गोइत समूहका ‘सेकेन्ड म्यान’ यादवको आत्मसमर्पण लगत्तै विस्फोट, घटनास्थलमा गोइत समूहको पर्चा

0
1049

जनकपुरधाम,

सिरहास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ। विस्फोटमा परि मालपोत कार्यालयका कर्मचारीदेखि सेवाग्राहीसम्म घाइते भएका छन्। आइतवार दिउँसो बम विस्फोट भएको हो।

प्रहरीले विस्फोट नजिकैबाट जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चासमेत फेला पारेको छ। पर्चा भेटिएसँगै प्रहरीको अनुसन्धान गोइत समूहतिर केन्द्रित भएको छ। भूमिगत समूह गोहितले किन आक्रमण गर्‍यो भन्ने खुलेको छैन।

आज बिहानमात्र गोइत समूहका नेता रामविलाश यादवले आत्मसमर्पण गरेका थिए। यादव गोइत समूहका ‘सेकेन्ड म्यान’ समेत रहेका थिए। यादवले साढे १० बजे जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाउँदै आत्मसमर्पण गरेका थिए।

यादवको आत्मसमर्पणलाई लिएर नै समूहका असन्तुष्ट पक्षले विस्फोट गराएको हुनसक्ने प्रहरीको आशंका गरेको छ। ‘यादवको आत्मसमर्पण लगत्तै विस्फोट र सो समूहको पर्चा भेटिनुले घटना त्यतैतिर आशंका गर्न सकिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

विस्फोटमा कार्यालयका नासु सहित सात जना घाइते भएका छन्। घाइतेमध्ये ३० वर्षीय दिनेश कुमार भण्डारीको अवस्था भने गम्भीर रहेको छ। उनलाई थप उपचारको लागि काठमाडौंबाट हेलिकप्टर मगाएर काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सुदीप राजभण्डारीले जानकारी दिए।

घाइते हुनेहरुमा कार्यालयका नायब सुब्बा शिव कुमार यादव, सेवाग्राही धनगढीमाइ नगरपालिका १३ का भोला बहादुर पाछे मगर,सोही नगरपालिका ४ का दिनेश कुमार भण्डारी, गोलबजार नगरपालिका ४ कि फुल कुमारी ठाकुर,सोही नगरपालिका ६ कि बेचनी मगर, लक्षमि नारायण मगर, लहान नगरपालिका १६ तरेगना का लाल बहादुर बिक र भगवानपुर ३ आव्हेनगर बद्री नारायण यादव रहेका छन्। बाँकी घाइतेको अवस्था भने सामान्य रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here