको शिक्षा, स्वास्थ्य, रोजगार, राजनीति तथा आर्थिक स्वामित्वमा रहेको असमान पहुँचले प्रष्ट पारेको छ । विश्वव्यापीरुपमा नै यस प्रकारको विभेद अविकशित र विकासशील मुलुकहरुमा व्याप्त रहेको छ । महिला र पुरुष बिचको लैङ्गिक असमानता र विभेद कायम नै रहेको अवस्थामा महिला महिलाभित्रको परस्परको असमानता पनि अर्को ठूलो समस्या रहेको छ । उपल्लो र तल्लो जातको महिला, उच्च र निम्न वर्गका महिलाहरुको शिक्षा, स्वास्थ्य र रोजगारीमा देखिएको भिन्नता र विभेदले पनि लैङ्गिक असमानतालाई प्रगाढ पारेको छ ।

यसलाई कम गरी लैङ्गिक सामाजिकीकरण कायम गर्न राज्यले आरक्षण तथा अन्य सेवासुविधाको व्यवस्था गरेको छ, तर अझै पर्याप्त भने भएको छैन । राज्यबाट प्राप्त सेवासुविधालाई पनि समाजका टाठाबाठा वर्ग र समुदायका महिलाले मात्र प्रयोग गर्दा यस विषयमा राज्य र नागरिक दुबै पक्षको जागरुक प्रयासको खाँचो बढेको देखिन्छ । सामाजिक र सांस्कृतिक विभेद र असमानताको जरैदेखि अन्त्य गर्न अबको पुस्ताले केही समय खर्चन पर्ने प्रायः निश्ति छ । अन्यथा आउने पुस्तामा पनि बुहारीमाथि गरिने विभेदकारी व्यवहार र भ्रुण हत्याको क्रुर अपराधबाट अछुतो रहने छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here