अर्जुनधारा ।

गत फागुन २२ गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित झापाको अर्जुनधारा–३स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको नयाँ कार्यसमितिले आइतबारदेखि कार्यभार सम्हालेका छन् ।
निर्वाचन समितिका संयोजक वेदप्रकाश भण्डारीको अध्यक्षता र वडाध्यक्ष जीवकुमार भण्डारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई संयोजक भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

त्यसैगरी निर्वाचित भएको प्रमाण पत्र समेत प्रदान गरिएको उनीहरुलाई एक–एक थान डायरी र डटपेनसहित अविर लगाएर स्वागत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नव निर्वाचित अध्यक्ष खड्काले समूहको विधान र कार्ययोजना अनुसार सबैको हित हुने किसिमको कार्यहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष भण्डारी, नेपाली काँग्रेसका प्रतिनिधि टंक निरौला, राष्ट्रिय जनमुक्ति पार्टीकी प्रतिनिधि मीना पन्धाक, समूहका निवर्तमान अध्यक्ष दिव्यप्रसाद कट्टेललगायतले आफ्नो सुझाव सहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन समितिका सदस्य रामकुमार महतले गरेका थिए ।






























