वैदेशिक राेजगारीबाट फर्केर ८५ बिघा जग्गामा केरा खेती

0
1546

मोरङ,

मोरङका युवा व्यावसायिक केराखेतीमा जुटेका छन् । विदेशमा १० नङ्ग्रा खियाउनका सट्टामा स्वदेशी माटोमै काम गर्ने उद्देश्यले व्यावसायिक केराखेती लगाउन अभियान सञ्चालन गरेका छन् ।

वैदेशिक रोजगारीका लागि कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत तथा मलेसियालगायतका देशमा पुगेका मोरङका १० युवाले कानेपोखरी गाउँपालिका–१ होक्लाबारीमा ८५ बिघा जग्गामा मालभोग जातको केराखेती लगाएका छन् ।

केरा खेतीबाट वार्षिकरुपमा प्रतिबिघा तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्यका साथ कार्य गरिरहेको सोम केराखेती कृषि फार्मका धनी सोमनाथ चापगाईंले जानकारी दिनुभयो । वैदेशिक रोजगारीमा तीन वर्षदेखि पाँच वर्षसम्म काम गरी स्वदेश फर्केका यी युवा व्यावसायिक केराखेती गरेर केही गर्ने सोचमा देखिएका छन् । तातो घाममा काम गर्नुभन्दा स्वदेशकै अनुकूल हावापानी र वातावरण काम गर्नु नै उचित ठानेका यी युवा कृषि क्षेत्रमा लागेका हुन् ।

परनिर्भरता हटाउने, व्यापार घाटा कम गराउने र स्थानीयस्तरमा रोजगार पनि सिर्जना गर्न सकिने भएकाले यसमा यी युवा आकर्षित भएका हुन् । अनेक सम्भावना रहेको हाम्रो देशमा जाँगर नभएपछि विदेशिने गरेको र विदेशमा दुःख पाएपछि स्वदेशमै केही गर्न हिम्मत गर्नु सकारात्मक पक्ष रहेको कृषि निर्देशनालय विराटनगरका प्रमुख प्रकाश डाँगीले बताउनुभयो । उहाँले भन्नुभयो “यो पेशामा शिक्षित युवाको सहभागीता निकै सुखद पक्ष हो । यसले गर्दा देशमा आवश्यकता पर्ने वस्तुहरुको अभाव टर्छ ।”

‘समृद्ध नेपाल, सुखी नेपाली’ सरकारको घोषणालाई अब युवाकै काँधमा रहेको टिप्पणी गर्दै प्रमुख डाँगी भन्नुहुन्छ, “पछिल्लो समयमा कृषिमा युवाको आकर्षण बढ्नु राम्रो हो ।” केरा खेतीबाट केही नभए पनि वार्षिक प्रतिबिघा तीन लाख रुपैयाँ आम्दानी गर्न सकिने युवा कृषक सोमनाथ चापागाईंले जानकारी दिनुभयो ।

सुन्दर हरैँचा नगरपालिका निवासी उहाँ मोरङकै कानेपाखरीमा वार्षिक ५० हजार रुपैयाँ तिर्ने गरी लगाइएको केराखेतीमा ३० जना युवाले रोजगारी पाएका छन् । केरामा सबैको सजिलै पहुँच छ, तर उत्पादनमा कमजोर रहेको हाम्रो देशमा केरा खासगरी भारतबाट आयात हुने गरेको छ ।

पछिल्लो समयमा केरा खाने उपभोक्ता बढेपछि यसको आपूर्तिमा मोरङ ,कैलाली, नवलपरासी र सुनसरी जिल्ला अघि सरेको छ । मोरङको होक्लाबारीमा लालुमाया कृषि फार्म, प्रगति कृषि फार्म, सोम केराखेती कृषि फार्म, अम्बरमणि कृषि फार्ममार्फत व्यावसायिक केराखेती शुरु भएको छ ।

सोम केराखेती कृषि फार्मका धनी चापागाईंले केराको बिरुवा प्रदेश नं २ को निजगढबाट ल्याएका हुन् । बिरुवा र रोप्नेसमेत गरी एक बोटमा ४२ रुपैयाँ खर्च भएको छ । केरा रोपेको १८ महीनापछि उत्पादन दिन थाल्छ । एक बोटमा १२ दर्जनसम्म केरा फल्छ, बजारमा मालभोग केराको माग पनि रहेकाले बिक्री गर्न कुनै समस्या नभएको कृषक चापागाईंको भनाइ छ ।

रोग नलागेका अवस्थामा एकपटक रोपेको बिरुबाले १२ वर्षसम्म उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । केराको घारी काटिसकेपछि सोही स्थानमा पुनः केराको बोट उम्रिन्छ । यो नै केराखेतीको मूल विशेषता भएको कृषक चापागाईंको भनाइ छ । केरा गर्मी हावापानीमा हुने बाली भए पनि बढी आद्रतादेखि लिएर धेरै कम आद्रता भएको हावापानीमा पनि यसको खेती गरेको भेटिन्छ ।

कम तापक्रममा केराखेती फस्टाउँदैन । यसका लागि गर्मी चाहिन्छ । यसका लागि औषत तापक्रम २६ दशमलव सात डिग्री सेल्सियस तापक्रम र प्रतिमहीना १० मिली सिँचाइको आवश्यकतापर्ने पानी जम्ने ठाउँमा केराखेती हुँदैन कृषि प्राविधिक बताउँछन् ।

नेपालमा मालभोग, विलियम हाइब्रिड, चिनियाँ चम्पा, हरिछाल, रोवस्टा र डवार्फ क्याविन्डिज जातको खेती गरिँदै आएको पाइन्छ । नेपालमा हरियो केराको तुलनामा पहेंलो केराको बढी मूल्य पाइँने हुँदा पहेंलो केरामा मालभोग केरा नै कृषकले बढी रुचाएका छन् । कहीँ कुनै कारणले बाली नोक्सान भएमा बीमा कम्पनीले क्षति पनि व्यहोर्ने भएकाले जोखिम छ ।

अर्का व्यवसायी हरिनारायण श्रेष्ठले राम्रो आम्दानी हुने यो खेती गर्दा बीमा पनि गरेको बताउनुभयो । उहाँले केरा खेतीका लागि तीनदेखि पाँच लाख रुपैयाँसम्मको जोखिम व्यहोर्ने गरी प्रतिबिघा पाँच हजार २०० रुपैयाँ बीमा रकम भुक्तानी गरेको जानकारी दिनुभयो । उहाँले केराखेतीमा आवश्यक पर्ने मल नेपालमा उपलब्ध नहुने भएकाले भारतबाट मगाउने गरेको बताउनुभयो । यस खेतीका लागि आवश्यकपर्ने युरिया, डिएपी, स्ल्फेट, पोटास, क्याल्सियम, बोरेक्स र बोमप्लावर चाहेका बेलामा नेपालमा नपाउने भएकाले भारतबाट मगाउने गरेको उहाँको भनाइ छ ।

यसैगरी केरामा लाग्ने गवारो रोगबाट जोगाउनका लागि सुपर डि कीटनाषक औषधि प्रयोग गर्ने गरिएको छ । रोग र किराबाट जोगाउन निकै चनाखो भएर गर्नुपर्ने यो खेतीमा लाग्नेले पछुताउनुपर्ने समस्या नरहेको कृषक चापागाईंको भनाइ छ ।

सरकारले कृषिमा व्यवसायिकरण भनिए पनि हालसम्म सङ्घीय तथा प्रदेश सरकारबाट कुनै सहयोग नपाएको उहाँहरुको गुनासो छ । उत्पादित केराको बजारको कुनै समस्या नरहेको बताइएको छ । केराको मुख्य बजार भनेको काठमाण्डाैको बल्खु रहेको छ भने अन्यमा पोखराज, दाङ, विराटनगर, धरान, काँकरभिट्टा छन् । उहाँका अनुसार बजारमा केराको कोसाअनुसार तीनदेखि पाँच रुपैयाँसम्ममा कमिशनका आधारमा थोक बिक्रेतालाई आफ्नो उपस्थितिमा बिक्री गर्ने गरेको जानकारी दिनुभयो ।

केराको बोटपिच्छै मललगायत औषधि छर्किनुपर्ने र समयसमयमा झारपातका गोडमेल आवश्यक रहेको छ । यसको राम्रो उत्पादनका लागि कात्तिकदेखि चैतसम्म १० देखि १२ पटक माटोको अवस्था हेरी सिँचाइ उपलब्ध गराउन बोरिङको व्यवस्था गरिएको अर्का व्यवसायी मणिराज तामाङले बताउनुभयो ।

उहाँका अनुसार खेती लगाएको स्थानमा आवश्यकतानुसार निःशुल्क पाकेको केरा उपलब्ध गराउने हुनाले चोरी हुने अवस्था नगण्य रहेको विचार व्यक्त गर्नुभयो । रोजगारी प्राप्त गरेका स्थानीय युवा नारायणबहादुर भण्डारीले बगानका कारण ग्रामीण क्षेत्रमा आर्थिकरुपमा केही वृद्धि भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले विगतमा वैदेशिक रोजगारीका लागि अरब गए पनि स्वदेशमै रोजगारी उपलब्ध हुँदा परिवारसँग बस्न पाउँदा खुशी लागेको बताउनुभयो । भण्डारीले केराखेती सम्बन्धमा अनुभव हासिल गरी भविष्यमा यसको खेती गर्ने सोच रहेको धारणा व्यक्त गर्नुभयो ।

राम्रो सिँचाइको व्यवस्था भएको ठाउँमा जाडो महीनाबाहेक जुनसुकै समयमा पनि केरा रोप्न सकिन्छ । मलहरु केरा पसाउनुअघि दिनुपर्दछ । अग्ला केराको बोटलाई बाँस र अन्य काठबाट टेका दिएर बोट ढल्नबाट जोगाउनुपर्छ । केरा पकाउन सकिने फल भएकाले उच्च आम्दानीका लागि बजार मूल्य बुझेर ढिलो वा चाँडो बालीबाट नाफा लिन सकिन्छ ।

स्वास्थ्यको दृष्टिकोणले केरा उपयोगी फल हुनुका साथै यसमा भिटामिन ‘ए’, ‘वी’ र ‘सी’ जस्तो आवश्यक पोषिसो भिटामीन पर्दाथ पाइन्छ । दुब्लो पातलो मानिसले दुग्धमा खेरा खानाले छिट्टै तौल बढ्ने र हृष्टपुष्ट देखिने डा आबिद हुसेनले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here