‘समृद्धि र समुन्नतिको लक्ष्य हासिल’

0
596

विराटनगर,

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश सरकार समृद्धि र समुन्नतिको लक्ष्य हासिल गर्नेतर्फ अघि बढिरहेको बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित प्रदेश सरकार स्थापनाको तेस्रो वार्षिकोत्सव समारोह उद्घाटन गर्दै उहाँले राष्ट्रिय हित, लोकतान्त्रिक गणतन्त्रको स्थापना र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटकपटक गरेको ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासको स्मरण गर्नुभयो ।

उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निम्ति सामन्ती, निरङ्कुशतन्त्रको विरुद्ध आफूलाई समाहित गर्ने, जीवन उत्सर्ग गर्ने महान शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै बेपत्ता तथा पीडित परिवारप्रति हार्दिक सम्मान व्यक्त गर्नुभयो ।

“उहाँले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राखी प्रदेश सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय अभियान सफल बनाउन गम्भीरताका साथ कार्य गरिरहेको अनुभूति भएको छ”, उहाँले भन्नुभयो ।

प्रदेश प्रमुख ‘प्यासी’ले कोभिड–१९ को प्रतिकूल परिस्थितिका बाबजुद पनि उत्साहजनक प्रगति हासिल गर्न र जनमानसमा भविष्यप्रति आशाको भाव सिर्जना गर्न प्रदेश सरकार सफल भएको भन्दै सरकार ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ को प्रादेशिक लक्ष्य निर्धारण गरी अघि बढिरहेको बताउनुभयो ।

उहाँले प्रदेश विकासको अभियानमा ‘हामी साथ साथ छौँ’ भन्ने नवीन संस्कारलाई प्रेरित गरेको उल्लेख गर्दै सङ्घ र स्थानीय तहबीच कडीका रुपमा रहेको प्रदेशको भूमिकालाई स्थापित र पक्षपोषण भइरहेको बताउनुभयो ।

उहाँले सरकारले कूल ११३ कानूनी दस्तावेज तयार गरिएको जानकारी दिँदै रु २५ करोडको कोरोना जनसुरक्षा कोष स्थापना भएकामा खुशी व्यक्त गर्नुभयो । सरकारले प्रदेश लगानी प्राधिकरण, गरीबसँग खाद्यान्न कार्यक्रम, भगत सर्वजित कार्यक्रम, लघु उद्यम कार्यक्रम, सीप विकास तालीम, प्रविधि हस्तान्तरण कार्यक्रम, मकै उत्पादकत्व सुधार विशेष कार्यक्रम, मकैखेती विस्तार कार्यक्रम, चैतेधान विशेष सहयोग कार्यक्रम, प्रदेश प्रमुख ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रम, स्वस्थ जीवन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै प्रमुख ‘प्यासी’ले ढाका र अल्लो जोन स्थापना गरिएको जानकारी गराउनुभयो ।

उहाँले प्रदेशमा ८७ किमी पर्यटकीय पदमार्ग निर्माण, १४ वटा पर्यटन भ्यू–टावर र १५० पर्यटकीय पार्क निर्माण भएको जनाउँदै इलामको कन्याममा चिया परीक्षण, अनुसन्धान तथा प्रवद्र्धन केन्द्र स्थापना हुनु, प्रादेशिक सञ्चार प्रतिष्ठान गठन, हाम्रो गौरव हाम्रै शान, सगरमाथा र केचनाले प्रदेशकै राख्छ उच्च मान तथा प्रदेशको शान, सबैको अनुहारमा मुस्कानको नारा नीति तथा कार्यक्रममा समावेश गरी सोही अनुसारको क्रियाकलाप गर्नु सरकारको कार्यकौशलतालाई प्रष्ट पारेको बताउनुभयो ।

उहाँले दिगो शान्ति, सुशासन, विकास र समृद्ध प्रदेश निर्माण गर्ने कार्यमा प्रदेश सरकार लागि रहने कुरामा आफू विश्वस्त रहेको चर्चा गर्दै देशमा राजनीतिक स्थिरता, दिगो शान्ति स्थापना, सुशासन, वित्तीय अनुशासन, मितव्ययिता, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता कायम गरी राष्ट्रको दिगो विकास गर्न सकेमा मात्र जनताका मनोकांक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश प्रमुख ‘प्यासी’ले प्रदेश सरकारको तेस्रो वार्षिकोत्सको सुखद अवसरमा सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीमा सुस्वाथ्य, दीर्घायु, उन्नति, उत्तरोत्तर प्रगति र सफलताको हार्दिक शुभकामना पनि व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here