सूचना प्रविधिको दुरुपयोग रोकिनुपर्छ : विज्ञ

२ चैत्र २०७७, सोमबार मा प्रकाशित

काठमाडौँ, 

सूचना प्रविधिको पहुँच व्यापक भए पनि प्रविधिको दुरुपयोग बढेको भन्दै यसको प्रभावकारी नियमन गरिनुपर्ने आवश्यकता यस क्षेत्रका विज्ञले औँल्याएका छन् । आधुनिक युगमा प्रविधिको उच्चतम विकास र विस्तारले शहरदेखि दूरदराजमा प्रविधिको पहुँच बढेकाले प्रविधिको सहीरूपमा सदुपयोग भएको छ की छैन भनेर प्रभावकारी अनुगमन र नियमन हुनुपर्ने उहाँहरुको जोड छ ।

कम्प्युटर एशोसिएशन अफ नेपाल महासङ्घ (क्यान महासङ्घले) आइतबार आयोजना गरेको ‘मिडियामा सूचना प्रविधिको प्रयोग’ विषयक अन्तक्र्रियामा वरिष्ठ पत्रकार प्रतीक प्रधानले सूचना प्रविधिको पहुँच र प्रयोग बढ्दो रहनु सकारात्मक भए पनि यसबाट सिर्जना भएका कतिपय नकारात्मक गतिविधिलाई नियन्त्रण गरी प्रविधिको सही सदुपयोगका लागि ध्यान दिन जरुरी भएको बताउनुभयो ।

“सूचना प्रविधिको पहुँच र प्रयोग तीव्ररूपमा बढेको छ । समाचार पत्र र सञ्चारगृह आफैँमा द्विविधामा छन् कुन विषयवस्तु कसरी दिने भनेर । सूचना सम्प्रेषणमा प्रविधिले राम्रो कुरा ल्याएको छ, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता स्थापित गर्न पनि धेरैहदसम्म भूमिका खेलेको छ, प्रविधिसँगै आएका खराब पक्षलाई मिडिया, पाठक र समाजले पनि प्राथमिकता निर्धारण गर्न अपरिहार्य छ”, उहाँले भन्नुभयो । पत्रकार प्रधानले पत्रकारले सूचना, मनोरञ्जन र अत्याचारलाई छुट्टयाएर पत्रकारितालाई जिम्मेवार बनाउन जरुरी भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सूचना प्रविधिको नियमन गर्ने फरकफरक निकाय भएकाले इन्टरनेट नियमन गर्न समस्या आएको बताउनुभयो । उहाँले मिडियामा समावेश हुने विषयवस्तुलाई पनि जवाफदेही र जिम्मेवारी बनाउन अधिकार पाएको खण्डमा नियमन गर्न प्राधिकरण तयार रहेको बताउनुभयो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले इन्टरनेट नियमन गर्ने कि इन्टरनेटभित्रका विषयवस्तु प्रशोधन गर्ने भन्ने द्विविधा बढेको भन्दै सूचना प्रविधि क्षेत्रलाई सहज ढङ्गले अघि बढाइनुपर्नेमा जोड दिनुभयो । उहाँले कनेक्टिभिटी सहज हुँदाहुँदै पनि दुरुपयोग बढेको र यसबाट अपराध, आत्महत्याजस्ता गतिविधि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले जसरी कनेक्टिभिटीलाई लैजाँदैछौँ यसको कन्टेन्ट पनि निर्धारण र प्राथमिकीकरण गर्न जरुरी छ । देशका कुना गाउँसम्म प्रविधिको पहुँच पुगे पनि यसको सदुपयोग भएको छ कि छैन भनेर प्रभावकारी अनुगमन गर्न जरुरी छ ।”

६५५ स्थानीय तहमा फोरजी सेवा

नेपाल टेलिकमले चौथो पुस्ताको द्रुत गतिको इन्टरनेट ‘फोरजी’ सेवा देशका ६५५ स्थानीय तहमा पुगिसकेको जनाएको छ । राज्य र व्यक्तिको सुरक्षासँग पनि कनेक्टिभिटी जोडिएकाले यसको सहज र सही प्रयोगका लागि जनमानसमा सचेतना फैलाउन जरुरी भएको प्रबन्ध निर्देशक अधिकारीले उहाँले उल्लेख गर्नुभयो ।

क्यान महासङ्का अध्यक्ष नवराज कुँवरले सरकारले अघि सारेको डिजिटल नेपाल फ्रेमवर्कलाई सूचना प्रविधिको ‘गेमचेन्जर’ मानेर सूचना प्रविधिको पूर्वाधार विकास तथा प्रभावकारी कार्यान्वयनतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here